• १४ वैशाख २०८१, शुक्रबार

गमगाढमा बाढी आउँदा बालैगाउँमा खुसियाली

blog

हरिकृष्ण ऐडी

मुगु, साउन ३० गते ।  वर्षाको समय गाउँ छेवैको नदीमा बाढी आउँदा निकै खुसी हुन्छन्। धमिलो पानी छचल्किँदो छाल झन्डै वारपार गर्दै उर्लिंदै आउँछ गमगाढखोला। यही धमिलो पानीमा यहाँका समुदाय निकै खुसी हुन्छन्। गमगाढले माथिबाट आफ्नो बेगसँगै छेउकुना हान्दै बालुवा ल्याउँछ। हुल्का–हुल मानिस खोलामा पस्छन्। गमगाढले पनि मसिनो र राम्रो बालुवा छेउछेउमा ल्याएर छाड्छ।

यिनै थरीथरीका बालुवामा थरीथरीका मानिस आफ्नो सपना पूरा गर्न बालैगाउँ, घुइरगाउँ र खामगोइटे गाउँका समुदायले बेल्चा लिएर होमिन्छन् पानीमा। डुबुल्की मार्दै उनीहरू बालुवा निकाल्छन्। हिजोआज पानीको बहाव बढेसँगै उनीहरूलाई बालुवा निकाल्ने चटारो छ। यही खोलाको बालुवाबाट उनीहरूको जीविकोपार्जन चलेपछि उनीहरू निकै खुसी छन्। हिमाली जिल्ला मुगु सदरमुकाम सडक सञ्जालमा जोडिएपछि पछिल्लो समय बजारमा व्यक्तिगत घर तथा सरकारी कार्यालयका भवन पक्की बन्दै गएका छन्। 

पक्की घर तथा कार्यालय निर्माण हुन थालेसँगै बालुवाको माग पनि बढ्न थालेको छ। बालै गाउँका बासिन्दाले त्यही माग पूरा गर्न खोलाको बालुवा र गिट्टी जम्मा गर्छन्। पानीको बहाव बढ्दा बालुवा र गिट्टी बनाउने ढुङ्गा जम्मा हुने भएकाले आफूहरू वर्षा लागेसँगै सधैँ झरीकै बाटो कुर्ने गरेको गमगढीका रमेश भामले बताउनुभयो। 

उहाँका अनुसार छायानाथ रारा नगरपालिका–६ मा पर्ने बालैगाउँ कुनै बेला ढुङ्गाको बगर भनी चिनिन्थ्यो तर पछिल्लो समय नदीले बगाएर ल्याएको बालुवा र गिट्टी गुणस्तरीय भन्दै माग बढ्न थालेपछि ढुङ्गे बगर आम्दानीको स्रोत बनेको छ। स्थानीय समाजसेवी सरबहादुर रावलले बालै, घइर, खामगोइटे गाउँको प्रमुख आम्दानीको स्रोत भनेकै बालुवा र गिट्टी भएको भन्दै यसैबाट घर व्यवहार चलाउने, ऋण तिर्ने र छोराछोरीसमेत पढाउने गरेको बताउनुभयो। 

बालै बगरको नदीले बगाएर ल्याएको बालुवा र गिट्टीबाट प्रत्यक्ष रूपमा वडा नं. ६ र ७ का गरी कम्तीमा १५०  घरधुरीसम्मले लाभ लिएको स्थानीय विष्णु नेपालीले बताउनुभयो। उहाँका अनुसार परम्परागत पेसा र कृषिभन्दा बालुवा सङ्कलन गर्दा सिजनमा एक घरधुरीले न्यूनतम ५० हजारदेखि ८० हजार रुपियाँसम्म कमाइ गर्छन्। 

यसरी निकालेको बालुवा बिक्री गर्दा एक ट्रली बराबरको तीन हजारदेखि तीन हजार पाँच सयसम्म बिक्री गर्ने गरिरहेको उहाँले बताउनुभयो। नगरप्रमुख विष्णुकुमार भामका अनुसार नगरपालिकाले योभन्दा पहिले एक ट्रली बालुवाको पाँच सय रुपियाँ लिँदै आएको भन्दै अब संशोधन गरी तीन सय रुपियाँ निर्धारण गर्ने तयारी भइरहेको बताउनुभयो।