• १५ वैशाख २०८१, शनिबार

व्यवस्थित बन्यो मदन–आश्रित पार्क

blog

बागलुङ समाचारदाता

बागलुङ, साउन ११ गते । बागलुङ नगरपालिका–१, बाङ्गेचौर घुम्तीको मदन–आश्रित पार्क चिरिच्याट्ट परिएको छ। पार्कभित्रको झाडी व्यवस्थापन तथा पार्कले चर्चेको जग्गामा पक्की पर्खाल निर्माण गरिएसँगै पार्क आकर्षक देखिएको छ । 

पार्कको पुरानो संरचनालाई पुनर्निर्माण गरी व्यवस्थित गरिएको छ। झन्डै पाँच रोपनी जग्गामा फैलिएको पार्क बागलुङ पोखरा सडक विस्तारको क्रममा साँघुरिएको थियो। 

वन मन्त्रालयले विनियोजन गरेको १५ लाख रुपियाँ रकमले पार्क पुनर्निर्माण गरेको प्रतिनिधि सभा सांसद मनकुमारी केसीले जानकारी दिनुभयो। बागलुङ–पर्वत जोड्ने लामो झोलुङ्गे पुल, शहीद पार्कको नजिकै पर्छ। विगत केही वर्षदेखि पार्क अस्तव्यस्त थियो। 

तत्कालीन बागलुङ नगरप्रमुख स्वर्गीय ऋषिराम शर्मा नेतृत्वको टोलीले २०५४ सालमा सडकमुनि बाङ्गेचौर घुम्ती नजिकको जग्गालाई मदन–आश्रित पार्कको नामकरण गरी संरक्षण गर्दै आएको छ। मन्त्रालयले विनियोजन गरेको रकमबाट पर्खाल, तारबार र बोर्ड व्यवस्थापनको काम भएको छ। आगमी वर्षमा पार्कभित्र थप संरचना निर्माण गर्ने सांसद केसीको भनाइ छ । 

पार्कमा पूर्वाधार निर्माणसहित रङरोगन गरेको डिभिजन वन कार्यालयका प्रमुख मुकुन्दप्रसाद अधिकारीले बताउनुभयो। अघिल्लो वर्ष बीपी पार्क र यो वर्ष मदन–आश्रित पार्कमा बजेट खर्च गरेको उहाँको भनाइ छ।  

पार्क व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर बोहोराले भन्नुभयो, अहिले चिटिक्क परेको छ। शहीदपार्क, मदन–आश्रित पार्क र एसियाकै लामो झोलुङ्गे पुल पर्यटकीय क्षेत्रका रूपमा विकास हुनेछ। 

बागलुङ नगरपालिका–१, रामरेखा क्षेत्र शहीद तथा उच्च राजनीतिक नेतृत्वको स्मृतिमा तयार गरिएको पार्क क्षेत्रका रूपमा विकास भइरहेको छ। त्यहाँ शहीद पार्क, मदन–आश्रित पार्क, बीपी पार्क र डीबी पार्क निर्माण गरिएको छ।