• ६ वैशाख २०८१, बिहिबार

पहिरोको जोखिममा विद्यालय

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन २९ गते । सिमकोट गाउँपालिका–२ स्थित रामदेव माध्यमिक विद्यालय पहिरोको उच्च जोखिममा परेको छ। विद्यालय अन्यत्र सार्न जग्गाको अभाव छ।

ठेहे गाउँका स्थानीय कालीबहादुर बोहराका अनुसार विद्यालय भिरालो जमिनमा छ। जसका कारण पहिरोको उच्च जोखिममा छ। जग्गा सम्याएर विद्यालय भवन बनाइएको भए पनि तीनतिर भिरालो भूवनोटका कारण जुनै पनि बेला पहिरो जान सक्ने स्थानीयले बताएका छन्। विद्यालयका प्रधानाध्यापक टीकाराम पौडेलले पहिरो जोखिममा रहेको विद्यालय डराइडराई पठनपाठन सञ्चालन गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार पहिरो जोखिमकै कारण विद्यार्थीले भलिबललगायत खेल खेल्न सक्ने अवस्था छैन।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल भण्डारीले अन्यत्र जग्गाको व्यवस्था गर्न नसकिएका कारण जोखिम भए पनि विद्यालयमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनुुभयो । विद्यालयमा जोखिम रहेकाले नै साना कक्षाका विद्यार्थीलाई गाउँ नजिकै कक्षा चारसम्म अध्ययन व्यवस्था मिलाइएको छ।