लिम्बूहरूको विवाह संस्कार नेपालका अन्य समुदायको भन्दा फरक छ । नेपालका अधिकांश समुदायको विवाह हुँदा पहिले दुलाहा पक्ष जन्ती लिएर दुलहीको घरमा जाने र त्यहाँ भव्य रूपमा विवाह गरेर आफ्नो घरमा ल्याई दुलही भित्र्याउने चलन छ ।
तर लिम्बूहरूमा त्यस्तो परम्परा छैन । लिम्बूहरूमा फेदाङ्वाले केटी माग्ने दिनको साइत निकाल्छन् । त्यसपछि लमीको सहयोगमा कुटुम्ब खोज्न थालिन्छ । कुटुम्ब फेला परेपछि लमीलाई अगाडि लगाइन्छ । तर कुटुम्बसँग चार पुस्तासम्म साइनो सम्बन्ध पर्नेसँग भने लिम्बूहरूमा विवाह चल्दैन ।
कुटुम्ब फेला परेपछि लमीलाई अगाडि सारिन्छ । केटा र उनका साथीहरू दुई बोतल रक्सी लिएर केटी माग्न जान्छन् । सबै कुरामा चित्त बुझे केटीको बाबुले सुनौली माग्छन् । छोरी दिइएबापत लिइने रकमलाई सुनौली भनिन्छ । यसलाई सोतरित भनिन्छ ।
लिम्बूहरूमा दुलही पक्षले सोतरितमा गहनाको रूपमा सुन चाँदीको गहनाका साथै नगद लिने चलन छ । आफूले दस महिना गर्भमा बोकेर जन्माई हुर्काएको बढाएको सन्तान अरूलाई दिनुपर्दा सोको क्षतिपूर्तिका रूपमा सोतरित लिइएको हो भन्ने मान्यता रहेको पाइन्छ । सोतरितलाई विवाह जीवन बीमाको प्राचीन चलनको रूपमा पनि लिन सकिन्छ । छोरीलाई सौता हालेर वा परित्यक्त भएर लोग्नेबाट कदाचित अपहेलित हुनुपर्दा गहना पाएको यस्ता सुन चाँदी र नगद तथा वस्तुले उसलाई बाँकी जीवन धान्न ठूलो सहारा दिन्छ (वैरागी काइँला, ‘समन्वेषण’– २०७५ः१३१–१३२) ।
यी सबै प्रक्रिया पूरा भइसकेपछि बाबुले आफ्नी छोरीलाई दुलही बनाई पठाउने स्वीकृति दिन्छ । दुलाहाले आफ्नी भावी पत्नीका मान्यजनहरूलाई ढोग गरिसकेपछि विवाहको दिन निश्चित गरिन्छ । अनि दुलाहाले विवाहका लागि आफ्नी दुलहीलाई घरमा ल्याउने चलन लिम्बू समाजमा रहिआएको छ । लिम्बू समाजमा पहिले केटाको घरमा भव्यतापूर्वक विवाह हुन्छ ।
लिम्बूहरूमा प्रचलित ‘सुहाफेमा लाहादाङ्मा’ मुन्धुमअनुसार परापूर्वकालमा चेली–माइतीबीच यौनसम्बन्ध वर्जित थिएन । तर एक दिन लाहादाङ्माले रिसले कुकुरलाई कुचोले हिर्काइदिइन् । त्यसपछि कुकुर न्याय माग्नलाई कराउँदै जाँदा उसले चेली माइतीबीचको सम्बन्धको बारेमा उदाङ्ग गर्दै ‘चेली माइती बिग्रिए है, यिनीहरूले धर्तीले फोहोर बनाए है’ भनेर हल्ला फिँजाइदिन्छ । त्यो कुरा चरा चुरुङ्गी, रुखपात सबैले सुन्छन् । सबैले यसमा गुनासो गर्छन् ।
