• २४ साउन २०७९, मङ्गलबार
blog

‘मिस्टर टर्नर’ शीर्षकीय ‘बायोपिक’ (उन्नाइसौँ शताब्दीका सुविख्यात ब्रिटिस चित्रकार जे.एम.डब्लु. टर्नरको जीवनीमा आधारित सिनेमा) दोहो-याई तेह-याई हेरियो । सन् २०१४ मा रिलिज भएको यो फिल्म वास्तवमा नै कलात्मक र उत्कृष्ट रहेछ ! टर्नरको भूमिका निर्वाह गरेका टिमोथी स्पालको अभिनयलाई त मान्नै पर्छ ! समीक्षकहरूबाट निकै रुचाइएको यस फिल्मका लेखक एवम् निर्देशक हुन्– माइक लेइघ ।

सन् २०१५ को ‘एकेडेमी अवार्डस्’ (ओस्कार्स) मा चार वटा विधाका लागि यो फिल्म मनोनयनमा परेको थियो । सोही साल ‘कान्स फिल्म फेस्टिभल’ मा टर्नरको भूमिकाका लागि स्पालले ‘बेस्ट एक्टर’ अर्थात् ‘उत्कृष्ट अभिनेता’ पुरस्कार जितेका थिए । ‘मिस्टर टर्नर’को विषयवस्तुभित्र जे.एम.डब्लु. टर्नरको प्रौढावस्थादेखि उनको निधनसम्म (सन् १८५१) को जीवनवृत्त समेटिएको छ । 

.....

सूर्यास्तको समय– बेल्जियमको अँटवर्पको कुनै ग्रामीण भेग– खोलाको छेउ विन्डमिल (पवनघट्ट)–  खोलाअगाडि घाँसे गोरेटोमा परदेखि दुईवटी ग्रामीण महिला डच भाषामा गफिँदै आइरहेका अनि पर क्षितिजमा स्केच गर्दै गरेका टर्नर– यिनै दृश्यबाट फिल्म सुरु हुन्छ ।  

चित्रकार टर्नर एकलकाँटे स्वभावका छन् । चित्रकार पुत्र र उनका पिताबीच अथाह स्नेह छ– छोराका लागि खानपानको व्यवस्थापनदेखि लिएर उनका लागि पिगमेन्ट (रङ) किन्न जाने, क्यानभास स्ट्रेच गर्ने, आर्ट कलेक्टरहरूलाई चित्र देखाउने आदि सबै काम पिताले नै गर्छन् । पिताको मृत्युपश्चात् टर्नर झन् एकलकाँटे बन्छन् । घरमा काम गर्ने महिला हन्नाहप्रति चित्रकारको कुनै भावनात्मक सम्बन्ध छैन तर बेलाबखत उनीबाट आफ्नो यौन क्षुधा शान्त पार्छन् । हन्नाह चर्मरोगबाट पीडित छिन् । फिल्मका निर्देशक माइक लेइघले हन्नाहसँगको चित्रकारको यौन प्रकरणलाई काल्पनिक हुन् भनेर स्वीकारेका छन् । सार्वजनिक रूपमा टर्नर आपूmलाई अविवाहित भनेर हिँड्छन् तर वास्तविक जीवनमा सराह डान्बी नामकी विधवा महिलाका दुई पुत्रीका पिता हुन्छन् र उनीहरूदेखि तर्किन चाहन्छन् । लन्डनको चेल्सी बन्दरगाहको स्केच गर्ने हेतु त्यहाँ उनी एउटा कोठा भाडामा लिन्छन् । यसबीच विधवा घरधनी श्रीमती बुथसँग उनको अन्तरङ्ग सम्बन्ध कायम हुन्छ । चेल्सीमा उनी आफ्नो प्रणय सम्बन्ध र चित्रकारका रूपमा आफ्नो पहिचानलाई गोप्य नै राख्न चाहन्छन्– त्यहाँ उनको चिनारी ‘कानुन व्यवसायी मिस्टर मालोर्ड’का रूपमा रहेको छ । रोयल एकेडेमीमा युवा महारानी भिक्टोरिया र उनका पति राजकुमार अल्बर्ट सवारी भएका छन् । राजकीय दम्पतीलाई टर्नरका पछिल्ला कामहरू मन पर्दैन– उनीहरू तीखो प्रतिक्रिया पोख्छन् । “दी सन इज गड ! (सूर्य नै ईश्वर हुन् !)”– यसै संवादसँगै चेल्सीमा प्रेमिका सोफिया क्यारोलिन बुथको घरमा टर्नर जीवनको अन्तिम सास लिन्छन् । यिनै प्रकरणलाई माइक लेइघको निर्देशन, डिक पोपको सिनेम्याटोग्राफी, जन ग्रिगोरीको सम्पादन र टिमोथी स्पाल, डोरोथी अट्किन्सन्, मारियन् बेले, पौल जेस्सोन आदि कलाकारको अभिनयले ‘मिस्टर टर्नर’ लाई जीवन्त बनाइदिएको छ ।

.......

