• १० मंसिर २०८१, सोमबार

थाकेका छैनन् घण्टाघरका सुई

blog

काठमाडौँ, साउन २२ गते । सवा सय वर्षदेखि समयको जानकारी दिँदै आएको रानीपोखरीको घण्टाघरका घडीका सुई अझै थाकेका छैनन् तर घडीका संरक्षणकर्ताले अब तिनलाई विश्राम दिने योजना बुन्दै छन्। त्रि–चन्द्र क्याम्पसको सबैभन्दा पुरानो भवनको पुनर्निर्माण र सँगै जोडिएको घण्टाघरको जीर्णोद्धार हुने भएको छ। परिसरभित्र रहेकाले घण्टाघरको जिम्मेवारी त्रि–चन्द्र क्याम्पसले नै वहन गर्दै आएको छ।

त्रि–चन्द्र क्याम्पसका प्रमुख प्रा. डा. सुनील अधिकारीले भन्नुभयो, “घडी अझै थाकेको छैन तर दम दिएर साध्यै नचल्ने भयो। अब अटोमेटिक घडी जडान गर्नुपर्छ। अहिलेको घडीलाई क्याम्पसभित्र सङ्ग्रहालय बनाएर राख्नेछौँ।” 

तत्कालीन प्रधानमन्त्री वीरशमशेरले भिरालो जमिनको डिलमा घण्टाघर निर्माण गर्न लगाउनुभएको थियो। केही इतिहासकारले १९५१ साल र केहीले १९५७ सालमा घण्टाघर निर्माण भएको लेखेका छन्। त्यससँगै वीर पुस्तकालय पनि स्थापना गरियो र त्यसलाई पुस्तकखाना भनिन्थ्यो। दरबार हाइस्कुलको बुइगलमा राखिएका पुस्तकालयलाई वीर पुस्तकालयमा सारियो। 

त्यसबेला रानीपोखरी घण्टाघर भन्ने चलन थियो। राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेको १९५६ सालको दस्तावेजमा पुस्तकखानाका हाकिमअन्तर्गत घण्टाघरको निगरानी गर्न सिपाही ठेकिएको उल्लेख छ। आलोपालो काममा आठ जना सिपाही खटाइएको हुन्थ्यो। उनीहरूले घण्टाघरको सफाइका साथै पालोपहरा दिने गर्थे। 

घण्टाघर संरक्षणका लागि राखिएका ती सिपाहीलाई पुस्तकालय स्याहारको पनि जिम्मा दिइएको सो लिखतबाट प्रस्ट हुन्छ। कुनै सिपाहीले ती दुवै काम गर्न नचाहेमा ‘उनका स्थानमा नयाँ मानिसलाई भर्ना गराउन ल्याउनू र तिनलाई हामी भर्ना गरिदिन्छौँ भन्ने ठाडो आदेश जारी भएको देखिन्छ। 

त्यो भव्य घण्टाघरलाई १९९० सालको भूकम्पले पाताल पु-याइदियो। नयाँ शैलीको घण्टाघर निर्माण गरियो तर घडी उही प्रयोग गरियो। घडी र त्यसमा जोडिएका उपकरण कहीँ कतै पनि निर्माण कम्पनी र देशको नाम उल्लेख छैन। त्रि–चन्द्र क्याम्पसका पदाधिकारी बेलायती घडी भएको सहजै उत्तर दिन्छन्। घण्टाघरका घडी र त्यसका उपकरणको तौल करिब दुई हजार केजी छ। घडीसँग जोडिएका २५ वटा यन्त्र छन्। नौवटा घण्टा छन्। घडीमात्र करिब दुई सय केजीको छ।

पसिना निकाल्ने दम

त्यो घडीका एक्लो ‘डाक्टर’ त्रि–चन्द्र क्याम्पसका इलेक्ट्रिसियन गणेश सापकोटा हुनुहुन्छ। २०३९ सालताका घण्टाघरमा आगजनी भएपछि लामो समयसम्म घडी चल्न सकेन। २०४१ सालमा भारतबाट मर्मतकर्ता झिकाएर घडीलाई चालु बनाइयो। घडीले पुनः काम गर्न छोड्यो। २०४४ सालमा सार्क सम्मेलनका बखत सापकोटालाई घडी मर्मत गर्न सक्ने वा नसक्नेबारे सोधनी हुँदा उहाँले ‘सक्छु’ भन्नुभयो। “खासमा त्यसअघि म कहिल्यै पनि घण्टाघरभित्र गएको थिइनँ र घडी बनाउन सक्ने मानिस पनि होइन,” उहाँले भन्नुभयो, “प्रयास गर्न चाहेर सक्छु भनिदिएँ तर बनाउँदै जाँदा बन्यो पनि।”

उहाँ दुई वर्षपछि अवकाश पाउँदै हुनुहुन्छ तर उहाँबाहेक घडी बनाउन सक्ने अर्को कालीगढ तयार हुन सकेको छैन। “गणेशजी अवकाश भएपछि घडी बनाउन समस्या पनि छ,” त्रि–चन्द्र क्याम्पस प्रमुख डा. अधिकारीले भन्नुभयो।

घडीलाई हरेक साता दुई पटक दम दिनुपर्छ। करिब आधा घण्टा दम दिनुपर्ने हुन्छ। दम दिएर निकै गह्रौँ तौल माथि उठाउनुपर्ने हुँदा दम दिने व्यक्ति पसिनाले निथ्रुक्कै हुन्छन्। क्याम्पसका चार जना चौकीदारले आलोपालो दम दिँदै आएका छन्। 

“दम दिएबापत चार जनालाई मासिक एक/एक हजार रुपियाँ भत्ता छ। त्यो भत्ता पनि निकै कम भयो भनेर गुनासो गरिरहेका छन्,” क्याम्पस प्रमुख डा. अधिकारीले भन्नुभयो। घण्टाघरभित्र उक्लिएर तीनवटा दम दिनुपर्ने हुन्छ। एउटा दमले घडी चल्छ, दोस्रो दमले हरेक १५ मिनेटमा घण्टी हान्छ र तेस्रो दमले हरेक घण्टामा अर्को घण्टी हान्छ। राणाकालमा समय जनाउ दिन दिनको १२ बजे तोप पड्काउने चलन थियो र सैनिकले घण्टाघरले हानेको घण्टीका आधारमा तोप पड्काउने गरेका थिए।क्याम्पसका इलेक्ट्रिसियन सापकोटाले आफू जागिरे हुन्जेलसम्म घडी मजाले चल्ने बताउँदै थप्नुभयो, “कसैले पनि सिक्न चासो राखेनन्। क्याम्पसले पनि सिकाउन चासो राखेन। मेरो विचारमा यो घडी अझै एक सय वर्ष मजाले चल्न सक्छ।”

२०७१ सालतिर काठमाडौँ महानगरपालिकाले घण्टाघर संरक्षणको जिम्मा लिने भनेर बैठक बोलाएको थियो। बैठकमा सोको संरक्षण गर्ने प्रतिबद्धता कामनपाका पदाधिकारीले व्यक्त गरेका थिए। क्याम्पसका इलेक्ट्रिसियन सापकोटाले भन्नुभयो, “लगत्तै रङरोगन गरिदिए। त्यसबाहेक उनीहरूले घण्टाघरमा पाइला हालेका छैनन्।”