• १६ चैत २०८०, शुक्रबार

पुँजी वृद्धि नगर्ने कम्पनीको कारोबार रोक्का हुने

blog

काठमाडौँ, साउन १९ गते । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले तोकेको समयसीमाभित्र पुँजी वृद्धि नगर्ने कम्पनीको कारोबार रोक्का गर्ने बताउनुभएको छ ।

राष्ट्रिय बीमा कम्पनीको बुधबार राजधानीमा आयोजित नवौँ वार्षिकोत्सव समारोहमा उहाँले तोकिएको समयसीमाभित्र तोकिएको पुँजी नपु-याउने सरकारी र निजी क्षेत्रको जुनसुकै कम्पनीलाई पनि कानुनी दायरामा ल्याउने उहाँले बताउनुभयो ।

कम्पनीले आफ्नो सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पु-याई बीमाको पहुँच र दायरा वृद्धि गर्न तथा बीमा बजारका नवीनतम अवसरलाई आत्मसात् गर्दै प्रतिस्पर्धात्मक एवं ग्राहकमुखी बीमा सेवा उपलब्ध गराउन उहाँको आग्रह थियो ।

अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले सरकारी स्वामित्वको एक मात्र निर्जीवन बीमा कम्पनीका रूपमा कम्पनीले आफ्नो विगतको कार्यप्रगतिको समीक्षा गर्दै थाती रहेका लेखा परीक्षण कार्यसम्पन्न गरी प्रचलित बीमासम्बन्धी कानुनको ऐन एवं बीमा नियमावलीको अधीनमा रही समयमै आफ्नो वित्तीय विवरण प्रकाशन गर्नुका साथै वित्तीय पारदर्शिता, बीमाको व्यावसायिकता, संस्थाको मर्यादा तथा गुणात्मक क्षमता बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल सर्भेयर एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकाल, नेपाल बीमक सङ्घका अध्यक्ष चङ्की क्षेत्री, कम्पनीका अध्यक्ष राजेश्वर ज्ञवाली, कम्पनीका सीईओ ज्ञानेन्द्रराज ओझालगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो । सो अवसरमा कम्पनीमा उत्कृष्ट व्यापार गर्ने अभिकर्ता हरिशरण सिवाकोटी, कान्ता शाह र सदीक्षा न्यौपानेलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट शाखाहरू जनकपुर, भक्तपुर र पाल्पालाई सम्मान गरिएको थियो ।

पूर्ण सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेड बुधबारदेखि नवौँ वर्षमा प्रवेश गरेको छ । सरकारी स्वामित्वमा ५५ वर्षअघि स्थापना भएर जीवन र निर्जीवन बीमाको कारोबार गर्दै राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा छुट्याएर २०७१ साउन १८ गतेदेखि यो कम्पनीका रूपमा सञ्चालन हुँदै आएको छ ।

२० वटा निर्जीवन बीमा कम्पनीमध्ये चौथो ठूलो यो कम्पनीले गत आर्थिक वर्ष निर्जीवन बीमामा प्रिमियम सङ्कलनका हिसाबले झन्डै १५० प्रतिशतले बढोत्तरी गरेको छ । यो कम्पनीले आव २०७८/७९ मा २६४.७१ करोड रुपियाँ बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीमा अहिले नेपाल सरकारको ४७.५ प्रतिशत, कर्मचारी सञ्चय कोषको २२ प्रतिशत, नेपाल बैङ्क लिमिटेडको १०.९६ प्रतिशत र सर्वसाधारणको १९.५४ प्रतिशत लगानी रहेको छ । 

सरकारले लिएको बीमासम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा प्रमुख सारथी तथा सहयोगीको भूमिका निर्वाह गर्दै आफ्ना कार्यक्रममार्फत सार्वजनिक सेवा प्रदान गर्नु र बीमाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझाले बताउनुभयो ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुभाष कोइरालाले हालसम्म नेपाल सरकार, बीमा समिति तथा नेपाल राष्ट्र बैङ्कले निर्दिष्ट गरेका क्षेत्रमा विभिन्न बैङ्क, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेन्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको बताउनुभयो ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कोइरालाले कम्पनीले राष्ट्रिय गौरवका परियोजनाको पनि बीमा गरेको बताउनुभयो । राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेश द्रुत मार्ग आयोजना, अपर तामाकोसी जलविद्युत् आयोजना, अरुण तेस्रो जलविद्युत् आयोजना, नेपाल वायुसेवा निगम, भेरी बबई आयोजना, नेपाल राष्ट्र बैङ्कको नगद कोष, नेपाल आयल निगम, निजामती कर्मचारीको दुर्घटना बीमा, राष्ट्रिय जनगणनाको अवधिमा परिचालन गरिएका गणकको पनि हामीले नै दुर्घटना बीमा गरेको उहाँले बताउनुभयो । यस्तै निर्वाचनका बेलामा खटिने सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मीको पनि दुर्घटना बीमा गरेको उहाँले बताउनुभयो ।