‘मिस्टर टर्नर’का केही रोचक र मर्मस्पर्शी दृश्यहरू–

रोयल एकेडेमीको प्रवचन कक्ष स्रोताहरूबाट भरिभराउ छ –रङको परावर्तन क्रियाबारे टर्नर प्रवचन दिँदै छन् । छोराको प्रवचन सुन्नका लागि अग्रिम पङ्क्तिमा उनका पिता पनि बसेका छन् ।

“पारदर्शी वस्तुसँग आफ्नो मौलिक रङ हुँदैन । अगाडिको वस्तुमा जुन रङ छ, त्यसले त्यही रङलाई ग्रहण गर्छ । प्रायः पानीमा पनि रङ हुन्छ तर यसले आफ्नो परावर्तन होस् वा अपर्वतन, दुवैलाई कुनै रङ प्रदान गर्दैन ।” टर्नर बोल्दै जान्छन्– “सफा ऐनाको ‘टोन’ आकाश जस्तै हुन्छ र यसमा रङ बढ्ने बित्तिकै यसले आफ्नै ‘डलनेस’ (सुस्तता) का कारण प्रकृतिका सबै रङलाई ध्वस्त पारिदिन्छ । यसविपरीत पानीमा वस्तुमा निहित रङको परावर्तन बढी सम्भाव्य हुन्छ । सङ्क्षेपमा भन्ने हो भने तिनका प्रभाव नै तिनका गुण हुन् । एउटाले तत्कालको किरणलाई पछाडि पठाइदिन्छ, अर्कोले त्यसलाई सोस्छ । पानी पारदर्शी हो भने ऐना अपारदर्शी हो । यस अवस्थामा ती दुई कसरी एउटै हुन सक्ला र ?”

प्रवचन चल्दै गर्दा टर्नरका पितालाई थामिनसक्नु खोकी लाग्छ– उनको अन्तिम क्षण नजिकिँदै छ । 

टर्नर वेश्यालय पुगेका छन्– इलाइजा नाम गरेकी युवती उनलाई सुपुर्द गरिन्छ । युवतीलाई उनी पलङमा उत्तानो पल्टिन भन्छन् । उनी युवतीलाई हेर्दै स्केच गर्न थाल्छन् । 

“तिमी कति वर्षकी भयौ ?” युवतीलाई उनी सोध्छन् ।

“बाइस ।” 

युवतीको जवाफका कारण हो वा कुनै अमूर्त संवेगका कारण, एक्कासि टर्नर भक्कानिँदै रुन्छन् ।

सन् १८३२– रोएल एकेडेमीको वार्षिक प्रदर्शनीको तयारी जोडतोडका साथ चल्दै छ । कतिपय कलाकारहरू प्रदर्शनी कक्षभित्र भित्तामा झुन्डिसकेका आआफ्ना चित्र रचनामा अभैm ‘टच’ दिँदै छन् । समकालीन अर्का बेजोड चित्रकार जोन कन्सटेबल पनि आफ्नो रचनामा काम गर्दै छन् । उनको चित्र रचनासँगै टर्नरको ‘हेल्भोएट्स्लुइस’ शीर्षकको ‘सिस्केप’ (समुद्री दृश्यचित्र) झुन्ड्याइएको छ । 

टर्नरलाई कन्सटेबलको चड्का रङविन्यासयुक्त रचनाले आफ्नो मलिन रङसङ्गतिलाई खाइदिएको प्रतीत हुन्छ । तत्क्षण उनी आफ्नो रचनामा रातो रङको धब्बा पोत्छन्– धब्बाले समुद्रको सतहमा तैरिरहेको कुनै आकृतिको स्वरूप लिन्छ । त्यहाँ उपस्थित समकालीन कलाकारहरू अचम्भित हुन्छन्– टर्नरको चलाखीलाई ताली बजाएर प्रशंसा गर्छन् ।

टर्नरको चर्तिकलादेखि उद्वेलित भएर हो वा प्रभावित भएर हो, कन्सटेबल कराउँछन्– “ऊ (टर्नर) आयो, अनि गोली ठोकेर गयो !”

