किशोर पहाडी
तेह्रथुम भ्रमण गरेर फर्केको केही समय भयो । मनमा सुन्दर तेह्रथुमको सम्झना ताजै छ । कवि हेम हमालको ‘गाउँ गाउँजस्तो छैन, सहर सहरजस्तो छैन’ भनेझैँ तेह्रथुम गाउँजस्तो छैन, तेह्रथुम सहरजस्तो छैन भन्ने कुरा मनमा खेलिरहेको छ ।
कोरोनाकै कारण कति साथीभाइ असमयमै हामीबाट सधैँको निम्ति टाढा गए । त्यसपछि २०७८ सालको अन्त्यतिर कोरोना अलि सुस्ताएको अनुभव भएपछि विश्वले तेह्रथुम जाने कुरा मिलाइसकेका रहेछन् ।
कहिल्यै नगएको ठाउँ घुम्न जान लालायित नै थिएँ । वैशाख ८ गते जाने र ११ गते फर्कने योजना बन्यो । काठमाडौँबाट जानेमा विश्वविमोहन श्रेष्ठ, राजेन्द्र शलभ, जयदेव भट्टराई, राजेश खनाल, श्रीओम श्रेष्ठ रोदन, मणि लोहनी, किशोर पहाडी गरी ७ जना भयौँ । विराटनगरबाट विवश पोखरेल र गोकुल अधिकारी । धनकुटाबाट रमेशचन्द्र अधिकारी । इलामबाट आउने विमल वैद्य पनि इटहरीमा भेट्ने निधो भएको थियो । मेरा लागि रमेशचन्द्र अधिकारीबाहेक अरू सबै परिचित नै थिए ।
८ गते बिहानको पहिलो फ्लाइटबाट विराटनगर जाने अनि धरानमा साहित्यकारहरूसँग केही समय विताएर यात्रा आरम्भ गर्ने योजना विश्वले बनाएका थिए । त्यो योजना भताभुङ्ग तब भयो जब काठमाडौँ विमानस्थलबाट समयमा विमान उडेन ।
काठमाडौँबाट जाने कविहरू एक एक गर्दै सबै भेला भए शलभ, श्रीओम, राजेश, जयदेव, विश्व तर मनिटरमा हामी विराटनगर जाने बुद्ध एयरको यू४७०१ विमान डिलेइड भन्ने देखाइरहेको थियो ।
प्रतीक्षालयमा यात्रुहरूको भीडमभीड । विवाह साइतको दिन भएर होला दुलाहा भेषमा सजिएकाहरू चार पाँच समूह यात्राको निम्ति तयार थिए तर बुद्ध एयरको फ्लाइट डिलेका डिले ।
एक घण्टा डिले, दुई घण्टा डिले, तीन घण्टा डिले डिलेका डिले हुन थालेपछि यात्रुहरू काउन्टरमा बसेकाहरूसँग कराउन थाले “अरू सबै ठिकै समयमा उड्छन् । बुद्ध एयर मात्र किन ढिलो ?”
काउन्टरमा बसेकाहरूले चित्तबुझ्दो जबाफ दिन सकेका थिएनन् । मलाई मनैमनमा लाग्यो यसरी उडान ढिलो हुँदा त ती दुलहाको शृङ्गार गरेर आएकाको साइत पनि बितिजाने हो कि ?
