• १२ वैशाख २०८१, बुधबार

सप्तकोसी नदी कटान

पानीको निकासले थप जोखिम हुनसक्ने

blog

भोटराज राई

उदयपुर, साउन २० गते । तीन दिनदेखि उदयपुरमा पसेको सप्तकोसीको पानीले निकास खोज्नेक्रममा बेलका नगरपालिका २ मा थप समस्या बढेको छ । सो वडाको लालभित्तीदेखि एकताचोक, कान्तीचोक, रामनगर, नारायणचोकदेखि तल्लोबस्ती चन्द्रपुर हुँदै पुरन्दहसम्म त्यसको थप असर देखिएको बेलका नगर प्रमुख अशोक कार्कीले बताउनुभयो । 

वडा ८ डुम्रिबोटेदेखि कटान गरी पसेको भङ्गालोको पानी बोट विरुवाले रोकेर जमेर बसेको थियो । जमिएको पानी सामान्य गतिमा बहाव हुँदैगएकोमा आजदेखि तिब्र वहाव हुन थालेकाले जोखिम बढेको हो । दुई दिनदेखि जमेर रहेको पानी तेज गतिमा बग्नसक्ने र क्षति हुनसक्ने देखिएपछि स्थानीय सरकार र प्रशासन आज त्यसतर्फ केन्द्रित भएको छ । 

वडा २ मा घर पर्खेर बसेका र घर नै छाड्न नमानेकाहरुको उद्धारमा सुरक्षाकर्मी लागिपरेको बताएको छ । नगर प्रमुख कार्कीका अनुसार बेलकाको वडा २, ३, ८ र ९ वडामा जमेको पानीले वडा १ पुरन्दहबाट निकास लिदै त्रियुगा नदीमा मिसिएको छ । त्रियुगामा मिसिएको पानी पुनः सप्तकोशीमै गएर मिसिएको छ । 

उदयपुरमा पसेको सप्तकोशीको भङ्गालो रोकिने अवस्था अझै नदेखिएको प्रहरीको भनाइ छ । यसले उदयपुरसँगै सुनसरीको बराहा क्षेत्रको वडा ६ र ९, सप्तरीको केही भुभागसमेत प्रभावित बनेको छ । हालसम्म पानीको निकास सामान्य ढङ्गले भइरहेकाले ठूलो क्षति नभएको प्रहरीले बताएको छ ।  

डुवान क्षेत्रमा उद्धार कार्य जारी नै छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली निरन्तर खटिरहेको छ । एकद्वार प्रणालीमा नगरपालिकाले राहत संकलन गरी प्रभावित क्षेत्रका पीडितहरुलाई राहत तथा सहयोग वितरण गर्दैआएको छ ।


पीडित एकै ठाउँ केन्द्रित

यसैबीच, बेलका नगरपालिकाले प्रभावित क्षेत्रका पीडितको ब्यवस्थापनमा नयाँ निर्णय गरेको छ । विभिन्न विद्यालय र सामुदायिक भवनमा राखिएका लाई आजबाट एकै ठाउँमा केन्द्रित गरी ब्यवस्थापन थालेको बेलका नगर उपप्रमुख जिरा राईले जानकारी दिनुभयो । 

पीडितहरुलाई राहत तथा सहयोग वितरण तथा ब्यवस्थापनमा एकरुपता नभएका कारण एकै ठाउँमा केन्द्रित गरिएको उहाँले बताउनुभयो । पीडितहरुमा महिला, बालबालिका र बृद्धबृद्धालाई ब्यवस्थित गर्न चुनौती देखिएको छ । पीडितको खाना, बस्न र स्वास्थ्यमा समेत समस्या देखिन थालेपछि एकै ठाउँमा ब्यवस्थित गरिएको छ । वडा ३ को कन्तेचौरी स्थित खसीबजार संकलन केन्द्रको भवनमा पीडितलाई ब्यवस्थित गरी राखिएको छ ।

स्वास्थ्य सामग्री वितरण

उपप्रमुख राईका अनुसार पीडित बसेका विद्यालय तथा सामुदायिक भवनमा स्वास्थ्यकर्मीसहित पुगेर स्वास्थ्य किड्स वितरण गरिएको छ । ७४ जना महिला तथा किशोरीलाई आवश्यकीय सामान रहेको विगिनिटी किड्स वितरण गरेको बताइएको छ ।  स्वास्थ्य सामग्री रहेको हाइजेनिक किड्स र बालबालिकाका लागि बेबी किड्स पनि वितरण गरिने राईले बताउनुभयो । 

यी सामग्रीहरुका लागि सेभ द चिल्ड्रेन, केयर नेपाल, आरेक, रेडक्रस लगायतका संघ संस्थाले सहयोग गरेका छन् । पीडितलाई एकै ठाउँ राखिंदा एकीकृत सेवा प्रवाह गर्न सजिलो र प्रभावकारी हुने संस्थाको पदाधिकारीको बुझाइ छ । पीडितका लागि खानेपानी र चर्पी लगायतको ब्यवस्था गरिएको छ ।