टर्नरका चित्रकार मित्र बेन्जामिन हाइडेन आर्थिक सङ्कटका कारण घोर तनावमा छन्– श्रीमती गर्भवती छिन्– ऋणमा चुर्लुम्म डुबेका छन् । उनी टर्नरसँग एक सय पाउन्ड पैँचो माग्छन् । टर्नर आपूmले पचास पाउन्ड मात्र दिनसक्ने बताउँछन् । अन्यमनस्क भावसहित हाइडेन पचास पाउन्डमै चित्त बुझाउँछन् ।

केही समयपछि हाइडेन टर्नरलाई दस पाउन्ड चुक्ता गर्न चाहन्छन् । उनका पाँच जना सन्तानले मृत्यु वरण गरिसकेका छन्– श्रीमती रोगाहा छिन् । हाइडेनको अवस्था देखेर रुखो तर कारुणिक स्वभावका टर्नर द्रवित हुन्छन् । उनी मित्रलाई ऋण माफ गर्दिन्छन् । 

जोसेफ जियोट नाम गरेका धनाढ्य कलम उत्पादक एवम् कला सङ्ग्रहकर्ता टर्नरको स्टुडियो आउँछन् । उनी टर्नरका ड्रइङदेखि वाटरकलर पेन्टिङलगायत अन्य सबै चित्रका लागि एकमुष्ट एक लाख पाउन्ड ‘अफर’ गर्छन् । उनको प्रस्तावलाई टर्नर ठाडो अस्वीकार गर्छन् । 

चित्रकार र धनाढ्य कला सङ्ग्रहकर्ताबीचको संवाद–  

“महोदय, तपाईंको प्रस्तावका लागि धन्यवाद ! परन्तु यो प्रस्ताव मलाई स्वीकार्य छैन ।”

“किन ?”

“किनभने आफ्ना सम्पूर्ण कामहरू मैले कसैलाई दान गरिसकेको छु ।”

“कसलाई ?”

“ब्रिटिस राज्यलाई ।”

“अनि यसबापत राज्यले तपाईंलाई कति रकम दिँदै छ त ?”

“कति पनि दिँदैन ।”

“कति पनि दिँदैन ?!”

“म आफ्ना कामहरू सदाका लागि एउटै थलोमा एकसाथ रहून् भन्ने चाहन्छु । तिनलाई आम जनताले हेर्न पाऊन् । बस्, मलाई यति भए पुग्छ ।”

युवा लेखक एवम् कला समीक्षक जोन रस्किनको निवास– रस्किन, उनका पिता र मातालगायत चित्रकारहरू टर्नर, क्याप्टेन जर्ज जोन्स, क्लार्कसोन स्ट्यानफिल्ड र डेभिड रबर्टस्बीच वार्तालाप चल्दै छ । रस्किन निवासको बैठककोठा पस्नुअगाडिको भित्तामा टर्नरको ‘स्लेभ्स, थ्रोइङ ओभरबोर्ड दि डेड एन्ड डाइङ– टाइफुन कमिङ अन’ झुन्ड्याइएको छ । 

उनीहरूको वार्तालापको विषय रहेको छ– ‘पिक्टोरियल आर्ट’मा सामुद्रिक दृश्यको अङ्कन । 

सत्रौँ शताब्दीका फ्रान्सेली भू–दृश्य चित्रकार क्लोद लोरेँको चर्चाबाट रस्किन कुराकानी थाल्छन्– “आधुनिक समयको परिप्रेक्ष्यमा मूल्याङ्कन गर्ने हो भने क्लोदका समुद्री दृश्यचित्रहरू निरस प्रतीत हुन्छन् । उनको कामले आजका चित्रकारहरूलाई उत्प्रेरित गर्ने क्षमता राख्छन् भन्नेमा मलाई शङ्का लाग्छ ।”

रस्किनको भनाइप्रति टर्नर प्रतिवाद गरिहाल्छन्– “क्लोद आफ्नो समयका महान् चित्रकार थिए ।”

