अमेरिका, भदौ २५ गते । भ्रष्टाचार अन्त्यको माग राखेर जेनजीले काठमाडौँ लगायत देशका विभिन्न भागमा गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने युवाको सम्मानस्वरुप श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । मङ्गलबार साँझ राले नजिकै मोरिसभिलमा आयोजित सो सभामा शान्तिदीप प्रज्ज्वलन गरी मृतकहरुको आत्माको चिर शान्तिको कामना गरिएको थियो ।
यो कार्यक्रम नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनालगायत यहाँका आधा दर्जनजति संघसंस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
दीप प्रज्ज्वलन कार्यक्रममा यस भेगका दुई सय मानिसहरु उपस्थित थिए भने जेनजी पुस्ताका भाइबहिनीहरुले जेनजीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै दीप प्रज्ज्वलन गरेका थिए । सो सभामा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष विकास शाक्यले सरकारी दमनका कारण जेनजी पुस्ताका होनहार युवा मारिएको घटनाबाट मर्माहत भएर उनीहरुको आत्मिक शान्तिका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
अब देशमा शान्ति पुनस्र्थापना होस् भन्ने कामना गर्दै उहाँले आन्दोलनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको थियो ।
सो अवसरमा टाउन अफ केरीकी काउन्सिलर एरिका वंशल, मोरिसभिल टाउनका मेयर टीजे काउली र सोही टाउनका मेयर पदका उम्मेदवार सतीश गारिमेला आदि वक्ताले नेपाली युवामाथि भएको दमनको विरोध गर्दै यो आन्दोलनप्रति ऐक्यवद्धता रहेको जनाउनुभएको थियो । उहाँहरुले हामीहरु पनि तपाईहरुकै साथमा छौँ भन्दै मृतक युवाप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको थियो ।
सो अवसरमा युवाका तर्फबाट एनसीएनसीको युथ टिन काउन्सिल संयोजक प्रतीज्ञा बन्जाडे, हिन्दु सोसाइटी अफ नर्थ क्यारोलाइनाका अध्यक्ष हिमांशु देसाई र एनसीएनसी ट्रस्टीका पूर्व सभापति बालकृष्ण शर्माले शहादत गरेका युवाको चिरशान्तिको कामना गर्दै परिवारमा पर्न गएको अपुरणीय क्षतिको धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गर्नुभएको थियो ।
त्यस अवसरमा उपन्यासकार निलम कार्की निहारिकाले एउटा श्रद्धाञ्जली कविता पनि वाचन गर्नुभएको थियो । यसैगरी अमेरिकाका अरु सदरमुकाम तथा स्थानमा पनि यस किसिमको श्रद्धाञ्जली सभा आयोजना गरिएको खबर छ ।