अन्ततः दस बजे उड्ने भयो बुद्ध एयरको यू४७०१, मलाई ०२ बीको सिट नम्बर दिए ।
विमानमा नउडेको पनि दशकै भएछ । वसन्त काव्य उत्सवकै निहुँमा २०७९ वैशाख ८ गते उड्ने भइयो । बोर्डिङ पास लिएपछि पक्का भयो ।
दशकौँ पछिको विमान यात्राले एउटा के कुराको अनुभव गरायो भने विमान यात्रा गर्दा विमानले यात्रुहरूलाई सिटबेल्ट बाँध्नबाहेक अरू केही सुविधा दिँदैन रहेछ ।
बीस वर्ष जतिअघिको विमान यात्रामा कथाकार राजवसँग जनकपुरबाट काठमाडौँ आउँदा चकलेटहरू दिएको सम्झना छ । तर अहिले त चकलेट न सकलेट । एयरहोस्टेजहरूले हात जोडी नमस्ते गरी स्वागत पनि नगर्ने भइसकेछन् । पानी मगायो भने सानो प्लास्टिकको गिलासमा दुई तुर्को खन्याएर दिने रहेछन् । सिट बेल्ट चाहिँ बाँध्न सिकाउने रहेछन् ।
हाम्रो विमानयात्रा जम्मा ३७ मिनेटको भयो । विराटनगरमा मित्रद्वय विवश पोखरेल र गोकुल अधिकारी हाम्रा लागि माइक्रोबस र मुस्कान लिएर तयार थिए । विराटनगरमा पाइला टेक्नु के थियो, कविजीहरूलाई बियर पिउनेले छोइगो ।
इटहरीमा विमल वैद्य हामीलाई पर्खेर बसेका थिए । त्यहाँबाट उनी पनि सामेल भए । विश्व भन्दै थिए, धरानमा खाजा खाएर केही समय बिताउने योजना थियो । प्लेनले गरेर त्यो हुन सकेन । धनकुटामा किताब विमोचनका लागि साहित्यकारहरू पर्खेर बसेका छन् । त्यतै कुद्नुपर्छ ।
साँच्चिकै हाम्रो माइक्रोबस सररर धनकुटा पुगेरै रोकियो । त्यहाँ रवीन्द्रभक्त श्रेष्ठले पुस्तक ‘शाश्वत’को विकोचन भयो । लेखक अहिले अमेरिकामा रहेछन् तापनि कार्यक्रममा मोबाइल लाइभद्वारा जोडिए । यता बसेकाले पनि भाषण गरे । उताबाट पनि मोबाइलमा भाषण आयो ।
कार्यक्रमको समाप्तिपछि चिया र बिस्कुट खुवाए । बिस्कुट कुकिज टाइपको स्थानीय विस्कुट थियो नरिवलको स्वाद आउने अरू बेला गुलियो नखाने मैले पनि दुईवटा बिस्कुट चियामा चोबेर खाएँ । स्थानीय बिस्कुट मनपराएँ भनौँ न ।
धनकुटामा हतार हतार कार्यक्रम सकेर सुरु भएको हाम्रो यात्रा तेह्रथुम, म्याङलुङ नगरपालिकाको पुतलीबजारस्थित ब्लु हेभेन गेस्ट हाउस एन्ड रेस्टुराँमा राति ९ बजे पुगेर विश्राम लियो ।
गेस्ट हाउसभित्र छिर्नासाथ देखेँ ढोकाभरि, ढोकाबाट पस्नासाथ कीरैकीरा छन् उडिरहेका, भुइँभरी पनि । जताततै थुप्रै सङ्ख्यामा । ती देखेर मेरो मुखबाट निस्किहाल्यो “के कीरा हो यस्तो ?” होटेलका साहुजीले जबाफ दिए “छिचिमिरा हो सर !” छिचिमिरा भुइँभरि थिए । खुट्टा राख्ने ठाउँ थिएन र त्यही छिचिमिरा टेक्दै मानिस हिँडिरहेका थिए । छिचिमिरा खुट्टामुनि किचिमिची भएका देखिन्थे ।
च्वाँचे मेरा लागि नयाँ शब्द थियो । विमललाई सोधे– “के हो च्वाँचे भनेको ?”विमलले जबाफ दिए– “सुँगुर ।” झ्यालबाट बाहिर हेरेँ । नभन्दै जताततै ससाना खोर बनाएका रहेछन् । त्यसभित्र च्वाँचे पालिएका रहेछन् । दृश्य मेरा लागि नौलो थियो । विश्वले आज बिहान सबैलाई म्याङ्लुङ देवीको दर्शन गराउन लैजाने भए । त्यसपछि शुक्रबारे हाट ।
