• १६ वैशाख २०८१, आइतबार

मैनालीको लोभलाग्दो ‘दान’

blog

रक्तदाता अर्जुनप्रसाद मैनाली

नर्थ क्यारोलिना (अमेरिका), साउन १३ गते । अर्जुनप्रसाद मैनाली रक्तदाता हुनुहुन्छ । उहाँको रक्तदानको महिमा जति गाए पनि सकिँदैन । करिब दुई दशकदेखि अमेरिकाको न्यूयोर्कमा बसेर हालै मात्र नर्थ क्यारोलिना बसाइ आउनुभएका मैनाली नेपाली मूलका रक्तदाताहरुमध्ये सर्वाधिक रक्तदान गर्ने व्यक्ति हुनुहुन्छ । उहाँले हालसम्म दुई सय तीन पटक रक्तदान गरिसक्नुभएको छ । लिटरमा परिणत गर्दा एक सय दुई लिटर हुन आउँछ । यो आफैँमा एक कीर्तिमान हो । 

नेपालको काभ्रेपलाञ्चोक जिल्लाको कोर्थुम्कामा जन्मनुभएका मैनालीले १९ वर्षको उमेरमा अर्थात् २०४४ सालमा पहिलो पटक रक्तदान गर्नुभएको थियो । त्यसयता उहाँले बर्सेनि कम्तीमा पनि तीन चार पटक अनवरत रक्तदान गर्नुभएको छ । 

सबैभन्दा आश्चर्यलाग्दो र अपत्यारिलो कुरा त के भने उहाँले सन् २०१४ मा १९ पटक र २०१५ मा १७ पटक रक्तदान गर्नुभएको थियो । यसो गर्दा उहाँको मनमा आनन्द आउँथ्यो तर यो असाधारण काम गरेको कारण उहाँलाई यस्तो जोखिम नगर्न आयोजकहरुले सल्लाह र सुझाव दिएका थिए । यति धेरै पटक रक्तदान गरेर पनि उहाँलाई कुनै किसिमको रोगले छोएको छैन ।  

‘मान्छेहरुलाई बचाउन सकुँ र समुदायलाई पनि उत्प्रेरणा दिन सकुँ भन्ने नै मेरो मूल कामना हो’ यस समाचारदातासँग कुरा गर्दै ५३ वर्षीय मैनालीले भन्नुभयो । खासगरी क्यान्सर, अङ्ग प्रत्यारोपण, शल्यक्रिया, रक्तअल्पता, अत्यधिक रक्तश्राव भएका बिरामी मात्र होइन, प्राकृतिक प्रकोप, दुर्घटना र युद्धमा घाइते भएका मानिसलाई बचाउन रगतको ठूलो भूमिका हुन्छ । 

‘रक्तदान महादान हो । यो असाधारण काम हो । रगत निकाल्दा यसले कमजोरी बनाउँदैन तर आफ्नो शरीरमा सुचारु भएको रगत एकाएक निकाल्दा रगतका कोशिका र नसाहरुमा केही गडबड भने हुन्छ । यसले कसैकसैलाई केही अप्ठ्यारो हुन्छ तर तरल पदार्थको यथेष्ट उपयोग र उपभोगले एक दुई दिनमा नै यथारुपमा आउँछ’ 

‘रगत खेर जाने चीज होइन, यो सबैलाई चाहिने कुरा हो, असह्य भएर पनि अरुलाई रगत दिनु र उसलाई बचाउनु चानचुने कुरा हुँदै होइन’ उहाँको प्रस्टोक्ति छ । मैनालीको रक्तदानको यात्रा एउटा देश वा भूगोलमा सीमित छैन । उहाँले छवटै महादेशका १९ वटा राष्ट्रमा गएर आफ्नो अमूल्य रगत दान दिनुभएको छ । 

अमेरिकाको पूर्वी इलाकादेखि पश्चिम र दक्षिणी राज्यहरुमा समेत गएर उहाँले रक्तदान गर्नुभएको छ । अमेरिकाको क्यालिफोर्नियादेखि अलास्का र न्यूयोर्कदेखि नर्थ क्यारोलिनासम्म उहाँले दर्जनौँ पटक रक्तदान गर्नुभएको छ भने हाइटी, केन्या, मलावी, इथियोपिया, रुवाण्डा, युगाण्डा, इक्वेडरजस्ता गरिब र अल्प विकसित देश एवम् आयरल्याण्ड, क्यानडा, अष्ट्रेलिया, बेलायत, मकाउजस्ता विकसित देशमा पुगेर पनि रक्तदान गर्नुभएको छ । 

