• ४ साउन २०८१, शुक्रबार

बढ्यो बाढीपहिरोको समस्या

blog

काठमाडौँ, साउन १७ गते  । लगातार वर्षासँगै आएको बाढीपहिरोले देशका धेरै ठाउँमा जनधनको क्षति भएको छ। गृह मन्त्रालयका अनुसार एक महिनायता २९ जनाको मृत्यु भइसकेको छ भने दुई जना अझै बेपत्ता छन् । मनसुनजन्य विपत्मा परी ३६ जना घाइते भएका छन्। दुई हजार ५८८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । 

कास्कीमा पहिरोले घर पुरिँदा सोमबार बिहान एक जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्। मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ स्थित ऋषिवन क्षेत्रमा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव सशस्त्र प्रहरीले फेला पारेको छ। राप्तीको बाढी पस्दा पर्यटकीय नगरी सौराहाको केही होटल डुबानमा परेका छन्। जसले गर्दा होटल व्यवसाय सञ्चालनमा बाधा पुगिरहेको छ। उता कोसी नदीमा आएको बाढीले सप्तरी जिल्लातिर खेतीयोग्य जमिन कटान भएको छ भने श्रीलङ्का टापु डुबानमा पर्ने सम्भावना बढेको छ ।

घर पुरिँदा एकको मृत्यु

पोखरा समाचारदाता रमेश पौडेलका अनुसार अविरल वर्षापछि पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घरमाथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको घर भत्किएको छ ।

एक तलाको कच्ची घरको कोठा भत्किँदा भाडामा बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो। सोही घटनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ भुर्जुङ खोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते हुनुभएको छ । 

केही दिनदेखि लगातार वर्षाका कारण पोखराका विभिन्न ठाउँमा पहिरो खसेको र धेरै ठाउँ डुबानमा परेको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्रका करिब १५० घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो।

पोखरामा ढल निकासको राम्रो प्रवन्ध नहुँदा अधिकांश ठाउँ बर्सेनि डुबानमा पर्दै आएका छन्। पोखराको सैनिक बस्तीको सडकमै खोला बगेको छ। सबैतिरबाट एकै ठाउँमा भल आएपछि सडक खोलोमा परिणत भएको हो। 

३० होटल डुबानमा

चितवन समाचारदाता शालिग्राम नेपालका अनुसार रत्ननगर नगरपालिका ८ का ३० वटा होटल डुबानमा परेका छन्। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बूढी राप्ती नदीको बाढी पस्दा रिसोर्ट तथा होटल डुबानमा परेको बताउनुभयो। बाढी पस्न थालेपछि होटलमा रहेका सामान सुरक्षित स्थानमा सारिएको छ। बाढी दिउँसो आएका कारण मानवीय र भौतिक क्षति नभएको उहाँले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सौराहाको नदी तटीय क्षेत्रमा निर्माण गरेका होटल तथा रिसोर्टमा पानी पसेको जानकारी दिनुभयो। खोलाको जग्गामा होटल तथा रिसोर्ट निर्माण गरेकाण्कारण बाढी पसेको उहाँले बताउनुभयो।