होटेलका साहुजी केदार प्रधानङ्गबाटै थाहा भयो छिचिमिरा वर्षा बेलामा यस्तै साँझ बत्तिको किरणमा झुम्मिने रहेछन् । जमिनमुनि कत्तैबाट आउने र केही घण्टा बाँच्ने कीरा रहेछन् ।
धनकुटाबाट हाम्रो टोलीमा सामेल हुन आएका पत्रकार रमेशचन्द्र अधिकारीसहित हामी एघार जना थियौँ र अब कुन कोठामा कोकोसँग बस्ने भन्ने कुरा आयो ।
विश्व, शलभ लुत्त एउटा कोठामा छिरे । मणिले जयदेवलाई छाने अनि राजेश, श्रीओम । मेरो कुनै छनोट थिएन । म चुपचाप एकातिर ब्याग बोकेर उभिएको थिएँ । मलाई जोडा छान्नु थिएन । जोसँग बस्नुपरे पनि ठीक थियो । अन्ततः सबैका जोडा मिलेपछि इलामबाट आएका कवि विमल वैद्य र म मात्र बाँकी भयौँ ।
जोडा छान्ने अरू सबै होटेलका दोस्रो तलाका कोठाहरूमा बसे भने अन्तिममा विमल र मलाई तेस्रो तलामा रहेको ३०५ नम्बरको कोठामा लगेर राखे । कोठा भव्य थियो टेबलमा चिया कफीको प्याकेट, पानी तताउने जग, सफा ओड्ने ओछ्याउने, दाँत माझ्ने ब्रस र पेस्ट, फराकिलो बाथरुम, बाथरुममा कमोड ।
यहाँ मैले कमोड किन भनेको भने भोलिपल्ट बिहान होटेलबारे कुरा हुँदा श्रीओमले “होटेलमा कमोड भएको भए हुने” भनेका थिए । उनी बसेको कोठामा चाहिँ कमोड रहेनछ ।
वास्तवमा अहिलेको यो युगमा पनि राजधानी बाहिरका होटेलहरूमा कमोड नहुन पनि सक्छन् र ? टुकुक्कै बस्नुपर्ने पुराना किसिमका ट्वाइलेट हुन सक्छन् ।
गत मङ्सिर महिनामा साहित्यक भ्रमणमा इलाम जाँदा पनि त्यहाँका होटेलहरूमा कमोड नभएर असुविधा भएको सम्झन्छु । उता कार्यक्रममा इलाममा पर्यटन विषयमा कार्यपत्र पढेका थिए । तर होटेलहरूमा कमोड नराखेर कसरी पर्यटक भित्र्याउँछन् । तिनीहरूले म छक्क परेको थिएँ ।
जे होस्, हामी बसेको ३०५ नम्बरको कोठामा कमोड थियो । कोठा राम्रो देखेर भोलिपल्ट बिहान मैले होटेलको कोठाको फोटो खिचेर तेह्रथुममा स्तरीय होटेल भन्ने क्याप्सन राखी फेसबुकमा पोस्ट गरेको थिएँ ।
त्यो ब्लु हेमेन गेस्ट हाउस एन्ड रेस्टुरालाई होटेल नभनी गेस्ट हाउस नामकरण गरेका थिए तर मैले चाहिँ त्यसलाई एउटा सुविधा सम्पन्न होटेल ठानेँ ।
२०५५ सालमा रोमभगत् प्रधानाङ्गले स्थापना गरेको ब्लु हेमेनलाई पछि २०७३ मा भत्काएर नयाँ स्वरूप दिएका रहेछन् । अहिले रोमभगतको निधनपछि छोरा केदार र परिवारले सम्हालेका रहेछन् । मेरा लागि अपत्यारिलो तेह्रथुममा एक स्तरीय होटेल, त्यो होटेल कर्मशील रोमभगवतको सफलताको निशानी पनि रहेछ । छोरा केदारका अनुसार उनका बाबु घर नभएर पहिले पाटीमा बस्थे रे ।
कतै पढेको थिएँ, तेह्रथुमलाई लालीगुराँसको राजधानी भनेर ।
सोधेँ– खोइ त ? लालीगुराँस खोइ ?