हामीले दान गरेको एक पोका रगतले तीनजनाको जीवन बचाउन मद्दत गर्छ । यस हिसाबले हेर्ने हो भने हालसम्म उहाँले दान गर्नुभएको रगतले ६०९ जना मानिसलाई बचाउन सहयोग गरेको छ । ‘मैले दान गरेको रगत ती मानिसको धमनीमा दौडिरहेको छ, यो मेरा लागि खुसी र गर्वको कुरा हो’ उहाँले भन्नुभयो । उहाँले सम्पन्न गर्नुभएका यी सबै अन्तर्राष्ट्रिय वा राष्ट्रिय यात्रा प्रायशः आफ्नै खर्चमा हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले कतिपय देशमा प्रमुख अतिथिको रुपमा रहेर पनि रक्तदान र सोबारेको सम्बोधन पनि गर्नुभएको छ । 

‘रक्तदान महादान हो । यो असाधारण काम हो । रगत निकाल्दा यसले कमजोरी बनाउँदैन तर आफ्नो शरीरमा सुचारु भएको रगत एकाएक निकाल्दा रगतका कोशिका र नसाहरुमा केही गडबड भने हुन्छ । यसले कसैकसैलाई केही अप्ठ्यारो हुन्छ तर तरल पदार्थको यथेष्ट उपयोग र उपभोगले एक दुई दिनमा नै यथारुपमा आउँछ’ मैनालीले भन्नुभयो । 

उहाँले युवा र समुदायका लागि रगत दिनुपर्छ भन्ने उत्प्रेरणा र हौसलाले गर्दा अरु थुप्रै मानिसले रक्तदान गरेको कुराको स्मरण पनि गराउनुभयो । नेपालमा रहँदा होस् वा अमेरिकामा आफूले रगत दिनु मात्र होइन, युवालाई यो कुरामा प्रोत्साहन र हौसला दिनका लागि उहाँले संस्था पनि दर्ता गराउनुभएको छ । मैनाली नेपाल ब्लड डोनर्स क्लबका संस्थापक सदस्य हुनुहुन्छ ।

उहाँले यस्तै किसिमको संस्थाको आवश्यकता महसुस गरी सन् २००९ मा अमेरिकामा पनि ‘ब्लड डोनर्स अफ अमेरिका’ नामक संस्था स्थापना गर्नुभयो । यसले युवामाझ रगत दिनुपर्छ भन्ने सन्देश प्रदान गरेको छ । मैनालीले सन् १९९० ताका वर्षको कम्तीमा पनि एक पटक रक्तदान गरौँ भन्ने नारा बोकेर साइकलमा नेपाल भ्रमण पनि गर्नुभएको थियो ।  

‘मेरो जीवन कसैका लागि उपहार (द गिफ्ट अफ लाइफ) हो’ उहाँको भनाइ छ । ‘यो उपहार म सकिन्जेल प्रदान गरिरहन्छु’ उहाँको प्रतिक्रिया छ । रगत कति उमेरसम्म दिन मिल्छ त भन्ने प्रश्नको जवाफमा मैनालीले भन्नुभयो, ‘‘अमेरिकाको केन्टकी राज्यका एक वृद्धले ९५ वर्षको उमेरमा पनि रक्तदान गरेका छन् । यो आ–आफ्नो स्वास्थ्य र तन्दुरुस्तीले फरक पार्ने कुरा हो ।’’ उहाँले दिनुभएको जानकारी अनुसार, हालसम्म अस्ट्रेलियाका एक व्यक्तिले एक हजार एक सय ७३ पटक रक्तदान गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।  

अर्जुन मैनालीले पनि विश्वभर चेतना फैलाउन ठूलो मद्दत गर्नुभएको छ । यस वापत उहाँले धेरै मानसम्मान र पुरस्कार त पाउनुभएको छ तर पनि घरको आर्थिक अवस्था भने तन्दुरुस्त छैन । ‘यो सबै मेरी श्रीमतीको साथ र सहयोगले सम्भव भएको  हो’ उहाँको भनाइ छ । उहाँको सम्मानस्वरुप वेयष्टर डे, न्युयोर्कले डिसेम्बर २२ लाई ‘विश्वरक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा गरेको छ । 

Author
कृष्णराज खनाल

पत्रकार खनाल अमेरिकामा बसेर गोरखापत्र अनलाइनका लागि समाचार लेख्नु हुन्छ ।