“किन्तु अब त्यो उहिलेको कुरा भइसक्यो । टर्नर महोदय, तत्क्षणको दृश्यलाई सपष्टसँग समात्न सक्षम तपाईंको आधुनिक मास्टरपिसले मलाई बढी छुन्छ । मेरो घरको भित्तामा तपाईंको ‘स्लेभ्स, थ्रोइङ ओभरबोर्ड दी डेड एन्ड डाइङ– टाइफुन कमिङ अन’ झुन्डिएको छ, यसलाई म आफ्नो अहोभाग्य ठान्छु ।” यो चित्र रचनाको शीर्षकलाई छोट्याएर अहिले ‘दि स्लेभ सिप’ राखिएको छ । हरेक बिहान म ब्रेकफास्टका लागि जाँदा यसले मलाई स्वागत गर्छ । प्रत्येक पल यो चित्र हेर्दा समुद्रको त्यो दृश्य र त्यहाँ मर्नका लागि मिल्काइएका ती निरीह र अभागी हब्सी दासहरूका आकृतिले मेरो मुटुको धड्कन बढाइदिन्छ । यसविपरीत क्लोदका कामले मलाई त्यस्तो कुनै अनुभूति दिँदैन ।”

रस्किनको तर्कदेखि क्याप्टेन जोन्स रुष्ट हुँदै कराउँछन् –“यो त क्लोदप्रतिको ठूलो अपहेलना हो !”

“क्लोद लोरेँ ‘जिनियस’ थिए,” जोन्सको भनाइप्रति टर्नर सही थाप्छन् ।

त्यो गरम वार्तालापको पटाक्षेप गर्दै युवा चित्रकार डेभिड रबर्टस् बोल्छन्, “कुनै चित्रकारका समुद्री चित्र रचनाबारे केवल अड्कलबाजी गर्नु र त्यसमा दृश्यमान तìवलाई बुझ्नु, महसुस गर्नु तथा तिनलाई व्याख्या गर्नु नितान्त फरक कुरा हुन् ।”

‘मिस्टर टर्नर’मा छायाङ्कित उल्लिखित दृश्य र संवादहरूले गम्भीर प्रकृतिका सिनेमाप्रति अभिरुचि राख्ने, र सिनेमा बुझ्नेहरूलाई निकै प्रभावित पार्ने सामथ्र्य राख्छन् –कलाकार तथा कला अनुरागीहरूका लागि त झन् कुरै भएन ।

–सन् १८४३ देखि सन् १८६० अवधिमा जोन रस्किनको ‘मोडर्न पेन्टर्स’ शीर्षकमा पहिलो भागदेखि पाँचौँ भागसम्म गरी पाँच थान पुस्तक प्रकाशित भएका थिए । पुस्तकको पहिलो भागको लेखन थालिँदा उनी चौबीस वर्षका थिए । ‘ल्यान्डस्केप आर्ट’ का सन्दर्भमा पुराना मास्टरहरूको काम ‘पिक्चरिस्क’ (सुरम्य) त छन् तर समकालीन चित्रकारहरूका काम बढी उत्कृष्ट छन् भन्ने तर्कलाई उनले आफ्नो लेखाइद्वारा स्थापित गरेका थिए । पहिलो भागको पुस्तकमा उनले टर्नरलाई ‘आधुनिक चित्रकारमध्ये शीर्षस्थ चित्रकार’को संज्ञा दिएका थिए । रस्किनको धारणाअनुसार प्रकृतिको सूक्ष्म अङ्कन गर्ने परम्परालाई टर्नरले त्यागेका थिए र उनले आपूmमा प्रकृतिको शक्ति र वातावरणीय प्रभावलाई मनन् गर्ने गहन अन्तरदृष्टिको विकास गरेका थिए  

........

प्रसङ्गवश निकै वर्षअगाडि दी नेसनल ग्यालरी, लन्डनमा टर्नरका चित्र रचनाहरूसँग साक्षात्कारको क्षण अहिले स्मरण भइरहेको छ । हुन त त्यस ग्यालरीको सङ्ग्रहमा टर्नरका एकसे एक ‘मास्टरपिस’ रहेका छन् । अपितु तीमध्ये ‘रेन, स्टिम, एन्ड स्पिड– दी ग्रेट वेस्टर्न रेल्वे’ देखि औधी मोहित भएको थिएँ ।

