• ५ साउन २०८१, शनिबार

कैलालीमा निर्वाचनको तयारी सुरु

blog

धनगढी, साउन २५ गते  । निर्वाचन कार्यालयले कैलालीमा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन तयारी थालेको छ। 

सरकारले आगामी मङ्सिर ४ गते निर्वाचनको मिति तोकेपछि जिल्ला निर्वाचन कार्यालयले तयारी अगाडि बढाएको हो। सरकारले निर्वाचनको मिति तोकेलगत्तै मतदाता नामावली सङ्कलन गर्ने र सार्ने कार्य बन्द गरेर तयारीमा जुटेको निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले बताउनुभयो। 

“अहिले निर्वाचन सामग्री जाँच गर्ने, आयोगमा विवरण पठाउनेलगायतका तयारीको काम भइरहेको छ,” उहाँले भन्नुभयो, “हामी तयारीमा जुटिसकेका छौँ।” निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य रोकिसकेको छ। अब त्रुटि सच्याउने, दोहोरिएको हटाउनेलगायतका कार्य गरेर अन्तिम नामावली प्रकाशन गरिने प्रमुख भट्टले उल्लेख गर्नुभयो। स्थानीय तहको निर्वाचन सकिएपछि गत असार १ बाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य अगाडि बढाइएको थियो। 

एक महिनाको अवधिमा कैलालीमा ११ हजार ४३० जना मतदाता थपिएका निर्वाचन कार्यालयले जनाएको छ। स्थानीय तहको निर्वाचनका बेला यो जिल्लामा पाँच लाख २५ हजार १२५ जना मतदाता थिए। नयाँ थप मतदातासहित अब मतदाता सङ्ख्या पाँच लाख ३६ हजार ५५५ पुगेको छ यद्यपि त्रुटि सच्याउने र हटाउने कार्य गरेर अन्तिम नामावली प्रकाशन भएपछि मात्रै वास्तविक तथ्याङ्क आउने भट्टले बताउनुभयो। 

स्थानीय तहको निर्वाचनका बेला धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ९३ हजार १५१ मतदाता थिए। यस्तै गोदावरी नगरपालिकामा ५५ हजार ४९२, लम्कीचुहा नगरपालिकामा ५३ हजार ९४६, टीकापुर नगरपालिकामा ५२ हजार ८६२, घोडाघोडीमा ५२ हजार ४० र गौरीगङ्गा नगरपालिकामा ४० हजार १८ मतदाता सङ्ख्या थियो। यसैगरी कैलारी गाउँपालिकामा ३६ हजार ७३५, जानकी गाउँपालिकामा ३५ हजार ४०६, भजनी नगरपालिकामा ३३ हजार ९३१, जोशीपुर गाउँपालिकामा २५ हजार ४४६ मतदाता थिए। 

यस्तै बर्दगोरिया गाउँपालिकामा २२ हजार १८१, मोहन्यालमा ११ हजार ९८४ र चुरे गाउँपालिकामा सबैभन्दा कम ११ हजार ९२३ जना मतदाता सङ्ख्या थियो। यस पटक कैलालीमा एउटा मतदान स्थल थपको प्रस्ताव गरिएको छ। टीकापुर नगरपालिकामा एउटा मतदान स्थल थपको प्रस्ताव आयोगमा पठाएको भट्टले बताउनुभयो। “टीकापुरका मतदान स्थलमा बढी भीडभाड हुने गरेको देखिएकाले एउटा मतदान स्थल थपको प्रस्ताव गरेका हौँ,” उहाँले भन्नुभयो। यो जिल्लामा मतदान स्थल सङ्ख्या २३६ छ। जिल्लाभरि मतदान केन्द्र भने ६१९ छन्।