• १३ साउन २०८१, आइतबार

अस्पतालमा स्वास्थ्य बीमा गराएका विरामी बढे

blog

स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आएको नेपालगञ्जस्थित भेरी अस्पताल । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, साउन १० गते । निजी अस्पताल र मेडिकल कलेजमा सरकारले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि स्वास्थ्य बीमा गराएका विरामीको संख्या सरकारी अस्पतालमा ह्वात्तै बढेको छ ।  

साउन १ गतेदेखि निजी अस्पताल तथा मेडिकल कलेजमा बीमा कार्यक्रम सरकारले बन्द गरेको थियो । नेपालगञ्ज मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरिएपछि पश्चिम नेपालको सबैभन्दा ठूलो रेफरल भेरी अस्पताल नेपालगञ्जमा स्वास्थ्य बीमाको उपचार गराउने बिरामीको संख्या अहिले तीन गुणाले बढेको अस्पतालले जनाएको छ । 

भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले सरकारले निजी तथा मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरेपछि भेरी अस्पतालमा बीमाको उपचार गराउने तीन गुणा भन्दा पनि बढी विरामी आउन थालेको बताउनुभयो । 

असार महिनाको अन्तिम सातासम्म बीमा सेवा लिन अस्पताल आउनेको संख्या ९० जनाको हाराहारीमा हुनेगरेकोमा साउनको पहिलो सातादेखि यो संख्या बढेर तीन सयदेखि चारसय सम्म पुगेको श्रेष्ठको भनाइ छ । 

स्वास्थ्य बीमा सेवा लिने बिरामीको संख्या बढेपछि अस्पताललाई व्यवस्थापन गर्न मुश्किल परेको छ । जनशक्तिको अभावले सेवा दिन हम्मे परेको उहाँले बताउनुभयो । सरकारले अग्रिम जानकारी नगराएर एक्कासी स्वास्थ्य बीमा बन्द गरेपछि समस्या भएको अस्प्तालको भनाइ छ ।  

जनशक्तिको अभावमा समय लाग्दा सेवा लिन अस्पताल पुग्ने विरामीले घण्टौं लाइन लागेर उभिनु पर्दा समस्या भैरहेको विरामीको गुनासो छ । चर्को गर्मीमा घण्टौं लाइन लागेर उभिनु पर्दा थप सास्ती खेप्नुपरेको उनिहरुको भनाइ छ । 

पश्चिम नेपालको सबैभन्दा बढी सुविधा सम्पन्न सरकारी अस्पतालको रुपमा रहेको भेरी अस्पतालमा यस क्षेत्रका सयौं विरामी दैनिक उपचारका लागि आउने गर्छन् । जनशक्तिको सधैं अभाव रहँदै आएकाले आवश्यक जनशक्ति तत्काल थप्नु पर्ने विरामी र विरामी कुरुवाको सुझाव छ ।