• १५ वैशाख २०८१, शनिबार

मुग्लिन–पोखरा सडक विस्तार

एघार महिनामा ४.५ प्रतिशत मात्र काम

blog

काठमाडौं,साउन २६ गते । काठमाडौं र पोखरालाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत पर्ने मुग्लिन–पोखरा सडक विस्तारको कामले गति लिन सकेको छैन । काम सुरु भएको झण्डै एक वर्ष पुग्न लागे पनि ४.५ प्रतिशत मात्र काम सम्पन्न भएको देखिएको छ । ८२ किलोमिटर लामो यस सडकलाई दुई खण्डमा विभाजन गरी काम भइरहेको छ ।

दुई खण्डका आयोजना प्रमुखद्वय अमितकुमार श्रेष्ठ र नरेन्द्र सुवेदीका अनुसार क्रमशः जामुने–पोखरा (पश्चिम खण्ड) मा हालसम्म १ प्रतिशत र आँबुखैरेनी–ज्यामिरे (पूर्वी खण्ड) मा हालसम्म ३.५ प्रतिशत काम पूरा भएको छ ।

पहिलो बर्ष काम गर्ने कानुनी प्रक्रिया मिलाउनु पर्ने भएकाले यो वर्षमा काम केही कम भएको दुबै खण्डका प्रमुखको भनाइ छ । 

दुबै खण्ड विस्तारको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । हाल दुबै खण्डमा रुख कटानको काम भइरहेको आयोजना प्रमुखद्वयले बताउनुभयो । अहिले बर्षाको समय रहेकाले भित्ता खन्नेकाम बन्द रहेको छ । बाटोमा खसेको पहिरो पन्छाउने र रुख कटानको काम भइरहेको उहाँहरुको भनाइ छ ।  

एशियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याजको ऋण सहयोगमा मुग्लिनदेखि पोखरासम्मको दुई लेनको सडक विस्तार गरी चार लेन बनाउने काम भइरहेको छ । पहिलो बर्ष काम गर्ने कानुनी प्रक्रिया मिलाउनु पर्ने भएकाले यो वर्षमा काम केही कम भएको दुबै खण्डका प्रमुखको भनाइ छ । 

अब बाँकी दुई बर्षमा यस आयोजनाको सबै काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुखहरुले बताउनुभयो । पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३८.८८ किमी क्षेत्र पश्चिम खण्डमा र जामुनेदेखि आँबुखैरेनीसम्मको ४३.१२ किमी सडक पूर्बी खण्डमा पर्नेगरी आयोजना विभाजन गरिएको छ ।

आयोजना अन्तर्गतको पूर्बी खण्डका प्रमुख नरेन्द्र सुवेदीका अनुसार यस खण्डअन्तर्गत काम सुरु भएको ११ महिनामा ३.५ प्रतिशत काम सम्पन्न भएको छ । ‘अहिले काम सुरु भएको ११ महिना भयो, काम सकिन अझै दुई वर्ष बाँकी छ, तोकिएको समयमा काम पूरा गर्न पहल गरिरहेका छौं’ उहाँले भन्नुभयो । 

मुग्लिन–पोखरा सडक खण्डअन्तर्गतको पूर्बी खण्डमा आँबुखैरेनी–जामुने खण्डको सडक विस्तारको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । सो कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख रुपियाँ लागतमा उक्त सडक खण्डको ठेक्का जिम्मा लिएको हो । यो ४३.१२ किलोमिटर लम्बाइको ठेक्का हो ।

यस खण्डको निर्माण अवधि तीन वर्षे रहेको छ । कम्पनीले निर्माण सकेको एक वर्ष मर्मत गर्नुपर्ने छ भने बाँकी पाँच वर्ष सडक मर्मतसम्भार निर्माण कम्पनीले नै गर्नुपर्ने आयोजना प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो । उहाँले थप्नुभयो, ‘निर्माण सकेको छ वर्षसम्म कम्पनी नेपाल छाडेर जान पाउने छैन । यस्तो हुँदा कम्पनीले मर्मत गर्नुपर्ने र लामो समय नेपालमै बस्नु पर्ने भएकाले राम्रो काम गर्छ भन्ने अपेक्षा गरिएको छ ।’

यस्तै, जामुनेदेखि पोखरासम्म ३८.८८ किलोमिटर लम्बाइको यो खण्डको ठेक्का अनहुई काईयूअन हाइवे एण्ड ब्रिज कम्पनी लिमिटेडले पाएको छ । यस आयोजनामा सानाठूला गरी १४ वटा पुल निर्माण सो कम्पनीले गर्नुपर्नेछ । ७ अर्ब ४० करोड ४६ लाख रुपियाँ लागतमा बन्दैगरेको यस आयोजना निर्माणका लागि १५ प्रतिशत सुरूको लागत भुक्तानी गरिसकेको आयोजना प्रमुख अमितकुमार श्रेष्ठले बताउनुभयो । 

अहिले काम सुरु भएको ११ महिना भयो, काम सकिन अझै दुई वर्ष बाँकी छ ।

आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, ‘घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ । विस्तारित सडक दुवैतर्फ सात–सात मिटरको हुनेछ । एउटा लेन साढे तीन मिटर लामो हुनेछ । मुख्य सडकलाई एकअर्काबाट छुट्ट्याउन तीन मिटरको डिभाइडर निर्माण गरिनेछ ।’

आकस्मिक अबस्थामा सवारी रोक्न साढे दुई मिटरको सोल्डर हुन्छ । सडकको दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन हुन्छ । ढल व्यवस्थापन गर्न दुबैतर्फ दुई मिटर छुट्ट्याइएको हुन्छ । पैदल यात्रुका लागि एक–एक मिटरको फुटपाथ हुन्छ उहाँले बताउनुभयो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।