जबाफ आयो, तीनजुरेमा मात्र अट्ठाइस प्रजातिका लालीगुराँस पाइन्छन् । त्यहाँ गएर हेर्नुपर्छ ।
पmर्कंदा तीनजुरे गएर लालीगुराँस हेर्ने भन्ने कुरा आयो, लालीगुराँस नदेखेको विमलले झ्यालबाट बाहिर हेर्दै भने लालीगुराँस होइन दाइ, जताततै च्वाँचे नै च्वाँचे रहेछन् ।
च्वाँचे मेरा लागि नयाँ शब्द थियो । विमललाई सोधे– “के हो च्वाँचे भनेको ?”
विमलले जबाफ दिए– “सुँगुर ।”
झ्यालबाट बाहिर हेरेँ । नभन्दै जताततै ससाना खोर बनाएका रहेछन् । त्यसभित्र च्वाँचे पालिएका रहेछन् । दृश्य मेरा लागि नौलो थियो । विश्वले आज बिहान सबैलाई म्याङ्लुङ देवीको दर्शन गराउन लैजाने भए । त्यसपछि शुक्रबारे हाट ।
“देवीको दर्शन गर्न खाली पेटमै जानुपर्छ है !” भनेर विश्वले घोषण गर्दा अब बिहानको खाजा नखुवाउने रहेछन् भन्ने अनुमान भयो ।
म्याङ्लुङदेवीको दर्शन गर्न खाली पेट नै गयौँ । बाल्यकालमा मैले म्याङ्लुङबारे पुस्तकमा पढेको सम्झना भयो । बिरालोलाई हतियारले लाग्दा बिराले ढुङ्गामा परिणत भएको र ढुङ्गाबाट रगत निस्केको कथा पढ्नुपथ्र्यो । लिम्बु भाषामा म्याङ भनेको बिरालो र लुङ भनेको ढुङ्गा रहेछ । पहिले म्याङ्लुङ देवी भनिए पनि अचेल सिंहबाहिनी भगवतीका रूपमा पनि पूजा गरिँदो रहेछ ।
म्याङलुङदेवीको दर्शनपछि हामी सबै शुक्रबारे हाट हेर्न टुँडिखेलतिर लाग्यौँ । म्याङलुङमा वि.सं. १९५२ सालमा मालपोत कार्यालय स्थापना भएको र त्यही बेलादेखि हरेक शुक्रबार शुक्रबारे हाट लाग्न थालेको कुरा जानकारी आयो ।
टुँडिखेल सम्पूर्ण ढाकिने गरी हाटबजार लाग्दो रहेछ । हाटबजारमा दैनिक आवश्यकताका खाद्य सामग्री, च्वाँचे, कुखुरा, गाउँका उत्पादनहरू मेवा, सुर्ती, बेलचन, च्याउ, सक्खर, सिस्नो आदि बिक्रीमा राखिएका रहेछन् ।
सानो बच्चो च्वाँचे एक दम्पतीले २५०० रुपियाँमा किनेर लगेको देखेँ । बिहानको नास्ता गर्न नपाएका हामीले त्यहाँ मेवा किनेर ताछ्न लगाई खायौँ । यता राजधानीमा केमिकल राखेर पकाइएका मेवाको कृत्रिम स्वाद पाएका हामीले त्यहाँको आर्गानिक मेवाको स्वाद बिछट्टै मन परायौँ । हुन पनि त्यहाँको शुक्रबारे हाटबाट ग्रामीण सुगन्ध आइरहेको थियो ।
तेह्रथुम यात्राभरि विश्वविमोहन श्रेष्ठ एक पथ प्रदर्शकका रूपमा पनि रहे । म्याङ्लुङ बजारबाट तल बस्ती देखाउँदै भन्थे– “ऊ ः त्यो साब्ला हो । अनि अभि सुवेदी, रोशन सुवेदीहरूको घर रहेको ठाउँँ । त्यही बाटो भएर खोरङ्गा खोला हुँदै मास्केहरूको थलो जलजले अनि भूपू प्रधानमन्त्री केपी ओलीको घर आठराई जान सकिन्छ ।”
