• ८ मंसिर २०८१, शनिबार

वर्षाचरित्र (कविता)

blog

ऋतु सरस छ वर्षा मेघको रूप कालो ।

जलद सघनको हो बर्सिने फेरि पालो ।।

तृण विटप खुसी छन् मख्ख छन् खेतबारी ।

श्रम सुरु हुन थाल्यो हेर दैलो उघारी ।। १

 

झिलिकमिलिक गर्दै चम्किँदै फेरि निभ्दै ।

बिचबिच बिजुलीले हो कि यो नृत्य सिक्दै ।।

गड गड गड गर्दै मेघले ताल दिन्छ ।

दरदर अनि दर्की शीघ्र पानी चुहिन्छ ।।२

 

जल रसमय वर्षा रङ्गमञ्चीय शाला ।

गगनतल छ डम्मै चित्रझैँ मेघमाला ।।

जमिन छ यतिबेला तृप्तिले मख्ख पर्दै ।

कृषकजन खुसी छन् खेतमा काम गर्दै ।।३

 

हरितमय सबै छन् खेत, बारी, बगान ।

प्रकृति पनि अहा ! क्या लाग्छ साँच्चै जवान ।।

तन अलिकति भिज्दा हुन्छ आनन्द भान ।

अमृतसरि छ पानी गर्छ संसार पान ।।४

 

ऋतु जलद मजाले बर्सिँदा ता भर्दै ।

चपल गति छ बग्दै छन् नदी गर्व गर्दै ।।

कतिपय खहरेमा बग्छ बाढी अदम्य ।

झरझर झरनाको वेग उस्तै छ रम्य ।।५

 

विपिनबिच भिजेका छन् लता वृक्ष सारा ।

मन प्रमुद छ पाई प्यून पीयूषधारा ।।

परिचर दल पक्षी, माहुरी, भृङ्ग नाना ।

बरबर जल झर्दा चल्छ गाना बजाना ।।६

 

कलकल बिरुवा छन् पोषले सप्रिएझैँ ।

तरुदल पनि दङ्गै दारुले लट्ठिएझैँ ।।

चपल मन भएका किन्नरी नाच्न थाले ।

नवयुवकरूप क्या मस्किँदै छन् मजाले ।।७ 


तनुरस सुकिहाल्यो, भो चिसो मन्दमन्द ।

मधुर मधुर लाग्यो मृत्तिकाको सुगन्ध ।।

सरर पवन चल्दा हो कि झैँ लाग्छ छन्द ।

अनि पछि जल वर्षा हुन्छ चर्केर द्वन्द्व ।।८

 

नद–जलकुल सारा छन् धनी हृष्टपुष्ट ।

अलि अधिक भएमा हुन्छ बाढी प्रदुष्ट ।।

जल वितरण गर्दा मेघले व्योमबाट ।

रसमय अवनी भो तृप्तझैँ सोमबाट ।।

 

पिहित जलधिपुत्रीबाट आकाश कैले ।

रवि, शशि अनि तारा लुक्नुपर्ने त्यसैले ।।

अलिकति भिजिहालूँ भन्न चाहेँ मनैले ।

लिइनँ नि तर छाता ओढ्न चाहेर मैले ।।१०

 

समय छ ऋतुबोधी श्रावणी भाद्रमासी ।

श्रमबिच पनि कस्तो हुन्छ आत्माभिलाषी ।।

अति मृदुमय लाग्ने मौसमी रागभित्र ।

मन पुलकित गर्दै हेर्छु वर्षा चरित्र ।।११

 

परिश्रमी निकेतन

बर्दघाट नपा–४, नवलपरासी