मामुली कविले मामुली कविता लेख्छन् अनि अचाक्ली भ्रम पाल्छन् र आत्मरतिमा रमाइरहन्छन् । खतरनाक त गैरमामुली कविहरू पो हुन्छन् । जसका कविता पनि उतिक्कै गैरमामुली हुन्छन् । एक त्यस्तै गैरमामुली कवि हुन् पाब्लो नेरुदा । उनले दुनियाँ छाडेको नै आज पाँच दशक पुग्न लागिसकेको छ र पनि उनको असर भने अझै यस्तो छ, मानौँ उनी अहिले पनि यही दुनियाँमा छन्, यतै कतै छन् ।
विश्वसाहित्यमा ‘पाब्लो नेरुदा’ एक अविस्मरणीय कविको नाम मात्र नभएर एउटा काव्यिक संस्थाकै नाम हो । एउटा विशिष्ट काव्यकारिताको मुहान पनि हो । शिल्पगत वैशिष्ट्य र भावानात्मक संवेदनशीलताले कवितालाई बेजोड र मर्मभेदी बनाएर विश्वका आम पाठकलाई नेरुदाले आकर्षित गरेका थिए । पाठकले जब नेरुदाका कविताहरू पढ्थे तब उनका कविताद्वारा निर्मित हिरासतमा ती पाठक आफैँ कैद हुन्थे वा भनौँ नेरुदाका कविताले पाठकलाई प्रेमपूर्वक गिरफ्तार गर्न सक्थे । अहिले पनि नेरुदाका कविता किताब सिरानमा राखेर कुनै भर्खरको प्रेमीले आफ्नी प्रेमिकाको प्रेमपत्र पढेजस्तै गरी पढ्ने पाठक हज्जाराँै–लाखौँ छन् ।
विश्वका सर्वाधिक पाठकमाथि दरिलो पकड जमाइरहेका नेरुदा चिलीका कवि मात्रै नभएर पत्रकार, कूटनीतिज्ञ, आस्थाका कारण वर्षौं निर्वासित राजनीतिक शरणार्थी तथा राष्ट्रपतिका उम्मेदवारसम्म थिए । दोस्रो विश्वयुद्ध समाप्तिपछिको शीतकालीन समयमा शब्दको अस्त्र लिएर मानवता विरोधी तानाशाही शासन, साम्राज्यवाद तथा वैदेशिक हस्तक्षेपका विरुद्ध उभिएका महान् योद्धा पनि थिए । प्रसिद्ध छापामार नेता चे ग्वेभाराले सशस्त्र सङ्घर्ष गरिरहेका बेला बोलिभियाको जङ्गलमा तिनै नेरुदाका कविताका किताबहरू बोकेका थिए । चेले आफ्नो डायरीमा उद्धरण गरेका एक मात्र कवि पनि उनै नेरुदा नै थिए । नेरुदाका नायक पनि चेजस्तै विद्रोही थिए ।
नेरुदाको जन्म चिलीको पराल भन्ने ठाउँमा सन् १९०४ मा भएको थियो । उनका बाबु डन जोसे डेल कारमेन रेलका मिस्त्री थिए । आमा रोसा बोसाल्तो द रेइस एक स्कुलकी शिक्षिका थिइन् । जन्मिएको एक महिनामै नेरुदाले आमालाई गुमाएका थिए । नेरुदाका बाबुले त्रिनिदाद कान्दिया मारवेर्डेसित दास्रो विवाह गरेका थिए । सौतेनी आमाबाट उनले बिनाभेदभाव अपार माया पाए । नेरुदाले आफ्नी कान्छी आमाको बारेमा लेखेका छन्, ‘सौतेनी आमा समर्पित र स्नेही थिइन् साथै ग्रामीण महिलामा झैँ उनीसित विनोदी स्वभाव, लगनशीलता र दया पनि थियो ।’ नेरुदाले दस वर्षको उमेरमा पहिलो कविताको पङ्क्ति तिनै आमाका लागि लेखेका थिए ।
एक समय नेरुदा बाबुआमासित तेमुकोमा बस्थे । नेरुदाले त्यहीको एउटा कन्या स्कुलमा प्रिन्सिपल बनेर आएकी ल्याटिन अमेरिकी कवयित्री ग्राबिएला मिस्त्राललाई भेटेका थिए । नेरुदालाई उनी औधी माया गर्थिन् र पढ्नलाई तोल्सतोय, दस्तोएभ्स्की र चेखबका पुस्तकहरू दिइरहन्थिन् । नेरुदाको साहित्यिक भोक कहिल्यै नअघाउने खालको थियो । उनी किताब हात लाग्ने बितिक्कै पढ्थे । तिनै मिस्त्राल पछि सन् १९२५ मा साहित्यतर्फको नोबेल पुरस्कारबाट सम्मानित भइन् ।
