• २० जेठ २०८२, मङ्गलबार

चार देशको टिपिएस खारेज, पाँच लाख आप्रवासी प्रभावित

blog

राले (अमेरिका), जेठ १८ गते । अमेरिकी गृह सुरक्षा विभागले चार वटा देशको अस्थायी संरक्षित स्थिति (टिपिएस) खारेज गर्न गरेको निर्णयलाई सर्वोच्च अदालतले अनुमति दिएको छ ।

अमेरिकाको ट्रम्प प्रशासनले धेरै अघिदेखि टिपिएस खारेज गर्ने निर्णय गरेता पनि वोस्टनको सङ्घीय अदालतले यसलाई रोकेको थियो । बिहीबार सर्वोच्च अदालतले चार वटा देश क्युवा, हेटी, निकारागुवा र भेनेजुएलाका करिब पाँच लाख आप्रवासीहरूको टिपिएस खारेज गर्ने सरकारको निर्णयलाई अनुमति दिएको कुरा समाचारपत्र पोलिटिकोले जनाएको छ ।

यो अनुमतिसँगै अबको केही दिनमा ती पाँच लाख आप्रवासीहरू स्वैच्छाले या त स्वदेश जानुपर्ने छ या सरकारी गिरफ्तारीमा परेर निष्काशित हुनुपर्ने छ ।

प्राकृतिक विपत्ति, सशस्त्र द्वन्द्व र महामारी जस्ता कारणले आफ्नो देशबाट भागेर आएका वा ल्याइएका वैध आप्रवासीहरूलाई अमेरिकाले अस्थायी रूपमा काम गर्ने गरी अनुमति टिपिएस दिने गरेको छ ।

राष्ट्रपति जर्ज डब्लु वुसको कार्यकालमा सन् १९९० मा इमिग्रेसन याक्टका रूपमा यो कानुन ल्याइएको हो । हाल विश्वका करिब १७ देशका नागरिकलाई अमेरिकाले टिपिएस सुविधा दिएको छ । सर्वोच्चको यो अनुमतिसँगै अब हेटीका टिपिएस वाहकले अगष्ट २५ भित्र अमेरिका छोड्नु पर्ने छ या त अवैध रूपमा लुकीछिपी रहनुपर्ने छ ।

यी पाँच लाख बाहेक सर्वोच्चको यो अनुमतिले अरू पाँच लाख मानिसहरू पनि प्रभावित हुने बताइएको छ । पोलिटिकोका अनुसार, युक्रेन, अफगानिस्तान र मध्य अमेरिकाका करिब पाँच लाख टिपिएस वाहकहरू अर्को निसानामा पर्ने छन् ।

नेपालीहरूको टिपिएसको म्याद भने स्वतः डिसेम्बरसम्म थप भएको छ । नेपाली टिपिएस वाहकहरू झण्डै आठ हजार रहेको बताइएको छ ।

Author
कृष्णराज खनाल

पत्रकार खनाल अमेरिकामा बसेर गोरखापत्र अनलाइनका लागि समाचार लेख्नु हुन्छ ।