• ३ साउन २०८१, बिहिबार

लोपोन्मुख राजीलाई सुरक्षित आवास

blog

धनगढी समाचारदाता

धनगढी, साउन १० गते ।  सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत कैलालीको भजनी नगरपालिका–९, भुरुवामा २५ घर निर्माण गरी हस्तान्तरण गरेको छ। 

भुरुवामा लोपोन्मुख राजी परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको हो। प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले निर्माण भएको सुरक्षित आवास राजी समुदायलाई हस्तान्तरण गर्नुभयो। आवास निर्माणका लागि २०७७ माघमा राजी जातिको परम्परागत कच्ची घर भत्काएको थियो। सुरक्षित आवास प्राप्त गरेपछि भजनी नगरपालिका–९, भुरुवाकी मीना राजीले खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नयाँ घर पाउँदा धेरै खुसी भएकी छु।” 

वर्षौंदेखि झुप्रोमा बस्दै आएकाका लागि नयाँ घर खुसीको उपहार भएको डम्मर राजीले बताउनुभयो। उहाँले भन्नुभयो, “वर्षौंदेखि झुप्रोमा बस्न बाध्य थियौँ। वर्षामा नयाँ घर पाएपछि खुसियाली छाएको छ।” प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रमअनुसार भुरुवाका लोपोन्मुख राजी समुदायको २५ परिवारका लागि सुरक्षित आवास निर्माण अगाडि बढाइएको थियो। सोही आवमा ठेक्का भएपछि पुस २९ गते मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमबीच सुरक्षित आवास निर्माणको शिलान्यास गर्नुभएको थियो। तत्कालीन समयमा छ महिनाभित्रै २५ घर निर्माण गर्ने गरी ठेक्का भए पनि ठेक्का पाएको बी एन्ड सी बिल्डर्सले तदारुकताका साथ काम नगर्दा निर्माण कार्यमा ढिलाइ भई बल्ल घर हस्तान्तरण गरिएको छ। भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत सो निर्माण कार्य भएको थियो।

मन्त्री विनीता चौधरीले अति विपन्न, प्रकोपबाट घरमा क्षति भएकाका परिवारलाई प्राथमिकतामा राखेर राजी समुदायका लागि घर निर्माण गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “सबैले बस्ने घर पाउनुपर्छ। त्यसैले अति विपन्न राजी परिवारका लागि सुरक्षित आवासको बन्दोबस्त प्रदेश सरकारले गरेको हो।”

लोपोन्मुख, सीमान्तकृत समुदाय र अति विपन्न परिवारलाई सुरक्षित आवासको व्यवस्था गर्नकै लागि प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत नमुना बस्ती विकास कार्यक्रमको अवधारणा ल्याएको मन्त्री चौधरीको भनाइ थियो। 

गुजाराका लागि वनजङ्गल र जलमा निर्भर यो समुदायको सुरक्षित आवास निर्माणका लागि भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण कम्पनीसँग एक करोड एक लाख २९ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार निर्माण कम्पनीले दुईकोठे पक्की घरमा जस्ताको छाना राख्नुपर्ने, प्लास्टरसहित घरको रङरोगन गर्नुपर्ने र चर्पी बनाउनुपर्ने थियो। लोपोन्मुख राजी समुदायका लागि सुरक्षित आवास निर्माणमा ह्याविट्याट फर ह्युमानिटी, नेपालले प्राविधिक तथा सामाजिक परिचालनमा सहयोग गरेको थियो। 

कैलालीसहित केही जिल्लामा मात्रै बसोबास रहेको लोपोन्मुख राजी समुदाय जङ्गल र जलमा आश्रित छन्। वनमा डुल्दै मह काढ्ने, नदीनालामा माछा मार्ने कार्य गरेर यो समुदायका व्यक्तिले जीवन निर्वाह गर्दै आएका छन्। पछिल्लो समय कतिपय परिवारले खेतीपाती पनि अँगालेका छन्।