राले (अमेरिका), जेठ १९ गते । विश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले देश, देशको माटो र देशका जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सक्यौँ भने नेपालले फड्को मार्ने बताउनुभयो ।
नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले आइतबार डा. रुइतको सम्मानमा आयोजना गरेको भेटघाट कार्यक्रमपछि यस सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै डा. रुइतले सो कुरा गर्नुभएको हो ।
डा. रुइत हाल अमेरिकाको दुईहप्ते भ्रमणमा हुनुहुन्छ । क्योर ब्लाइन्डनेस प्रोजेक्टअन्तर्गत भइरहेको यो भ्रमणको मुख्य उद्देश्य इन्ट्रा अक्युलर लेन्स प्रयोगशालाको सफलताको विश्वव्यापी प्रस्तुति छ ।
नेपालको नेत्र चिकित्सालाई विश्वसामु स्थापित गर्ने महान उद्देश्यका साथ भइरहेको यो भ्रमणले तिलगङ्गा नेत्र केन्द्र र इन्ट्राअक्युलर लेन्स प्रयोगशालाको तत्वावधानमा हेटौंडामा निर्माण भइरहेको क्योर ब्लाइन्डनेस प्रोजेक्टलाई थप टेवा दिनेछ । डा. रुइतले यसका लागि विदेशमा बस्ने नेपालीहरुको पनि अपनत्व र सहयोग होस् भन्ने अपेक्षा राख्नुभएको छ ।
डा. रुइत मोतियाबिन्दुको शल्यचिकित्सा गर्ने पहिलो नेपाली डाक्टर हुनुहुन्छ । डा. रुइतले विदेशमा बस्ने नेपालीहरुमा नेपालमा केही गरौँ भन्ने भावना आफूले पाएको बताउँदै उहाँले सो प्रोजेक्टका लागि करिब ८० लाख अमेरिकी डलर लाग्ने जानकारी पनि दिनुभयो ।
डा. रुइतले सोमध्ये ३० लाख डलर आफूहरुसँग रहेको र अपुग रकम देश तथा विदेशमा बस्ने नेपालीहरुबाट प्राप्त हुने आशा व्यक्त गर्नुभयो । एक प्रश्नको उत्तरमा डा. रुइतले तिलगङ्गा नेत्र केन्द्रले नेपालीहरुबाट पाएको सद्भाव र भिन्न खाले माया र विश्वसनीयताका कारण यो परियोजना पनि सफल हुने जानकारी दिनुभयो । उहाँले यो परियोजनामा राजनीतिको कुनै गन्ध नआउने पनि प्रष्ट पार्नुभयो । उहाँले नवजवान युवालाई लक्ष्य गर्दै भन्नुभयो, ‘‘हाम्रो संस्कृति र मूल्य मान्यतालाई जीवित राख्न लागि पर्नुपर्छ ।’’
डा. रुइतले हालसम्म झण्डै एक लाख ८० हजार व्यक्तिको शल्यक्रियामार्फत आँखाको गुमेको ज्योति फर्काउन सफल हुनुभएको छ ।
सो अवसरमा एनसीएनसीका अध्यक्ष विकास शाक्यले धन्यवाद दिने क्रममा नर्थ क्यारोलाइनावासीको उत्साहजनक सहभागिता रहेको र यहाँबाट डा. रुइतको परियोजनाका लागि करिब ३० हजार डलर रकम सङ्कलन भएको जानकारी दिनुभएको थियो ।
सो कार्यक्रम आयोजनाका लागि बाबु सुवेदी, वटु शर्मा र आर पी पौडेलले पहल गर्नुभएको थियो भने कार्यक्रमको सत्र संस्थाका महासचिव कल्पना भण्डारीले सञ्चालन गर्नुभएको थियो । त्यस अवसरमा हिन्दु सोसाइटी अफ नर्थ क्यारोलाइनाका अध्यक्ष मनोज पाण्डेले यो मन्दिर आज अर्को जिउँदो भगवान् पाएर खुसी छ भन्नुभयो ।
त्यस अवसरमा डा. रुइतलाई एनसीएनसीका तर्फबाट मायाको चिनो प्रदान गरिनुका साथै एनसीएनसीका संस्थापक अध्यक्ष ईश्वर देवकोटा र वर्तमान अध्यक्ष डा. विकास शाक्यले उहाँलाई एनसीएनसीको मानार्थ सदस्यता पनि प्रदान गर्नुभएको थियो ।
त्यस अवसरमा डा. रुइतबाट दुवै आँखाको ज्योति पाउनुभएका आभा उपाध्यायले पनि खुसी व्यक्त गर्दै धन्यवाद दिनुभएको थियो ।
डा. रुइतले यो भ्रमणका दौरान विश्वप्रतिष्ठित जोन हप्किन्स विश्वविद्यालय र ब्राउन विश्वविद्यालयमा प्रवचन दिनुभएको थियो । उहाँले मेरिल्याण्ड, बाेस्टन, मायामी, सानफान्सिस्को, न्युयोर्क, भर्जिनिया, सार्लोटलगायतका विभिन्न स्थानको भ्रमण गरी आफ्नो परियोजनाका बारेमा नेपालीहरुलाई जानकारी दिनुभएको छ ।
डिन्डु लामाद्वारा सात हजार सात सय डलर प्रदान
डा. रुइतको सम्मानमा आयोजित कार्यक्रमा रेष्टुरेन्ट व्यवसायी डिन्डु लामाले सात हजार सात सय ७७ डलर (करिब १० लाख नेरु) प्रदान गर्नुभएको छ । ३० वर्ष अघि अमेरिका आउनुभएका लामाले डा. रुइतको परियोजनामा सहयोग होस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गर्नुभएको हो । दुर्गम क्षेत्रका मानिसहरुले यो संसार देख्न पाएका छैनन्, कसैलाई संसार देखाउन सहयोग गर्नुभन्दा ठुलो पुण्य के नै हुन्छ र ? धरतीमा जन्म लिनु नै अर्काको सहयोगको लागि हो उहाँले भन्नुभयो ।
नुवाकोटको हेलम्बुमा स्थायी घर भएर नर्थ क्यारोलाइनास्थित हाइल्यान्समा बसोबास गर्दै आउनुभएका ५८ वर्षीय लामाले सेन्टि भाइरस नामक चलचित्र निर्माण गर्नुभएको थियो ।