नेरुदाको खास नाम नेफ्ताली रिकार्डो रेयेस बासोल्तो हो । एक जना चेक लेखकको प्रभावमा नेरुदाले नाम फेरेको भन्ने पनि धेरैतिर उल्लेख छ । तर नेरुदाका जीवनीकार एडम फिनस्तिनले ‘पाब्लो नेरुदा ः अ प्यासन फर लाइफ’ मा त्यसको कारण अर्कै भएको उल्लेख गरेका छन् । नेरुदाका बाबुलाई कवितातिर लागेर छोराले पढाइ बिगार्छ भन्ने डर थियो । त्यसैले उनी नेरुदाले कविता लेखेका कपीहरू भेट्टाए च्यातिदिने, झ्यालबाट फालिदिने र जलाइदिने सम्म गर्थे । त्यही भएर बाबुको आँखा छल्न नेरुदाले छदम नामको सहारा लिएका थिए ।
सन् १९२० मा चिलीमा राजनीतिक सङ्कट उत्पन्न भएको थियो । कुशासन र चरम आर्थिक मन्दीको मार खेपिरहेका जनताका पक्षमा विद्यार्थीहरूले सडक तताएका थिए । त्यसलाई चिलीका तत्कालीन राष्ट्रपति जुआन लुइस सैनफ्युएन्टसले पाशविक र निर्मम तरिकाले दबाएका थिए । त्यसैक्रममा जोसे दोमिङ्गो गोमेज रोजास नाम गरेका एक जना छात्रलाई यतिसम्म शारीरिक यातना दिइएको थियो कि विचरा थेग्न नसकेर पागल भएरै मरे । नेरुदाले ती विद्यार्थीमाथि भएको अत्याचारको विरुद्धमा ‘उत्सवको गीत’ शीर्षकको कविता लेखे जुन सन् १९२१ मा विद्यार्थी सङ्गठनद्वारा आयोजित एक कविता प्रतियोगितामा प्रथम भयो । राजनीतिक उथलपुथलको त्यही समयमा नेरुदा तेमुकोको ‘कौतिन स्टुडेन्ट्स एसोसिएसन’को सचिव पनि भए ।
केही समयपछि नेरुदा अध्ययनका लागि चिलीको राजधानीस्थित ‘सान्टियागो विश्वविद्यालय’ गए । त्यहाँ पढाइसँगै उनी साहित्यिक गतिविधि र आन्दोलनहरूमा सक्रिय हुन थाले । त्यही छँदा उनको पहिलो कविता सङ्ग्रह प्रकाशित भयो । आफ्नो पहिलो कविता किताब प्रकाशित गर्न उनले केही फर्निचर, बाबुले दिएको घडी र आफ्नो सुट बेचेका थिए । त्यति गर्दा पनि पैसा पुगेन भनेर प्रेसले किताब नदिएपछि उनका सहृदयी समीक्षक तथा प्राध्यापक एलोनले बाँकी पैसा तिरिदिएका थिए । त्यसपछि आफ्नो पहिलो कविता किताब काँधमा बोकेर फाटेको जुत्ता लगाइरहेका नेरुदा कुनै युद्ध जितेको सिपाहीझैँ सडकमा हिडेका थिए । त्यसताका उनी सान्टियागोको एउटा गल्लीमा भाडाको कोठामा बस्थे ।
नेरुदाका जीवनका धेरै वर्षहरू भूमिगत र निर्वासित भएरै बिते । चिलीका तानाशाहा राष्ट्रपति मोक्कालेज विदेला नेरुदाको हत्या गराउन चाहन्थे । उनकै निर्दैशनमा सान्टियागोस्थित नेरुदाको घरमा आक्रमण तथा आगजनी गरिएको थियो । सन् १९४८ चिलीको उच्च अदालतले नेरुदाको सिनेटको पद अपदस्थ गर्दै उनलाई गिरफ्तार गर्न आदेश दियो । त्यसपछि नेरुदा भूमिगत हुँदै ग्वाटेमालाको राजदूतावासमा पुगे । त्यहाँ सांस्कृति दूत ग्वाटेमालाका उपन्यासकार भिगुएल एन्जेल अस्तुरियाज थिए । उनको र नेरुदाको अनुहार दुरुस्तै मिल्थ्यो । अस्तुरियाजले आफ्नो पार्सपोट उदारतापूर्वक नेरुदालाई दिए र युरोप पठाइदिए ।
