मुगु समाचारदाता
मुगु, वैशाख १ गते । नेपालको सबैभन्दा ठुलो राराताल घुम्ने मौसम सुरु भएपछि पर्यटक बढ्न थालेका छन् । अन्य मौसमभन्दा चैतदेखि असारसम्म रारामा भ्रमण गर्न उपयुक्त मानिन्छ । रारा राष्ट्रिय निकुञ्जका अनुसार रारामा चैतदेखि असारसम्म उपयुक्त मौसम भएकाले पर्यटक यो समयमा बढी भ्रमण गर्न गर्छन् ।
निकुञ्जका प्रमुख विष्णुबाबु श्रेष्ठका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा ११ हजार ५२५ जना आन्तरिक र विदेशी पर्यटक रारामा घुम्न आएका छन् । सुर्खेतबाट रारातालको अवलोकन गर्न आएका कृष्णहरि खनालले यो समयमा राराको मौसम नै अनौठो पाएको बताउनुभयो । “रारामा आकाशको रङसँगै छिनछिनमा तालको रङ बदल्दो रहेछ, पानी कहिले निलो बन्छ, कहिले कालो, कहिले सेतो, रङसँगै पानीको रङ फिरिने देखिँदो रहेछ,” उहाँले भन्नुभयो । आकाशमा मडारिने बादलको छाया तालमा पर्दा र बिहान पानी स्थिर भएका बेला हिमालको छाया टल्किँदा रारा झनै मनमोहक भएको उहाँले बताउनुभयो ।
राराताल दुई हजार ८८० मिटरको उचाइमा पर्छ । १६७ मिटर गहिरो, ५.१ किलोमिटर लम्बाइ र २.७ किमी चौडाइ रहेको छ । ताल किनारको लम्बाइ १४.६ किमि छ । हिँडेर तालको फन्को मार्न सात घण्टा लाग्छ । रारामा साइक्लिङ गर्न सकिन्छ । घोडामा घुम्न मिल्छ । रारामा पौडी खेल्न पाइन्न, नुहाउन पाइँदैन तर तालमा स्वच्छ र सफा पानी भएकाले पिउन मिल्ने स्थानीय बताउँछन् ।
राराताल घुम्न आउनलाई स्थलमार्ग सुर्खेत हुँदै कर्णाली राजमार्ग हुँदै रारासम्म दुई दिनमा आइपुगिन्छ । हवाईमार्ग नेपालगन्जको राँझा विमानस्थलबाट ताल्चा विमानस्थलसम्म ३५ मिनेटमा पुगिन्छ ।
स्थानीय समाजसेवी रूपबहादुर मल्लका राराको पर्यटन प्रवर्धनमा तीन तहको सरकारले प्राथमिकतामा नपारेको बताउनुहुन्छ । “नियमित हवाई उडान, भरपर्दो मोटरबाटो र प्रतिस्पर्धी होटेल जस्ता पूर्वाधार छैनन्, रारामा योग र ध्यान केन्द्र बन्न सक्छ,” उहाँले भन्नुभयो ।
पर्यटन व्यवसायी दुर्गालक्ष्मी रावलले जुम्लाबाट रारा हुँदै खप्तड, डोल्पासम्म पुग्ने पदमार्गमा पूर्वाधार विकास गर्न सके लामो पदयात्रा गर्न चाहनेले रमाउन सक्ने बताउनुहुन्छ । जसले गर्दा रोजगारीमा पनि विकास हुने छ, पर्यटक भित्र्याउनका लागि यसका लागि राराबाट छायानाथ, ऋणमोच्छ तीर्थस्थलसम्म पदमार्ग निर्माण हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
यता छायाँनाथ रारा नगरपालिकाले राराको पर्यटन प्रवर्धन विकासका लागि विभिन्न रणनीतिका कार्यक्रमको तयारीमा जुटेको नगरप्रमुख विष्णुकुमार भाम बताउनुहुन्छ । उहाँका अनुसार निकट भविष्यमा यहाँका युवालाई रोजगारीमा टेवा पुग्ने उद्देश्यले होटेल व्यवसाय, गाइडसम्बन्धी तालिम दिइने कार्ययोजनामा राखिएको छ ।