पछि वसन्तपुरमा पनि दाहिनेतिरको ओरालो देखाउँदै भने– “त्यता छथर । लीलबहादुर क्षेत्रीको गाउँ ।”
दिउँसो वसन्त काव्य उत्सव कार्यक्रम थियो । वसन्त काव्य उत्सव जसका निम्ति हामी तेह्रथुम पुगेका थियौँ । त्यहाँको उद्योग वाणिज्य सङ्घको हलमा काव्य उत्सव गरिन तयार थियो । त्यही हलमा चिरपरिचित कवि विजय सुब्बासँग भेट भयो । तेह्रथुममा कविता उत्सव गराउन भनी आफू पनि सक्रिय रहेको कुरा उनले भने ।
वसन्त काव्य उत्सवमा तेह्रथुमका स्थानीय कविहरूको उल्लेखनीय सहभागिता देखेर मन प्रसन्न भयो । त्यहाँ गुराँस साहित्य प्रतिष्ठान नामको एक साहित्यिक संस्था नै पनि रहेछ । त्यसले स्थानीय कवि, कवयत्रीहरूले राम्रा राम्रा कविता, गजल, मुक्तकहरू सुनाए । त्यस उत्सव कार्यक्रममा विराटनगरबाट हामीसँगै आएका कवि विवश पोखरेलले ‘बग्दै बग्दै जाने छोरासँग’ कविता सुनाए । कतै पढेर मलाई त्यो कविताले उहिल्यै प्रभावमा पारेको थियो । अवसर सदुपयोग गरेर त्यसलाई मैले भिडियोमा छायाङ्कन गर्ने निधो गरेँ । त्यो निधो मोबाइल छायाङ्कन गरेर ‘बग्दै बग्दै जाने छोरासँग’लाई सुरक्षित गरिहालँे पनि ।
अर्को बिहान त्यहीँ होटेलबाट देखिने गढीडाँडाको टुप्पोमा अवस्थित पाथीभरा मन्दिर जाने भनेका थिए विश्वले पनि तर त्यस अधि नै विश्वले मलाई आऊ, म्याङलुङदेवी दर्शन गर्न जाऊँ भनी तानेर लगे ।
म्याङ्लुङदेवी अर्थात् सिंहबाहिनी भगवतीका अगाडि पुगेर दर्शन गर्न लाग्दा विश्वले मलाई सिकाउँदै थिए– “ल, परिवार लिएर आउँछु भन ।” तर मैले भनिनँ । उसले चाहिँ पटक पटक परिवार लिएर दर्शन गराउन आउँछु भन्न लगाउन कर गरिरहेका थिए ।
गढीडाँडामाथि रहेको पाथीभरा मन्दिर तलबाट हेर्दा धेरै उच्चा देखिए तापनि जाँदा चाहिँ त्यो यताको करिब करिब स्वयम्भूको उकालो जस्तो, आदिनाथको उकालोजस्तो लागिरह्यो । पाथीभरा जाँदाखेरी एउटा अचम्मको के भयो भने तल चोकदेखि माथि मन्दिरसम्म जान र फर्कन हामीलाई एउटा खैरो रङको कुकुरले साथ दिइरह्यो । हामी जा भनेर धपाउन खोज्यौँ, त्यो हामीसँगै आउँथ्यो । एक अर्थमा भन्ने हो भने जङ्गलबीचको उकालोमा त्यो कुकुर हाम्रा लागि एक पथप्रदर्शकका रूपमा, संरक्षकका रूपमा रह्यो । पछि हामी फर्केर तल आएपछि त्यसले हामीलाई स्वतः छाडेर कतै हरायो । हामीबाट केही आशा नगरी ।