नेरुदाको जीवनमा धेरै महिलाहरू आएका थिए । मातिल्दे उरुर्सिया पनि एक थिइन् । सन् १९५१ को निर्वासनकै समयमा उनीहरूको भेट भएको थियो भने सन् १९५२ मा इटालीमा उनीहरूले लुकिछिपी बिहे गरेका थिए । नेरुदा सन् १९५१ मा रोमबाट इटालीको नेपल्समा पुगेका थिए । नेपल्सका मेयरले नेरुदाको स्वागत गर्दै एउटा कार्यक्रम राखेका थिए । तर त्यही दिन बेलुका नेरुदा बसेको होटलमा प्रहरीले छापा मा¥यो र नेरुदाको सबै तलासी लियो । नेरुदाको कागजपत्र जफत गर्दै उनलाई तत्काल इटाली छाड्नुभन्यो । नेपल्समा यो कुरा रातारात डढेलोझैँ फैलियो । नेपल्सका बुद्धिजीवी, लेखक, पाठकलगायत नेरुदाका पक्षमा सडकमा उत्रिए । उनीहरूले नेरुदासित तीन महिनासम्म बस्न पाउने अनुमति भएको स्मरण गराउँदै उक्त दुव्र्यवहारको विज्ञप्ति निकालेर भत्र्सना गरे । त्यसपछि नेरुदा रोम हुँदै अन्य देश जान नेपल्सको रेलस्टेसन पुगे । जहाँ हजारौँको भीडले नेरुदाको पक्षमा नारा लगाइरहेको थियो । प्रहरीको कडा घेराबन्दीमा नेरुदाले रेल चढे र रोमतिर लागे । उता रोमको माहोल झन् अद्भुतको थियो । त्यहाँ पनि नेरुदाको असङ्ख्यक प्रशंसकहरू उपस्थित भइसकेका थिए । प्रहरी नियन्त्रणमा रहेका नेरुदालाई प्रशंसकहरूले खोसे र प्रहरीमाथि नै हमला गरे । स्थिति प्रहरी नियन्त्रणबाट बाहिर गएपछि एक उच्च प्रहरी अधिकृत आएर नेरुदा तीन महिना रोममा बस्न पाउने बताएपछि मात्रै भीड शान्त भयो । रोमवासीले नेपल्समा झैँ प्रहरीले दुःख नदियोस् भनेर नेरुदालाई सोसेलिस्ट सिनेटरको घरमा बस्ने व्यवस्था मिलाएका थिए ।
भारत स्वतन्त्र भएको केही समयपछि नेरुदा पेरिसबाट मुम्बाई आएका थिए । विमानस्थलमा भारतीय कस्टम तथा पुलिस अधिकारीहरूले आतङ्ककारीलाईझैँ नेरुदाका तलासी लिए । दुई घन्टाको खानतलासी पछि जुत्ता बेरेको पत्रिकासमेत उनका सबै कागजातहरू नियन्त्रणमा लिए । त्यसपछि नेरुदा मुम्बाईबाट दिल्ली गए । भारतका लागि चिलीका राजदूत डा. जुवान मारिनलाई भेटे । नेरुदाकासिते फ्रान्सेली वैज्ञानिक जोलिएट केरीले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूलाई पठाएको पत्र थियो । नेहरूलाई त्यो पत्र थमाएपछि नेरुदाले खिन्न हुँदै भारत छाडे । ताजमहल हेर्ने उनको उत्कट अभिलाशा पनि पूरा हुन पाएन ।
सन् १९३४ मा अर्जेन्टिनाको राजधानी ब्युनर्सनमा स्पेनिस कवि तथा नाटककार गार्सिया लोर्का आफ्नो नाटक मञ्चन गर्ने सिलसिलामा गएका थिए । नेरुदा पनि त्यहीँ थिए । स्थनीय क्लबले उनीहरूको स्वागतमा एउटा पार्टी आयोजना गरेको थियो । नेरुदा र लोर्काको भेट नहोस् भन्ने अवाञ्छित तìवहरूले सबैतिर त्यो पार्टी रद्द भएको हल्ला फैलाए । पाहुनाहरू, होटलका म्यानेजर, कुकलगायतलाई फोन गरेर पार्टी रद्द भएको सूचना दिएका थिए । तथापि कार्यक्रम सम्पन्न भयो । नेरुदा–लोर्काको मिलन भइछाड्यो ।
