• २ असार २०८१, आइतबार

अदालतको आदेशले टिपिए दाना

blog

केदार तिमल्सिना

बनेपा, साउन १० गते । बर्सेनि विवादित बन्दै आएको काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका–५ स्थित एउटा बोटमा फलेको बोधिचित्तका दाना एक करोड एक लाख रुपियाँ जम्मा गरेर टिपिएको छ । त्यो पनि जिल्ला अदालत काभ्रेको अन्तरकालीन आदेशबाट । अदालतले साउन २ गते दिएको अन्तरकालीन आदेशबमोजिम साउन ८ गते पैसा जम्मा गरेर आज ९ गते दाना टिपिएको हो ।

बोधिचित्त बोटका धनी स्थानीय आइतेसिं थिङले मालाको दाना टिप्न सुरुमा सम्झौता गरेको व्यक्तिका साथै अरूसँग पनि दाना बेच्ने सम्झौता गरेपछि विवाद सुरु भएको थियो । बोटका धनी थिङ र नेमा लामाबीच २०७५ असोज ७ गते आफूसँग भएको धेरै दाना लाग्ने रुखको बोधिचित्तको दाना २०७७, २०७८ र २०७९ मा आफ्नी श्रीमती जयन्ती मैया खड्गी लामाले टिप्ने सम्झौता सार्नुभएको थियो । 

बोधिचित्तको दानाबापत लामाले थिङलाई ६६ लाख रुपियाँ बुझाउने सम्झौता भएको थियो । थिङले पछि अन्य व्यक्तिसँग पनि सम्झौता गरी दाना टिप्न नदिएको भन्दै दुई पक्षबीच विवाद सुरु भएको थियो । दुई पक्षबीच विवाद बढेपछि जयन्ती मैयाले करार बहाल नै रहेको अवस्थामा करार उल्लङ्घन गरी दाना टिप्न नदिई आफ्नो क्षति भएको भन्दै २०७९ र २०८० को बोधिचित्तको दाना करारबमोजिम आफूले टिप्न पाउँ भनी आइतेसिं थिङलाई विपक्षी बनाई जिल्ला अदालत काभ्रेमा अन्तरकालीन आदेशका लागि मुद्दा दर्ता गर्नुभएको थियो ।

जयन्तीले अदालतमा दर्ता गरेको मुद्दा विचाराधीन रहेको र एकलौटी रूपमा बोधिचित्तको दाना टिप्न दिने गरी अन्तरिम आदेश दिँदा मुद्दाको औचित्यमा नै प्रभाव पर्ने भन्दै बोधिचित्तको दाना सधैँ नरहने र समयमा नै नटिपेको खण्डमा दाना नष्ट हुने भएकाले दुवैको सहमतिमा स्वामित्वमा रहने गरी उचित व्यवस्थापन र समन्वय गर्न प्रशासन, प्रहरी र रोसी गाउँपालिकालाई पत्राचार गरिएको थियो । जिल्ला न्यायाधीश महेन्द्रराज काफ्लेको इजलाशले २०७५ असोज ७ गते सम्पन्न भएको करार सम्झौता तथा अन्य करार सम्झौताका आधारमा अन्तरकालीन आदेश जारी गरेको थियो । 

जयन्तीले हालेको मुद्दामा अदालतले असार १७ गते बोधिचित्तको दाना रहेको जग्गा रोक्का गर्ने आदेश दिँदै विपक्षीलाई छलफलमा झिकाइएको अवस्थामा आइतेसिंले साउन १ गते जग्गाको रोक्का राखिदिने भनी अदालतमा आदेश बदर गर्न निवेदन दर्ता गराउनुभएकोमा अदालतले विचाराधीन मुद्दाको सन्दर्भमा जग्गा रोक्का भएकाले फुकुवा गर्न नमिल्ने आदेश गरेको छ ।