• १६ चैत २०८०, शुक्रबार

आर्मीको विजयी सुरुवात

blog

बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौं, साउन २९ गते । विभागीय टोली नेपाल आर्मीले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार विजयी सुरुवात गरेको छ । नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयललाई ९१–६३ ले हरायो । आर्मीका आयुश सिंहले ३५ अंक जोड्नुभयो । 

नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमै शंकरदेव क्याम्पसले आयोजक नखिपोट ‘बी’ लाई ६२–५५ ले हरायो । विजयी टिमका लागि मनीषले ३१ स्कोर गर्नुभयो । प्रतियोगिताको पुरुषमा १२ टिम सहभागी छन् ।

सहभागीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । महिलामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष २ टिम पुनः उपाधिका लागि भिड्ने छन् । महिलामा आयोजक नखिपोटले कीर्तिपुरलाई ४८–१८ ले पन्छायो । विजेताकी समीक्षा न्यौपानेले १० अंक जोड्नुभयो । 

पुरुषमा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् । महिलामा शीर्ष दुई स्थान हात पार्नेले क्रमशः ३० हजार र १५ हजार रुपियाँ पुरस्कार पाउने छन् । दुवै समूहका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार रुपियाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।