• २६ वैशाख २०८१, बुधबार

दागबत्ती प्रकरण : पीडित पक्षलाई पुनः धम्की

blog

बर्दिबास समाचारदाता

बर्दिबास, साउन ३० गते । छोरा नभएका मृतक परिवारसँग दागबत्तीका लागि पाँच लाख रुपियाँ माग्नेले पीडित पक्षलाई पुनः धम्क्याएको छ । घटना सार्वजनिक गरेको भन्दै काजकिरियाको भोजभातमा आफूहरू सहभागी नहुने जानकारी गराएको पीडितले आरोप लगाएका छन् ।

बर्दिबास नगरपालिका–१४ मा छोरा नभएका ७० वर्षीय फकिरा साह सोनारको साउन २४ गते मृत्यु भएको थियो । पुरुषले नै शव उठाएर दागबत्ती दिनुपर्ने र काजकिरिया गर्नुपर्ने भन्दै ज्वाइँबाट नै पैसा मागिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित भएपछि ‘समाचार छाप्न लगाएर आफूहरूको हुर्मत लिएको’ आरोप लगाउँदै काजकिरियाको भोजभातमा सहभागी नहुने जानकारी पाएको पीडित परिवारले जनाएका छन् । 

“पैसा मागेको कुरो पत्रिकामा छपाइस्, भोज खाएको पनि भाइरल गराउँला, सानोतिनो कुराको पनि पोल खोलौला । त्यसैले अब हामी शुद्ध शान्तिको भोजमा सहभागी हुँदैनौँ भनेका छन्,” पीडित परिवारले जनाउनुभयो । समाचार प्रकाशित भएपछि प्रहरी र स्थानीय सरकारले पनि सक्रियता बढाएको छ । प्रहरीले मृतकका ज्वाइँ जातीय मुखिया (माइन्जन)समेत रहेका आरोपित इनरजित साह सोनारसँग सोधपुछ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले सोनारलाई आइतबार कार्यालयमै झिकाएर घटनाबारे सोधपुछ गरेको हो । प्रहरीको सूचना पाएपछि इनरजित समर्थकसहित उपस्थित भएको बर्दिबास प्रहरीले जनाएको छ ।  

घटनाबारे र पाँच लाख रुपियाँ मागेको सम्बन्धमा जानकारी लिइएको प्रहरीले जनाएको छ ।

तर, काजकिरियामा बसेकाले पीडित परिवारलाई उपस्थित गराउन नसक्दा सोधपुछ एकपक्षीय मात्र भएको छ । “मुख्यतः पाँच लाख रुपियाँ मागेकोबारे इनरजितसँग सोधपुछ गरिएको र काजकिरिया सकिएपछि पीडित परिवारसँग पनि बुझ्ने प्रहरीले जनाएको छ ।

घटना जानकारीपछि बर्दिबास प्रहरीका सई भीम कटुवाल नेतृत्वको टोलीले पीडित परिवारको घरमै पुुगी वस्तुस्थिति बुझ्ने काम गरेको छ । बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले नगर क्षेत्रमा भएको घटनाबारे जानकारी लिने काम भइरहेको बताउनुभयो । उहाँले पीडित परिवारलाई भयरहीत वातावरणमा बाँच्न पाउने र न्यायको अनुभूति गराउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने विश्वास दिलाउनुभयो । आवश्यक परेका सबै प्रकारका सहयोग उपलब्ध गराउन आफूसमेत तत्पर रहेको उहाँले बताउनुभयो । 

वडा नं. १ का वडाध्यक्ष भोला खड्काले पनि घटनाको विरोध र पीडितलाई सहयोगको प्रयासमा जुटेको बताउनुभयो ।