• १३ साउन २०८१, आइतबार

सम्मानजनक सिटसहित गठबन्धन बनाउने प्रयासमा दलहरू

blog

काठमाडौं, साउन २२ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनमा चुनावी तालमल हुने सहमति बनेपछि गठबन्धनभित्र सिट बाँडफाँटको गृहकार्य भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये दलहरुमा सिट भागबण्डा गरेर आगामी निर्वाचनमा जाने गठबन्धनका दलहरु तयारी अवस्थामा छन् । प्रतिनिधिसभाको समानुपातिक निर्वाचत अन्तर्गत ११० सिटमा प्रतिस्पर्धा हुँदैछ ।

नेपाली कांग्रेसका सांसद एवम् सचेतक मीन विश्वकर्मा गएको १३ महिनामा राष्ट्रिय राजनीतिमा आएको समस्याका कारण वैकल्पिक सरकार बनाउने उद्देश्यसहित गठबन्धन बनाएको बताउनुहुन्छ । उहाँले आगामी निर्वाचनमा स्थानीय तहमा प्राप्त गरेको जनमतका आधारमा गठबन्धनले सङ्घीय र प्रदेशसभाको उम्मेदवार खडा गरिने बताउनुभयो ।

विश्वकर्माले भन्नुभयो, “पाँच दलले संयुक्तरुपमा नीति तथा कार्यक्रम घोषणा गरेको छ । स्थानीय निर्वाचनमा साझा उम्मेदवार र बजेट बनायौं । आगामी निर्वाचनमा पनि गठबन्धनसँगै जान्छौं ।”

कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने भएकाले वाद, विवाद र सम्वादबाट सबै किसिमका प्रश्नको हल गरेर अघि बढ्ने उहाँको भनाइ छ । उहाँले गठबन्धनमा अरु दल पनि थपिनसक्ने सम्भावना रहेको पनि बताउनुभयाे ।

प्रतिपक्षमा रहँदै आएको लोकतान्त्रिक समाजवादी पार्टीले वर्तमान सरकारले नागरिकता विधेयक पारित गरेकोप्रति सकारात्मक रहेकाे जनाएकाे छ । लोसपाका नेता डा. सुरेन्द्र झाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) दुवैसँग समदूरीको सम्बन्ध रहेको बताउनुभयो । जसका कारण सुविधाजनक सिट बाँडफाँट जता हुन्छ, लोसपा उसैसँग आगामी निर्वाचनमा जाने देखिन्छ ।

झाले भन्नुभएको छ, “गठबन्धन बनिहाल्ने ठोस स्थिति निर्माण भएको छैन । मधेसी, आदिवासी, महिला, दलितलगायतको मुद्दामा कुन पार्टी नजिक भएर आउनुहुन्छ ? तर, निर्णय भने भइसकेको छैन ।”

सत्ता गठबन्धनभित्र वाम मोर्चाको छुट्टै कसरत पनि हुँदै आएको छ । खासगरी, डा. बाबुराम भट्टराई र वामदेव गौतमले यो पटक निर्वाचन आयोगमा नयाँ दल दर्ता गराउनुभएको छ ।

वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले कांग्रेस र एमालेलाई पनि चुनौती दिनेगरी वाम मोर्चा बन्ने बताउनुभयो । पाण्डेले भन्नुभयो, “तत्काल वाम गठबन्धन सम्भावना रहेन । नेकपा बिउँत्याउने प्रयास सफल रहेन । तर एमालेलाई गल्तीको महसुस भएको छ । वामदेवले ओलीसँग सबैभन्दा पहिले दुई घण्टा छलफल गर्नुभएकाे छ ।”

गठबन्धनमा डा. भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी सम्मिलित हुने चर्चा छ । गठबन्धनभित्र वाम उपगठबन्धनको कसरतमा जोडघटाउ नमिले आफ्नै ढङ्गबाट अघि बढ्ने मुडमा डा. भट्टराईको पार्टी छ । उहाँका स्वकीय सचिव रोशन पोखरेलले पार्टीका कार्यकारिणीलाई निर्णय गर्ने अधिकार दिइएको बताउनुभयो ।

सम्मानजनक उपस्थिति सत्ता साझेदार दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपाले गठबन्धनमा सम्मानजनक उपस्थिति चाहेको बताउने गरेका छन् ।

समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दलहरुले सुरुमा धेरै सिटको बार्गेनिङ गरे पनि अन्तिम बिन्दुमा यो साइजमा आउने बताउनुभयो । खतिवडाले भन्नुभयो, “हामीले यति नै सिट भनेका छैनौं । बटमलाइन एक्लै चुनेर पनि हुँदैन । छलफल अगाडि सारेका छौं, सम्मानजनक उपस्थिति चाहन्छौं ।”

यस्तै, नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले पार्टीमा प्रस्ताव अघि सार्दै आएको राष्ट्रियताको मुद्दा, प्रजातन्त्र र सुशासन सम्बन्धमा समीक्षाको विषयमा छलफल हुन नसकेकाले वाम गठबन्धनमा खासै प्रगति नभएको भनाइ राख्दै भन्नुभयाे, समीक्षाको दिशातर्फ अघि बढेन, नीतिगत विषयका कुरामा पनि समीक्षा गर्नुपर्छ भनिराखेका छौं ।


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।