• १ वैशाख २०८३, मङ्गलबार

वैशाखका लागि पनि घट्यो ब्याजदर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १ गते । मुद्दती निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका वाणिज्य बैङ्कले नयाँ वर्षको सुरुवात पनि ब्याजदर घटाएरै गरेका छन् । बैङ्कहरूले २०८३ वैशाखका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । 

बैङ्कहरूले सार्वजनिक गरेको नयाँ दर अनुसार औसत ब्याजदर व्यक्तिगततर्फ ४.४१ प्रतिशत र संस्थागततर्फ ३.२३ प्रतिशत कायम भएको छ, जुन चैतको तुलनामा कम हो ।

२०८२ सालभर वाणिज्य बैङ्कको ब्याजदर निरन्तर ओरालो लाग्दै जाँदा बैङ्किङ प्रणालीमा तरलता थुप्रिने र कर्जा विस्तार सुस्त रहने प्रवृत्तिले अझै निरन्तरता पाउने देखिएको छ । वर्षको सुरुवातमा उच्च रहेको मुद्दती निक्षेपको ब्याजदर अन्त्यसम्म आइपुग्दा उल्लेख्य रूपमा घटेपछि निक्षेपकर्ताको प्रतिफल घटेको छ । यता सस्तो कर्जा उपलब्ध हुँदासमेत लगानी विस्तारले अपेक्षित गति लिन सकेको छैन ।

चैतमा व्यक्तिगततर्फ औसत ब्याजदर ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत थियो । चैतको तुलनामा वैशाखमा ब्याजदर क्रमशः ०.०८ र ०.०६ प्रतिशत विन्दुले घटेको छ ।

सञ्चालनमा रहेका वाणिज्य बैङ्कमध्ये अधिकांशले चैतको तुलनामा वैशाखमा ब्याजदर घटाएर ब्याजदर सार्वजनिक गरेका छन् । वैशाखका लागि नौ वटा बैङ्कले ब्याजदर घटाएका छन् भने १० वटा बैङ्कले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

सिटिजन्स बैङ्कले चैतकै ४.५० प्रतिशत ब्याजदरलाई घटाएर वैशाखका लागि ४.१५ प्रतिशत तोकेको छ ।

एभरेस्ट बैङ्कले ४.०५ प्रतिशत, हिमालयन बैङ्कले ४.५० प्रतिशत, कुमारी बैङ्कले ४.०५ प्रतिशत, एनआइसी एसिया बैङ्कले ४.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कले ४.७५ प्रतिशत, सिद्धार्थ बैङ्क ४.०० प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ४.१० प्रतिशत ब्याजदर तोकेका छन् ।

यता ग्लोबल आइएमई बैङ्क, इन्भेस्टमेन्ट मेगा बैङ्क, कृषि विकास बैङ्क, लक्ष्मी सनराइज बैङ्क, माछापुच्छ«े बैङ्क, नबिल बैङ्क, नेपाल बैङ्क, नेपाल एसबिआई बैङ्क, एनएमबी बैङ्क, प्राइम कमर्सियल बैङ्क, प्रभु बैङ्क र सानिमा बैङ्कले चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।