• ४ वैशाख २०८१, मङ्गलबार

भिडियो कुराकानी

डेढ अर्बमा बनेको चोभार बन्दरगाह सुनसान

blog

काठमाडौं, साउन १४ गते। भन्सार कार्यालयमा चहलपहन भइरहनु पर्ने हो। भन्सार जाँचपासका लागि आउने गाडीको लस्कर र कर्मचारी कामको खटनपटनले व्यस्त हुनुपर्ने हो। तर, चोभारस्थित सुख्खा बन्दरगाहको अवस्था त्यस्तो छैन। सञ्चालनमा आएको चार महिना बिते पनि चोभारस्थित सुख्खा बन्दरगाह सुनसान छ। 

विश्व बैंकको एक अर्ब ५४ करोड रुपियाँको सहयोगमा निर्माण गरिएको उक्त बन्दरगाहमा भन्सार जाँचपासका लागि मालबाहक गाडीको चाप छैन। फाट्टफुट्ट बाहेक गाडी छैनन्। सुख्खा बन्दरगाह कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार गत चैत २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएपछि हालसम्म १५ वटा गाडी भन्सार जाँचपासका लागि आएका छन्। 

सरकारले सीमा नाकामा भएका बन्दरगाहको लोड घटाएर कन्टेनरमा दोहोरो शिल लगाएर काठमाडौं ल्याएर बन्दरगाहलाई विजनेश दिने भनिए पनि बन्दरगाहमा चहलपहल छैन। कार्यालय प्रमुख बरुवालले बन्दरगाह निर्माणका क्रममा निजी क्षेत्रले जुन उत्साह देखाएको थियो सञ्चालनमा आएपछि त्यो उत्साह नभएको बताउनुभयो। 


‘बन्दरगाह निर्माणका क्रममा निजी क्षेत्रको उत्साह धेरै थियो, उहाँहरुले काम चाँडै सकेर कार्यालय सञ्चालनमा ल्याउनुपर्यो भन्नुभएको थियो। तर, सञ्चालनमा आएपछि निजी क्षेत्रको उत्साह देखिएन’, उहाँले भन्नुभयो। सीमा नाकामा मालवस्तुको भन्सार जाँच पास गराउँदा लागत र समय धेरै लाग्ने भएकाले सुख्खा बन्दरगाहमा भन्सार जाँचपास गराउँदा समय र लागत कम लाग्ने अनुमान गरिएको थियो। 

‘आयात गर्दा जाँचपास गर्न कहिलेकाहीँ सीमामा पालो कुर्नुपर्छ। त्यस्तोमा उनीहरूले पार्किङ चार्जसमेत तिर्छन्। चोभारको बन्दरगाहमा भन्सार जाँचपास हुँदा व्यवसायीलाई सहज र छिटो हुन्छ,’ बरुवालले भन्नुभयो। सञ्चालनमा आएको तीन महिनामा बन्दरगाहबाट तीन करोड ६० लाख राजस्व सङ्कलन भएको छ। 

काडमाडौं/तराई जोड्ने द्रुतमार्ग निर्माण सम्पन्न भएपछि बन्दरगाहको चहलपहल बढ्ने बरुवालको भनाइ छ। भिडियो : मनोजरत्न शाही र केशब गुरुङ  

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।