• ५ साउन २०८१, शनिबार

सङ्क्रमितको सङ्ख्या एक हजार नाघ्यो, दुईको मृत्यु

blog

काठमाडौं, साउन २४ गते । मुलुकमा कोरोना सङ्क्रमणदर उकालो लाग्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार तीन एन्टिजेन र पीसीआर परीक्षण गर्दा एक हजार ९० जनामा कोरोना पुष्टि भएको हो ।

दुई हजार ९५८ जनाको पीसीआर गर्दा ५६० र तीन हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जना सङ्क्रमित भएका हुन् । परीक्षण गरिएका मध्ये १७.३ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी ३९७ जना काठमाडौं उपत्यकामा थपिएका छन् । जसमध्ये काठमाडौंमा ३०४, ललितपुरमा ७२ र भक्तपुरमा २१ जना छन् ।

सोही समयमा ४३८ जना सङ्क्रमणमुक्त भएका छन् भने दुई जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८०६ छन् ।

त्यस्तै, २४ घण्टामा एक लाख ७१  हजार ८३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।