त्यसपछि लिम्बू समाजमा विवाहसम्बन्धी एउटा कडा नियम बन्यो । लिम्बू मुन्धुमअनुसार प्रथम धार्मिक नेता येहाङले विवाहसम्बन्धी नियम बनाएका हुन् । यसअनुसार बाबु र छोरी, आमा र छोराबीच तथा चेली र माइतिबीच विवाह निषेध गरियो । यस्तै सौतेनी चेली र माइतीबीच, काका, मामा, काकी, माइजू, फुपू, सानीआमा तथा ठूली आमाबीचका छोराछोरीको विवाह निषेध गरियो । बाबुतिरको रगतको नाता तोड्न नहुने, आमातिरको सम्बन्ध चार पुस्तापछि मात्र खुला गर्न सकिने नियम बन्यो (इमानसिंह चेम्जोङ, ‘किराँत इतिहास र संस्कृति’–२०६३ः२३) ।
यस्तो नियम आएपछि लिम्बूहरूमा चेली माइतीबीच फूल साटासाट पनि गर्नुहुँदैन भन्ने मान्यता रहिआएको छ ।
यसरी दुलाहा र दुलही पक्षमा हाडनातामा कुनै साइनो सम्बन्ध नभएको अवस्थामा दुईबीचको विवाह निश्चित गरिन्छ ।
लिम्बूहरूको विवाहमा दुलहीलाई माइतीबाट अघिल्लै दिन ल्याएर एउटा अर्कै घरमा राखिन्छ । दुलहीसित उनका केटी साथीहरूको एक हुल आएका हुन्छन् । उनीहरूलाई ‘मेकेसामा’ (लोकन्दी) भनिन्छ । साथमा दुई जना माइती पनि आएका हुन्छन् । लोकन्दीले दुलहीलाई सिँगार्छन् । लिम्बूहरूको विवाहमा च्याब्रुङ बज्छ । नौमती बाजा घन्कन्छ । जोर जोर बन्दुक पड्काइन्छ । त्यसपछि दुलाहा आफ्ना साथीहरूका साथ जहाँ दुलहीलाई ल्याएर राखिएको छ, त्यहाँ गएर दुलही ल्याई सेतो कपडा बिछ्याएर त्यसैमाथि हिँड्न लगाई आगनमा भव्य स्वागत गर्दै घरमा भिœयाएपछि मुन्धुमी प्रक्रिया सुरु हुन्छ । यस क्रममा फेदाङ्वाले मुन्धुम फलाक्दै विवाहको कर्म सम्पन्न गर्छ । यस क्रममा लगन गर्दा केराको पातमा कुखुराको भाले पोथीलाई डँडल्नुमा हिर्काएर रगत झार्नुपर्छ । त्यसपछि भोग दिइएको कुखुराको मासुको आठवटा टुक्रा दुलाहा दुलहीलाई खुवाइन्छ । यसलाई ‘सामुल्ला’ भनिन्छ । यसको साथमा कोदोको जाँडको तोङ्वा पनि दुलाहा दुलाहीलाई खुवाइन्छ । फेदाङ्वाले दुवै जना मिलेर बस्ने, एकअर्कामा हेलोहोचो नगर्ने, झगडा नगर्ने प्रतीज्ञा दुलाहालाई गराउँछ । दुलहीलाई पनि लोग्नेको शिर ठाडो बनाई इज्जतसाथ र बाँचुन्जेल मिलेर बस्ने प्रतीज्ञा गराइन्छ । यस्तो वाचा गराएर दुलहीको पोथाङ (पछ्यौरा) मा दुलाहाले एक चाँदीको मोहर बाँधिदिन्छ । यसलाई युप्पारुङ याङ भनिन्छ (शिवकुमार श्रेष्ठ, ‘लिम्बुवानको ऐतिहासिक अध्ययन’–२०६८ः९९–१००) । यसलाई कतै कतै ‘युप्पालुङ याङ’ पनि भनिन्छ ।
यसरी आफ्नो पछ्यौरामा बाँधिएको युप्पारुङ याङ वा युप्पालुङ याङ दुलहीले आफ्नो जीवनभर सुरक्षित राख्नुपर्छ । यदि दुलाहाले आफूले गरेको प्रतीज्ञा पालना नगरेको अवस्थामा दुलहीले त्यहीँ चाँदीको मोहरले दुलाहाको निधारमा हाने दुईबीचको सम्बन्धविच्छेद भएको मानिन्छ । त्यसैले युप्पारुङ याङ लिम्बूहरूको विवाहमा दुलाहा र दुलहीबीच भएको एक प्रकारको करार पनि हो ।