खाना खाएर विराटनगर फर्कने सुरसारमा बस चढेपछि मैले एउटा प्रस्ताव राखेँ– “हामी धनकुटा झमक घिमिरेलाई पनि भेटेर जाऔँ न ।”
सबैले यो प्रस्ताव सहर्ष स्वीकार गरेँ । यस कामका लागि सहजीकरण गरिदिए, हाम्रै टोलीभित्रका धनकुटेली कवि रमेशचन्द्र अधिकारीले । बाटैबाट उनले झमकलाई फोन गरिदिए र हामी भेट्न आउने कुरा सुचित गरे ।
झमकलाई भेट्न जाने कुराले गर्दा नै समयको वचतका लागि हामी २८ प्रजातिका लालीगुराँस हेर्न तीनजुरे गएनौँ । चोलुङ पार्क घुम्यौँ । समय त त्यत्तिकै सकिगयो नि । तीनजुरे गएनौँ । किनभने त्यहाँ जाँदा हामी विराटनगर धेरै अबेर पुग्ने डर थियो ।
प्रदेश नम्बर १ को त्यो भेगमा पुग्दा मैले स्तम्भहरूको बिगबिगी देखेँ । म्याङ्लुङ नगरपालिकामा विशाल म्याङ (बिरालो) को स्तम्भ, लसुनेमा लसुनको, हिलेमा तोङ्वाकोे, गुराँसेमा गुरासको सिँधुवा बजारमा पूmलकोभीको स्तम्भ जताततै स्तम्भै स्तम्भ– विशाल स्तम्भहरू । पहिचान तथा महìव सडकमै देख्न मिलोस् भनेर यस्ता स्तम्भ बनाइएका रे । जे होस् आकर्षक देखिन्थे । नराम्रो चाहिँ देखिन्नथ्यो ।
मैले रमेशलाई झमक भेट्टाउने मात्र होइन, धनकुटामा त्यो नरिवल बिस्कुट कोसेली लान किन्नुपर्ने कुराको अनुरोध गरेँ ।
रमेशले भने– हुन्छ । किनौला । धनकुटामा मोहन बिस्कुट उद्योगको किन्नुपर्छ । यस्तो बिस्कुट सुरु गरेको मोहन बिस्कुटले नै हो २०११ सालमा ।
अहिले त त्यस्ता बिस्कुट धेरैले बनाउँछन् । हुन पनि त्यो भेगको पूरै बजार त्यस्तै बिस्कुटले ढाकिएका रहेछन् । म्याङलुङ, भेडेटार, वसन्तपुर जताततै त्यस्तै नरिवल बिस्कुट मात्र देखिए । यता हाम्रोतिर त्यत्तिकै लोकप्रिय खजुरीको कोपफ आदि देखिएनन् ।
हामी झमक घिमिरेकहाँ साढे दुई बजेतिर पुग्दा तिनी हाम्रै बाटो हेरेर बसिरहेकी रहिछिन् । देशका कवि लेखकहरू भेट्दा तिनी खुसी भइन् । मणि, श्रीओमले तिनीसित पहिल्यै साक्षात्कार गरिसकेका रहेछन् भने मसहित विश्व, विमल, शुलभ, जयदेव, राजेशले पहिलो पटक भेटेका रहेछौँ । सम्भवतः गोकुल र विवशले पनि ।
झमकसँग कुरा गर्न, फोटो खिचाउन सबै इच्छुक देखिए । फोटो खिचाएपछि फेसबुकमा पोस्ट गर्नका लागि मैले त्यहाँकी बहिनीलाई वाइफाईको पासवर्ड सोधेँ । ती बहिनीले झमकलाई सोधिन्– “वाइफाईको पासर्वड के हो ?”
