• १८ वैशाख २०८३, शुक्रबार

रोग लुकाउँदा क्यान्सर जोखिम, शिविरमा २० बिरामी भेटिए

blog

व्यास नगरपालिका–६ शिसाघाटमा गरिएको शिविर । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख १८ गते ।
ग्रामीण भेगका नागरिकले स्वास्थ्य समस्या लुकाएर बस्दा क्यान्सर जस्तो घातक रोगको जोखिम भयावह बन्दै गएको पाइएको छ । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटमा बुधबार र बिहीबार सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गराएकामध्ये २० जनामा क्यान्सरको लक्षण फेला परेपछि यो तथ्य बाहिर आएको हो ।

नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाको आयोजना, व्यास नगरपालिकाको आर्थिक सहयोग र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ३२५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये स्तन क्यान्सरका ८ जना, पाठेघरको मुखको क्यान्सरका ६ जना र नाक, कान, घाँटीको क्यान्सर भएका ६ जना फेला परेका हुन् ।

शिविरमा खटिनुभएकी डा. अस्मिता राणाले पहिचान भएका बिरामीहरूलाई तत्काल थप उपचारका लागि भरतपुरस्थित क्यान्सर अस्पतालमा रिफर गरिएको जानकारी दिनुभयो ।  “धेरैजसो बिरामीमा रोग निकै ढिलो गरी पत्ता लाग्ने गरेको छ,“ डा. राणाले भन्नुभयो, “समयमै परीक्षण नगर्ने र लक्षण देखिँदा पनि लुकाएर बस्ने प्रवृत्तिले गर्दा जोखिम बढेको देखिन्छ ।”

रेडक्रस श्याम्घा उपशाखाका सभापति प्रमोद न्यौपानेका अनुसार तनहुँ, कास्की र लमजुङको संगमस्थल भएकाले यस क्षेत्रका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको हो । उहाँले भन्नुभयो, “दस वर्षपछि जटिल रूप लिन सक्ने रोग आजको परीक्षणबाट सुरुवाती अवस्थामै थाहा भएको छ, यो नै शिविरको सफलता हो ।”

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यमा शिविर गरिएको थियो । सो अवसरमा नगर प्रमुख न्यौपानेले रोग पालेर बस्नु मृत्युलाई निम्ता दिनु भएकाले बेलैमा उपचारको लागि ध्यान दिन जरुरी रहेको बताउनभयो । व्यास–६ का वडा अध्यक्ष कुमार गुरुङ ग्रामीण क्षेत्रमा अझै पनि लाज र चेतनाको अभावका कारण महिलाहरू पाठेघर र स्तनको समस्या लुकाउन बाध्य भएकोले यस्तो कार्यक्रमलाई व्यापकता दिएर जोखिम घटाउन सबै एक जुट हुनुपर्ने बताउनुभयो ।