• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिममा सङ्क्रमित सङ्ख्या बढ्यो

blog

अविनाश चौधरी

धनगढी, साउन १४ गते । सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको छ । जेठमा शून्य सक्रिय सङ्क्रमित रहेकोमा पछिल्लो समय सङ्क्रमण बढेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । 

प्रादेशिक स्वास्थ्य निर्देशनालयको शुक्रबारको अद्यावधिक तथ्याङ्कअनुसार प्रदेशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ पुगेको छ । जसमध्ये कैलालीमा सबैभन्दा बढी ६६ जना रहेको निर्देशनालयले जनाएको छ । यसैगरी, कञ्चनपुरमा २५ र बैतडीमा ६ जना सक्रिय सङ्क्रमित रहेका छन् । शुक्रबार मात्रै प्रदेशभरि १९ जना नयाँ सङ्क्रमित थपिएका थिए ।  

पछिल्लो समय भारतसहित नेपालमा कोरोना सङ्क्रमण बढेको छ । भारतबाट काम गरेर फर्कने व्यक्तिमा पनि सङ्क्रमण पुष्टि भइरहेको छ । शुक्रबार गड्डाचौकी नाकाबाट स्वदेश फर्किएको ६ र झुलाघाट नाकाबाट फर्किएका दुई गरी आठ जनामा सङ्क्रमण पुष्टि भएको थियो । 

सुदूरपश्चिममा हाल सङ्क्रमितमध्ये पाँच जना अस्पताल भर्ना भएका छन् । जसमध्ये एक जनाको सेती प्रादेशिक अस्पतालको आइसीयुमा उपचार भइरहेको छ । प्रदेशमा हालसम्म पाँच लाख ५८ हजार २१५ जनाको परीक्षण गरिएको छ । जसमध्ये ५९ हजार ८६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमण पुष्टि भएकामध्ये ६३३ जनाले ज्यान गुमाएका छन् । विगत केही महिना यता सङ्क्रमितको मृत्यु दर भने शून्य रहेको छ । अहिले कोरोना सङ्क्रमण बढेकाले स्वास्थ्य सुरक्षाका लागि सतर्कता अपनाउन आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो । 

उहाँका अनुसार पछिल्लो समय भारतबाट फर्किने व्यक्तिमा पनि सङ्क्रमण देखा परिरहेको छ । भारतबाट फर्कनेको नाकामै स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । कोरोना सङ्क्रमण बढ्न थालेपछि नाकामा सजकता अपनाइएको छ ।