• १ वैशाख २०८३, मङ्गलबार

वार्षिक मेलामै सीमित ‘सलहेस फूलवारी’

blog

लहान नगरपालिका वडा नं. १२ र २२ मा रहेको धार्मिक–पर्यटकीय स्थल सलहेस फूलवारी। तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, वैशाख १ गते ।
जनकपुरको जानकी मन्दिर पछिको दोस्रो धार्मिक–पर्यटकीय सम्भावना बोकेको सलहेस फूलवारी अहिलेसम्म वार्षिक मेलामै सीमित रहेको छ। धार्मिक तथा पर्यटकीय प्रचुर सम्भावना बोकेको यस क्षेत्रसँग जोडिएका मानिकदह, पकडियागढ र मैसोथालाई ‘सलहेस सर्किट’का रूपमा विकास गर्ने चर्चा धेरै भए पनि काम भने न्यून भएको जनगुनासो छ। परापूर्वकालदेखि नयाँ वर्ष अर्थात् वैशाख १ गते यहाँ मेला लाग्दै आएको छ।

लहान नगरपालिकाको मुख्य चोकबाट करिब चार किलोमिटर पश्चिम वडा नं. १२ र २२ मा पर्ने सलहेस फूलवारीमा सलहेस र दौना मालिनको मन्दिर रहेको छ। मन्दिरअगाडि रहेको हरमको रुखमा वैशाख १ गते नै सुनाखरी प्रजातिको फूल फुल्ने गर्दछ। यही फूल सलहेस र दौना मालिनको प्रेम प्रसङ्गसँग जोडिएको जनविश्वास छ। यस दिन नेपालका विभिन्न जिल्ला तथा भारतको बिहार बाट लाखौँ भक्तजनको घुइँचो लाग्ने गर्दछ।

मिथिला संस्कृतिसँग गहिरो सम्बन्ध बोकेको यो स्थल राजा सलहेसको कथा, जनविश्वास र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। किंवदन्तीअनुसार सलहेस न्यायप्रेमी, पराक्रमी र जनहितमा समर्पित भएकाले उहाँ लोकनायकका रूपमा पूजनीय छन्।

अन्तर्राष्ट्रिय स्तरको धार्मिक–पर्यटकीय गन्तव्य बन्न सक्ने सलहेससँग सम्बन्धित मानिकदह लहान नगरपालिका–२४ झुट्कीमा पर्दछ। राजा कुल्हेश्वरको दरबार रहेको पकडियागढ वडा नं. १८ अमहीमा छ भने सलहेसको जन्मस्थल मैसोथा हाल सिरहा नगरपालिका–७ मा पर्दछ।

वरिष्ठ लेखक तथा सामाजिक अभियन्ता रामरिझन यादव भन्नुहुन्छ, “यसको चर्चा जति भयो, त्यसअनुसार एक चौथाइ पनि काम हुन सकेन, यही दुर्भाग्य हो।” उहाँका अनुसार सलहेस सर्किटको अवधारणालाई मूर्त रूप दिए भारतीय पर्यटकको बाह्रै महिना ओइरो लाग्न सक्छ।

उहाँले भन्नुभयो, “पर्यटकका लागि आवास, सुरक्षा, यातायात, सडक र शौचालयजस्ता आधारभूत आवश्यकता व्यवस्थापन हुन नसक्दा कसरी विकास हुन्छ ? वर्षमा एकपटक ठूलो मेला मात्रै लगाएर हुँदैन, बाह्रै महिना पर्यटक आइरहने क्षेत्रका रूपमा विकास गर्न आवश्यक छ।”

सलहेस फूलवारीमा औषधीय गुण भएका पुत्रजीवा, शिवलिङ्ग आकारको पितोजिया जस्ता वनस्पति पाइन्छन्। साथै, यो सिमसार क्षेत्रको उद्गमस्थलसमेत भएकाले अनुसन्धान गरी खानेपानी आपूर्तिको सम्भावनासमेत रहेको जानकारहरू बताउँछन्। धार्मिक, वातावरणीय र वन विज्ञानको दृष्टिकोणबाट संरक्षण तथा पर्यटन विकासका लागि अपेक्षित काम हुन नसक्नु तीनै तहका सरकारका लागि चिन्ताको विषय भएको वातावरणविद दिनेश यादवको भनाइ छ।

वैशाख १ गते लाग्ने मेलाका लागि चार दिनअघिदेखि नै भारतको बिहार राज्यका दरभंगा, भागलपुर, मधुबनी, अररिया लगायत जिल्लाबाट भक्तजन आउने गरेका छन्। पर्याप्त धर्मशाला र शौचालय नहुँदा उनीहरू रुखमुनि बस्न बाध्य छन्। भारतको भागलपुरबाट आएका नरेश पासवान भन्छन्, “यहाँ धर्मशाला, शौचालय र सलहेससँग जोडिएका मानिकदह, पकडियागढ र मैसोथा जाने भरपर्दो यातायातको व्यवस्था भए भारतबाट अझ धेरै भक्तजन आउनेछन्।”

इतिहासअनुसार सलहेस फूलवारी राजा पुरादित्यले १४औँ शताब्दीमा लगाएका थिए भने १६औँ शताब्दीमा राजा कुल्हेश्वरले यसको संरक्षणको जिम्मा सलहेसलाई दिएका थिए। वर्षको अन्तिम दिन बेलुकी बीचको रुखमा फूल फुल्ने र फूलवारीमा सबैभन्दा पहिले राजा कुल्हेश्वरको पूजा हुने परम्परा अझै कायम छ। फूलवारीको बीचमा ठूलो मूल छ, जहाँबाट नदी निस्किएको छ। गर्मीयाममा पनि यहाँ अत्यन्त शीतल अनुभूति हुन्छ।

स्वर्गीय पूर्व प्रतिनिधिसभा सदस्य नथुनी सिंह दुनुवारद्वारा लिखित ‘लोकनायक सलहेस’ पुस्तकअनुसार सलहेस र दौना मालिनको पहिलो भेट यही फूलवारीमा भएको थियो। उनीहरूको प्रेमकथा नै वैशाख १ गते फूलका रूपमा प्रकट हुने जनविश्वास रहेको छ। अन्याय र अराजकताको अन्त्य गरी न्याय दिलाएको विश्वासका कारण सलहेसले लोकनायकको उपाधि पाएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिरहा–१ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले समृद्धिको आधार पर्यटनसमेत भएको बताउनुभयो। उहाँले भन्नुभयो, “जानकी मन्दिरपछिको दोस्रो धार्मिक–पर्यटकीय स्थल सलहेस फूलवारी तथा यससँग जोडिएका पकडियागढ र मानिकदहको विकासका लागि सदन र सरकारसँग पहल गर्नेछु। अब वार्षिक मेलामै सीमित नभई बाह्रै महिना धार्मिक पर्यटक आउने गरी गुरुयोजना बनाएर विकासलाई गति दिइनेछ।”