झमकले आँखा ठूलो पार्दै कापीमा लेखिन् –
“किन ? म नाजबाफ ।” धनकुटाका कवि रमेशचन्द्र अधिकारीले हामीलाई झमकसँग भेट गराई नरिवल बिस्कुट किन्नमा पनि सहयोग गरेपछि उनी हामीबाट बिदा भए भने विराटनगरमा भोलिपल्ट बिहानै विमल वैद्य पनि हामीबाट बिदाबारी भए । हामीबाट के भन्नु ? सबै सुतिरहेका थिए । मैले पु¥याएको थिएँ विमललाई बसस्टप ।
तेह्रथुममा भैmँ विराटनगरमा पनि मेरा रुमपार्टनर विमल नै थिए । कोठामा रातभरि एसी चलाएर हामीले गर्मी भगायौ । त्यसो त विवशको प्रायोजनमा केही पेग हामीले पिएका थियौँ । गर्मी त त्यसको नशाले पनि कम भएको थियो होला ।
त्यही दिन विराटनगरमा पनि वसन्त काव्य उत्सव थियो र साँझ ५ः५५ को विमानद्वारा हामीलाई काठमाडौँ फर्कनु पनि परेको थियो । दिउँसोको कार्यक्रम प्याक थियो भने बिहान फुर्सदमा थियौँ ।
बिहान गोकुलले हामीलाई संसारीमाईस्थित तीसको दशकमा शनिबार साहित्यिक समूहले हरेक शनिबार कार्यक्रम गर्ने मञ्चमा पु¥याए । शनिबार साहित्यिक समूहका साहित्यकार प्रमोद प्रधान, महेश प्रसाई, प्रमिला उप्रेती आदिसँग त्यो बेला मेरो पत्रमित्रता हुन गएको र त्यो स्थान बारे त्यही बेलादेखि सुन्दै आएको हुँदा त्यो स्थान हेर्न पाउँदा मलाई खुसीको अनुभव भयो । त्यहाँ उभिएर शलभ, विश्व, जयदेव, गोकुल र मैले फोटो खिचायौँ ।
शलभ, विश्व, जयदेव, गोकुल र मेरो त्यो टोली त्यसपछि सिटीमा बसेर विश्वको जग्गा खोज्न गयौँ । सिटी भनेको विराटनगरमा अचेल रिक्साको साटो व्याट्रीबाट चल्ने सार्वजनिक यातायातको साधन रहेछ ।
त्यो पुरानो साइकल जस्तै चलाइने रिक्सा त विराटनगरबाट बढारिइसकेको रहेछ ।
२०४२ सालतिर विश्वले विराटनगरमा ४ कट्ठा जग्गा किनेका रहेछन् । त्यो जग्गा कुनै सहित्यिक संस्थाले केही वर्ष लिजमा लिन चाहेमा निःशुल्क दिन चाहन्थे । विवश र गोकुलकै लागि पनि काम लाग्न सक्छ भनेर हेर्न गएका हामी ।
त्यसपछिको समय वसन्त काव्य गोष्ठीलाई दिइयो । विराटनगरको वसन्त काव्य उत्सव समालोचक दधिराज सुवेदीको प्रमुख आतिथ्यमा भव्यताका साथ सम्पन्न भयो । दधिराज सुवेदीसँगको चिनाजानी पनि तीसको दशकतिरकै भन्नुपर्छ । उहाँ र म त्यो समय नेपाल खानेपानी समितिमा जागिरे थियौँ । सुवेदी विराटनगर शाखामा, म त्रिपुरेश्वरको मुख्य कार्यालयमा ।
विराटनगरका एकसेएक कविका कविताहरू सुनेर मन गदगद भइरहेको थियो भने उता एयरपोर्ट पुग्ने हतारो पनि त्यत्तिकै थियो ।
सधैँ डिले हुने बुद्ध एयर त्यो दिन चाहिँ अन टाइम उड्ने भनी तयार थियो । अन टाइम अर्थात् ५ः५५ बजे ।
बुहारीले प्लेनमा बसेपछि फोन गरी सूचित गर्नुहोला अनि म तपाईंलाई पिकअप गर्न निस्कनेछु भनेकी थिइन् । बुद्ध एयर यू४७१४ को सिट नम्बर १४बीमा बसेपछि बुहारीलाई फोन गरेँ– ल, म प्लेन चढँे है । उड्न लाग्यो । त्यसपछि विमानभित्र एक दुईवटा सेल्फी खिच्न मन लागेर खिचेँ ।
तेह्रथुमबाट फर्केपछि साथीभाइहरूले सोधे– “तेह्रथुम गएर आउनुभएको ? तीनजुरे त पुग्नु भयो होला नि ?”
“अहँ, गइएन ।” जबाफ दिने गरेको छु ।
“ए ः जानुपर्ने । लालीगुराँस हेर्न जानुपर्ने ।” उनीहरू भन्ने गर्छन् । म चाहिँ मनमनै जबाफ दिर्ने गर्छु– “तीनजुरे नगए पनि हाम्रो साहित्यिक यात्रा निकै उपलब्धिपूर्ण रहेको छ मित्र !”