• १२ वैशाख २०८१, बुधबार

डुबानको जोखिम कायमै

सप्तकोसी पीडित सुरक्षित बासस्थानमा

blog

उदयपुर समाचारदाता

उदयपुर, साउन २५ गते । सप्तकोसी कटानले एक सातायता डुबानमा परेको उदयपुर र सुनसरीको प्रभावित क्षेत्रका बासिन्दा जोखिम कायमै रहेकाले अझै घर फर्किन सकेका छैनन्। सप्तकोसीको भङ्गालो पसेर डुबानमा परेपछि सुरक्षित स्थानमा बस्दै आएका करिब दुई हजार पाँच सय घरपरिवार प्रभावित जोखिम कायम रहेकाले घर फर्किन सक्ने अवस्था नरहेको बेलका नगरप्रमुख अशोक कार्कीले बताउनुभयो। 

सप्तकोसीमा पानीको बहाव घटे पनि कटान स्थानबाट भङ्गालो पसिरहेकाले प्रभावित क्षेत्रमा डुबान कायमै छ। उदयपुरको बेलका नगरपालिका–८, डुम्रिबोटेमा कटानपछि बस्तीमा पसेको भङ्गालोले बेलका २, ३, ८ र ९ को भू–भाग डुबानमा परेका छन्। त्यस्तै सुनसरीको वराहा नगरपालिका ६ र ९ को भू–भाग पनि डुबानमा छन्। डुबानले जनजीवन प्रभावित भएको छ। वर्षा भएमा सप्तकोसीको भङ्गालो बढ्नसक्ने जोखिम कायमै छ। “सप्तकोसीको कुनै भर छैन, बर्षात्को बेला भङ्गालो बढ्नसक्ने जोखिम छदैछ।” बेलका नगरपालिकाका ललित राईले भन्नुभयो “प्रभावित सुरक्षित ठाउँ छाडेर घर फर्कने अवस्था छैन।”

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालका अनुसार सबैभन्दा बढि प्रभावित बस्ती कोसी एबीसी टप्पु, भाटे, सिसौली, एकता, चिल्म, दुर्गा मन्दिर, बान डाँडा हुन्। त्यहाँका विस्थापित अधिकांश आफन्त र नगरपालिकाले व्यवस्था गरेको स्थानमा बस्दै आएका छन्। करिब पाँच सय जना पीडित नगरपालिकाको व्यवस्थापनमा बस्दै आएका छन् भने अन्य आफन्तको घरमा बसेका छन्। कतिपय पानी नपरेको मौकामा घर जाने र जोखिमको आकलन गरेर सुरक्षित स्थल आउने गरेका छन्। 

डुबान कायमै रहेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धार कार्यमा खटेका छन्। स्थानीय जनप्रतिनिधि प्रभावितको व्यवस्थापनमा जुटिरहेका छन्। आज सप्तकोसीको बहाव एक लाख ५० हजार ८७२ रहेको छ भने भारदहको पुलमा २२ वटा ढोका खोलिएको सुनसरी प्रशासनले जनाएको छ।