• ८ जेठ २०८१, मङ्गलबार

भुक्तभोगी स्रष्टाको यात्रा अनुभव

blog

पवन आलोक नेपाली साहित्यका स्थापित सर्जक हुन् । कथा, कविता र निबन्धका उनका उम्दा रचनाहरूले धेरै पाठकको मन जितेको छ । पछिल्लो समय उनको नयाँ कृति ‘पहाड र लमतन्न समुद्र’मा नेपालका पहाडी जीवन र पश्चिमी देशका समाजलाई चित्रण गरिएका निजात्मक अनुभूतिका नैबन्धिक शैलीमा लेखिएका १५ वटा नियात्रा छन् । 

किताबको नाम मीठो र आकर्षक छ । भित्रका नियात्राहरूका शीर्षक पनि रोचक छन् । पवनको लेखन शैली पनि सरल र सहज छ । वाक्य विन्यास राम्रो छ । उनले प्रयोग गर्ने शब्द र विम्बहरू भिन्न छन् तर परिचित छन् । उनी अनुभूतिलाई दृश्यहरूसँग जोड्छन् र परिवेशलाई देशको अवस्थासँग दाँज्छन् । 

लेखनको अलावा साहित्यिक गतिविधि र यात्रामा रमाउने पवनले यस किताबमा आफूले फरक फरक समयमा देशभित्र र देशबाहिर घुम्दाका अनुभव समेटेका छन् । रमाइलो के छ भने एकै ठाउँको पनि समय क्रममा बदलिएको परिवेश र अनुभूतिलाई उनले तुलना गरेका छन् र पठनीय बनाएका छन् । उनी आफ्नो देश र विदेशको प्राकृतिक, सामाजिक, सांस्कृतिक सम्पदाहरूको अवस्थिति र तिनले देशको अर्थतन्त्रमा दिएको उपलब्धि र सम्भावनालाई खोज्छन् । एउटा लेखक नीतिगत तहमा ओर्लिन्छन् र आफ्नो देशको प्राकृतिक छटालाई आर्थिक उपार्जनमा जोड्न सक्दो प्रयास गर्छन् । 

नेपाली समाजको आनीबानी र मानिसको अन्तरमनका पीडालाई लेखेर कवितामा स्थापित पवनले नियात्रामा विदेशमा मातृभूमिलाई सम्झेर भावविह्वल बनेका छन् । देशका भौगोलिक विकटता र विकासमा देखिएको सुस्तताले पवन संवेदित छन् । उनी चाहन्छन् पश्चिमा देशजस्तै आधुनिक सुविधासम्पन्न विकास देशभित्र होस् । तर राजनीतिक अस्थिरता र भ्रष्टाचारले गाँजेको हाम्रो समाज विकासमा सधैँ पछाडि सर्छ । यसले पवनलाई द्रवित बनाएको छ । र उनी शब्द शब्दमा पोखिएका छन् । 

पवन नेपाली समाजका भुक्तभोगी स्रष्टा हुन् । उनलाई देशको सामथ्र्य र हैसियत थाहा छ । यहाँको अथाह सम्भावना पनि देखेका छन् । अनि विश्वजगत्को अत्याधुनिक विकासको स्वरूप पनि घुमेका छन् । नियात्रा पढिरहँदा पवनको विज्ञता र भुक्तभोगीको अनुभूतिलाई एक साथ पढ्न सकिन्छ । 

पहाडका प्रेमिल पाइला, उहानका दृश्य विम्बहरूमा, विश्वविख्यात कविको गाउँमा, स्वैरकाल्पनिक लाग्ने एउटा भूस्वर्गमा कृतिका अब्बल नियात्रा हुन् । ‘छिचोल्दैछिचोल्दै घुम्तीहरू’ पढ्दा पाठक आफँै पवन बन्न पुग्छन् भने ‘गुराँसको राजधानीतिर’ले देशको अपार सौन्दर्यले भरिएको तीनजुरे मिल्के जान पाठकलाई हौस्याउँछ । ‘बाघको खोरभित्र पस्दा’ले रोमाञ्चकता थप्छ भने ‘सपनाहरूको सहरमा’ले पाठकलाई प्यारिसको वैभव देखाउँछ । 

पुराना र अनुभवी सर्जकको भिन्न समयमा दोहो-याएर गरिएका यात्रा अनुभव रुचिकर छन् । पवनको दाँज्ने शैली बेजोड छ । तुलना गर्दा आफूभित्रको उनको चाह मात्र बाहिरिँदैन, पाठकले खोजेको समाज र विकास पनि झल्किन्छ । 

 आलोकले कृतिभित्रका प्रत्येक नियात्रामा आफूलाई पोखेका छन् । आफ्नो समयलाई लेखेका छन् । आफ्ना समकालीन सन्दर्भ र उपलब्धिलाई समेटेका छन् । यो पवनले बाँचेको समय र सन्दर्भको अभिलेखीकरण पनि हो । उनको पुस्ताले हामी र हामीपछिका पुस्ताका लागि दिएको समयको दस्तावेज पनि हो । आफूसँगसँगै पाठकलाई घुमाउन सिपालु पवनले नियात्राको फरक र पठनीय कृति दिएका छन् । उनले नेपाली नियात्रा साहित्यलाई समृद्ध बनाउन मद्दत पु¥याउने अपेक्षा गर्न सकिन्छ । 

नियात्रा कृति पढ्दा म रोमाञ्चित भएँ, पवनका रचनाहरूले ताने । म उनीसँगै यात्रा गर्न उत्साहित बनेँ र उनका अनुभूतिहरूले छपक्कै भिजेँ । á

कृति : पहाड र लमतन्न समुद्र 

विधा : नियात्रा 

लेखक : पवन आलोक 

प्रकाशक : साझा प्रकाशन

प्रकाशन : २०७८ 

पृष्ठ : ९२

मूल्य : २०५ रुपियाँ ।