• १४ वैशाख २०८१, शुक्रबार

कलात्मक वस्तुहरू फिर्ता

blog

काठमाडौँ, साउन ३० गते । काठमाडौँ महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिरको पर्खालबाट सन् १९९५ मा हराएको शिवको मूर्ति फिर्ता ल्याइएको छ। दुई साधुका बीचमा उभिएको शिवको वर्गाकार आकारमा रहेको प्रस्तर मूर्ति ११औँ शताब्दीको मानिन्छ। त्यस्तै १४औँ शताब्दीतिरको मानिएको काठको कलात्मक सालभञ्जिका टुँडालसमेत फिर्ता भएको छ। सो टुँडाल काठमाडौँ महानगरपालिका–२४ स्थित इटुम्बहाल महाविहारबाट सन् १९८५ तिर हराएको थियो। 

अमेरिकाको न्युयोर्कस्थित मेट्रोपोलिटान म्युजियम अफ आर्टमा सङ्गृहीत हुन पुगेको सो मूर्ति र टुँडाल लिएर म्युजियमका कला विशेषज्ञ जोन गेई नेपाल आउनुभएको थियो। गेईले पुरातत्त्व विभागका दामोदर गौतम र नेपाल राष्ट्रिय सङ्ग्रहालयका सङ्ग्रहालय मिमी प्रधानलाई फिर्ता गरिएका कलाकृति हस्तान्तरण गर्नुभयो। पुरातत्त्व विभागका अनुसार हालसम्म बेलायतबाट १९ थान, अस्ट्रियाबाट एक थान, अमेरिकाबाट २५ थान, तिब्बतबाट २८ थान, कोलकाताबाट १३, जर्मनीबाट एक, इटालियन नागरिकबाट एक र युरोपियन नागरिकबाट एक थान गरी जम्मा ८९ मूर्ति एवं धार्मिक ग्रन्थ तथा कलावस्तु फिर्ता भइसकेका छन्।