त्यतिबेला नेरुदा स्पेनको बार्सिलोनाका काउन्सिलर थिए । चिलीका जनरल म्याकुराले नेरुदाको साहित्यिक झुकाव र प्रेमलाई बुझेर मेड्रिड पठाइदिए । मेड्रिड त्यतिखेर स्पेनको साहित्यिक केन्द्र थियो । त्यही नेरुदा बसेको ठाउँ नजिकै लोर्काको घर थियो । प्रायः साँझ उनीहरू भेटथे र घन्टौँ गफिन्थे ।
जुवान रैमोन जिमिनेज नामका कवि तथा लेखक नेरुदाको उग्र आलोचक थिए । उनले नेरुदालाई ‘खराब कवि’ घोषित गरेका थिए । जुवानलाई नेरुदा ‘खराब जिब्रो’ भएका कविताको ‘बूढो पिचास’ भन्थे । रैमोनले ‘अल सोल’ अखबारको आइतबारीय आफ्नो स्तम्भमा बेलाबेलामा नेरुदाका बारेमा तथानाम लेख्थे । उनले जति लेखे पनि नेरुदाले कहिल्यै जवाफ दिन्थेनन् । यिनै रैमोन सन् १९५६ को नोबेल साहित्य पुरस्कारबाट सम्मानित भए ।
चिल्लीकै एक कवि विसेन्ट हुइदोब्रो पनि नेरुदाका अर्का प्रखर आलोचक थिए । उनी आफूलाई कविताका राजा मान्थे । उनी छदम नाममा लेखेर नेरुदा माथि खनिरहन्थे । हुइदोब्रोले पनि नेरुदालाई पिर्नुसम्म पिरेका थिए । हुइदोब्रोले नेरुदाको प्रसिद्ध कविता सङ्कलन ‘ट्वान्टी लभ सङ्स एन्ड अ सङ अफ डिस्पेयर’को सोह्रै कविता रवीन्द्रनाथ ठाकुरको ‘द गार्डनर’बाट चोरिएको आरोप लगाइरहन्थे । उनीहरूबीच निकै जुवारी चलिरहन्थ्यो । तिनै हुइदोब्रोको निधनपछि नेरुदाले पूर्वाग्रहका कारण उसको राम्रा कविताबाट टाढा भएको स्वीकार्दै स्मारक बनाउनका लागि प्रस्ताव गरेका थिए ।
अर्का एक जोए ब्लो नाम गरेका लेखकले त नेरुदा विरोधी अभियान झन्डै चालीस वर्षसम्म चलाए । नेरुदालाई नकार्दै अनगिन्ती आरोपहरू लगाएर ब्लोले आफ्नो सम्पदानमा २५ अङ्क त पत्रिका नै प्रकाशित गरे । उनले पनि नेरुदाको विरुद्ध पर्चा छपाएर बाँडे । पम्प्लेट टाँसे । पत्रपत्रिकामा नेरुदाको धज्जी उडाउँदै लेखहरू लेखे । त्यतिले पनि नपुगेर ‘नेरुदा र म’ शीर्षकको मोटो किताब नै प्रकाशित गरेर नेरुदाको हुर्मतै लिए । नेरुदा ब्लोलाई चिलियन साहित्यको एउटा पेसेबर गुन्डा मान्थे । यिनकै कारणले नेरुदाले आफ्नो आत्मकथा लेखन स्थगित गरेका थिए । बुढ्यौलीमा ब्लोले आत्माहत्या गरे ।
नेरुदाका अर्का साहित्यिक शत्रु उरुग्येका लेखक रिबेरो थिए । उनले पनि नेरुदाका विरुद्ध स्पेनिस र फ्रेन्च भाषामा पोस्टर र पम्प्लेट छपाएका थिए । नेरुदालाई अक्सर्फोड विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिन लाग्दा रिबेरो नेरुदालाई लगाइएको लामो आरोपहरूको सूची लिएर लन्डनमै पुगेका थिए । सन् १९६३ मा नेरुदाले नोबेल पुरस्कार ग्रहण गरिरहँदा पनि रिबेरोले पुरस्कार वितरण स्थल स्टाकहोममै तमासा गर्न पुगेका थिए ।
सन् १९७३ सेप्टेम्बर २३ को रात साढे १० बजे नेरुदाको जीवन सधैँका लागि अस्तायो । कफ्र्यु लागेको सहर हतियारधारी सैनिकको कब्जामा थियो । सडकभरि तैनाथ सैनिकबाट हुनसक्ने हमलाको परवाहनै नगरी हज्जारौँ जनता आफ्नो प्रिय कविको अन्तिम यात्रामा सहभागी भएका थिए ।