कुनै ग्रामीण भेगमा वर्षालाई छिचोल्दै परदेखि आउँदै गरेको रेल — रेल, पुल र संरचनाका अन्य अवयवहरू सबै धमिलो — मलिन रङसङगति र अचम्मको वातावरणीय प्रभाव — स्वच्छन्द र स्वःस्पूmर्त तुलिका सञ्चालन–चित्रकारले एकदम सामान्य विषयवस्तु, अझ त्यसको सारतत्वलाई (झन्डै अमूर्त स्वरूपमा) प्रस्तुत गरिदिएका छन् । वास्तवमा टर्नरको यस रचनालाई प्रकाश, रङ र विषम मौसमका नाटकीय प्रभावको अद्भूत तर सफल प्रयोग मान्न कर लाग्छ । ‘ल्यान्डस्केप पेन्टिङ’का सन्दर्भमा यो विशिष्ट क्षमता टर्नरका अतिरिक्त उनका समकालीन अरू कोही पनि चित्रकारमा थिएन भनेमा अतिशयोक्ति नहोला । 

टर्नर रोमान्टिसिज्म (स्वच्छन्दतावाद) देखि प्रभावित चित्रकार थिए । स्वच्छन्दतावादी कलाकारहरू प्रकृतिलाई सदा परिवर्तनीय, अनपेक्षित तथा मानवभन्दा अझ प्रबल तर अपृथक् रूपमा लिन्थे । उनीहरू प्रकृतिका अनेक पक्षहरूले मानव मनस्थितिका विविध स्वरूपसँग तादात्म्य राख्छन् भन्ने विश्वास राख्थे । अतः स्वच्छन्दतावादी चित्रकारहरूका लागि प्रकृति एकदम उत्तेजक, अद्भूत एवम् मनोहारी विषय थियो । टर्नरले पनि यही भावनाबाट अभिप्रेरित भएर प्रकृतिलाई आफ्ना अनुभूति र संवेगसहित अङ्कन गरेका थिए । 

भू–दृश्य तथा समुद्री दृश्यहरू टर्नरका लागि जीवनभरि प्रिय विषयवस्तु रहेका थिए । उनका दृश्य चित्र रचनाहरूले दर्शकलाई सतही यथार्थपरक प्रकृतिदेखि अझ पर काव्य र कल्पनाको अनौठो उडानमा लगिदिन्छन् । उनका चित्र रचनाहरूमा देखिने प्रकाश, रङ र विषम मौसमसम्बन्धी प्रयोगका कारण तिनलाई इम्प्रेसनिज्म (प्रभाववाद), एब्स्ट्र्याक्ट एक्सप्रेसनिज्म (अमूर्त अभिव्यञ्जनावाद) जस्ता उत्तरवर्ती आधुनिक कला आन्दोलनहरूको प्रेरणास्रोत मानिन्छ । तत्कालीन कला जगत्मा धार्मिक वा ऐतिहासिक विषयमा आधारित चित्र रचनाका अगाडि भू–दृश्य चित्र रचनालाई गौण महìव दिइने परम्परालाई उनले भङ्ग गरिदिएका थिए ।

टर्नरका सम्पूर्ण काममध्ये सर्वाधिक कामहरू दी नेसनल ग्यालरीको सङ्ग्रहमा रहेका छन् । तिनमा झन्डै तीन सय थान तैलचित्र, करिब तीस हजार थान ड्रइङ तथा पानीरङ्गहरू करिब र तीन सयवटा स्केचबुक समटिएका छन् । ती सबै काम टर्नरको इच्छापत्रमा उल्लेख भएअनुसार उनको मरणोपरान्त ग्यालरीलाई हस्तान्तरण गरिएको थियो । 

.....

कलाकारलाई राज्यले गर्ने सम्मानका सन्दर्भमा एउटा गजब प्रसङ्ग– 

सन् २०२० को फेब्रुअरी  महिनामा दी ब्याङ्क अफ इङ्ल्यान्डले ‘दी फाइटिङ टेमेरारे’ (युद्धरत ब्रिटिस नौसेनाका जहाजहरू) शीर्षकको टर्नरको चित्र रचनाको पृष्ठभूमिअगाडि उनकै पोट्रेट अङ्कित बीस पाउन्डको ब्याङ्कनोट मुद्रण गरी प्रचलनमा ल्याएको थियो । पाश्चात्य कलाको इतिहासमा ब्रिटिस भू–दृश्य चित्र विधालाई शिखरमा पु-याएका जोसेफ मालोर्ड विलियम टर्नर (इ.सं. १७७५–१८५१) लाई राज्यले गरेको यस सम्मानदेखि इङ्ल्यान्डका मात्र होइनन्, विश्वभरिका कलाकारहरू प्रफुल्लित भएका छन् ।