लिम्बू जातिमा विवाहको बेला मात्र होइन अन्य अवसर वा हाटबजारहरूमा भेट हुँदा कुनै युवकले आफूलाई मन परेकी युवतीको पछ्यौरामा यस्तो चाँदीका मोहर बाँधिदिए त्यसलाई विवाहको प्रस्तावका रूपमा पनि लिने चलन छ । युवाले चाँदीको मोहर आफ्नो पछ्यौरामा बाँधिदिँदा युवतीले कुनै विरोध वा असहमति जनाइनन् भने त्यो विवाह प्रस्ताव उनीबाट स्वीकृत भएको मानिन्छ । तर आफूलाई त्यो प्रस्ताव स्वीकार भएन भने त्यसलाई आफ्नो पछ्यौराबाट फुकालेर फ्याँकिदिन उनी स्वतन्त्र हुन्छिन् । यसरी पछ्यौरामा बाँधिएको युप्पारुङ याङ फुकालेर फ्याँकिदिइन् भने उनले विवाहको प्रस्ताव अस्वीकार गरेको ठहर्छ ।
युप्पारुङ याङसम्बन्धी रोचक कथा लिम्बू मुन्धुममा वर्णन गरिएको छ । जो यसप्रकार छः
फूलको सृष्टि कथाअनुसार धेरैअघि उमेरदार पुरुष र महिलाहरू इम्बिरी यङधङ (तमोर नदी)को दुई किनारामा बसेर प्रेमका गीत गाउँथे । जब हिउँदको समयमा हिमपात हुनथाल्थ्यो, तब नदीको दुई किनारामा रहेका बाँस नुहेर नदीमाथि पुलजस्तो बन्थ्यो । यसरी पुरुष र महिलाहरूबीच हिमपातबाट नुहेर बनेको बाँसको पुलबाट एकआपसमा भेट हुने अवसर पनि जुथ्र्यो ।
एकआपसमा भेट भएर उनीहरू ठूलो र फराकिलो सेतो ढुङ्गामा बसेर गाउँथे, नाच्थे । पिरती साटासाट गर्थे । त्यसै ढुङ्गालाई युप्पालुङ वा युप्पारुङ भन्न थालियो । जब एकआपसमा भेट भएर सेतो, चेप्टो र फराकिलो ढुङ्गामा बसेर ती वयस्क युवा युवतीहरू नाच्दै जाँदा, गाउँदै जाँदा माया बस्न पुग्यो । उनीहरूले विवाह गर्ने निर्णय गरे । तर यसका लागि उनीहरूका सर्वशक्तिमान तागेरा निङ्वाफुङ माङले उनीहरूको एकआपसको तौल बराबर हुनुपर्ने बताए । त्यसबेला पुरुष महिलाभन्दा वजनदार थिए । त्यसैले महिलालाई गहनापातले पूरापूर सजाएर पुरुषहरूले आफू समान बनाउनुपर्ने भयो । यसो गर्दा आफूभन्दा महिलाको वजन बढी भइदिँदा पुरुषहरूले खुकुरी, ढाल, तरबारले आफूलाई सुसज्जित बनाउनुप¥यो । यसरी एकआपसमा सन्तुलित बन्नका लागि पुरुषले महिलाको पछ्यौरामा चाँदीको मोहर बाँधिदिने चलन चल्यो । यसैलाई कतै युप्पारुङ याङ त कतै युप्पारुङ याङ भन्न थालियो (चैतन्य सुब्बा, ‘द कल्चर एक रिलिजन अफ लिम्बुज्’ सन् १९९८ः१२३) ।
यसबाट हेर्दा यो मुन्धुमको दर्शनले नारी र पुरुषबीच समानताको सिद्धान्तको झल्को पनि दिएको देखिन्छ ।