• १५ चैत २०८०, बिहिबार

पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’

blog

काठमाडौँ, साउन ३० गते । पहिरोको उच्च जोखिम भएका चार जिल्लाका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ जडान गरिएको छ । 

पहिरोका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले स्थानीय तहसँग समन्वय गरेर सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र म्याग्दीका पहिरोको अत्यधिक जोखिम भएका १० स्थानमा पूर्वसूचना दिने उपकरण जडान गरेको हो । मकवानपुरको हेटौँडामा पनि उपकरण राख्ने तयारी छ । समाजका सदस्य गोपीकृष्ण बस्यालले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको कोदारी, तामाङगाउँ, मार्मिङ र चाकुबजारमा यस्तो उपकरण जडान गरिएको जानकारी दिनुभयो । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नम्बर ३, ४ र ५ का बोल्दे, चुखाबेँसी थिलवारमा उपकरण जडान गरिएको छ । 

दोलखाको भीमेश्वर नगरपालिका १ र ३ का सुष्पाक्षमावती र चरीकोटमा उपकरण राखिएको छ । म्यादीको अन्नपूर्ण गाउँपालिका २ र ३ को तातोपानी, फागमडाँडा, घट्टेखोला, रुप्से र काभ्रेमा जडान गरिएको सो उपकरणले वर्षाको प्रकृति, माटोको प्रकार तथा माटोमा पानीको प्रतिशतको मापन गर्नेछ ।

जमिनको २० मिटर तलसम्म गाडिएको उपकरणले माटोमा भएको हलचलबारे हरेक १० मिनेटमा कम्प्युटरलाई जानकारी प्रवाह गर्छ । उहाँले कम्प्युटरसम्म आइपुगेको सूचना सरोकार निकायलाई समयमै जानकारी दिन सके त्यसले क्षति कम गराउन मद्दत गर्ने बताउनुभयो । 

सेन्सर सञ्चालनका लागि ब्याट्री, सौर्य ऊर्जा, साइरन, रिमोट, प्यानिक बटनजस्ता उपकरण आवश्यक पर्छ । सो प्रविधिमा माटोको चिस्यान मापन उपकरण, माटोमुनिको तापक्रम र आद्र्रता मापन गर्ने ‘सेन्सर’ वर्षा मापन उपकरणलाई पाइपभित्रबाट जमिनमुनि गाडिन्छ ।  ध्वनि उत्सर्जन ‘सेन्सर’लगायतका सम्पूर्ण गतिविधि सोही ठाउँमा जडान गरिएको तार हुँदै कम्युटरसम्म पुग्छ । सो उपकरणले शृङ्खलाबद्ध रूपमा हुने ससाना माटोका चालले ठूलो विपत्तिबारे पूर्वानुमान गर्न सहयोग गर्छ । समाजका सदस्य बस्यालले माटोको चालमा आउने अस्वाभाविक परिवर्तनलाई अध्ययन गरेर ठूलो विपत्बाट जोगाउन सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो ।  

यसै प्रविधिका कारण केही वर्षअघि भारतको हिमाञ्चल प्रदेशको मन्डी जिल्लास्थित कोटरोपी ठूलो क्षति हुनबाट जोगिएको थियो । उपकरणबाट प्राप्त सङ्केतका आधारमा भारतीय प्रहरीले त्यहाँको सडकखण्डबाट गुडिरहेका सवारीसाधनलाई हटाएको थियो । लगत्तै सोही स्थानमा पहिरो गई सडकखण्ड पूर्ण ध्वस्त भएको थियो । 

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले प्रविधि प्रयोगकै कारण सही सूचना समयमा उपलब्ध हुँदा एक वर्षअघि मेलम्ची र पाँचपोखरी थाङ्पालमा भएको बाढी पहिरोमा मानवीय क्षति कम भएको बताउनुभयो । उहाँले पहिरोको जोखिम कम गराउन प्रयोगमा ल्याइएको उपकरणले निकै फाइदा पु¥याएको बताउँदै जोखिम भएका हरेक स्थानीय पालिकामा यस्ता प्रविधि प्रयोगमा ल्याउन सुझाव दिनुभयो ।