• १९ असार २०८१, बुधबार

यू–२० साफ च्याम्पियनसिप : नेपालको सुखद सुरुवात

blog

माल्दिभ्सविरुद्ध बल अगाडि बढाउँदै नेपालका खेलाडी । तस्बिर : सौजन्य एनएसजेएफ

काठमाडौं, साउन ९ गते । भारतमा आजदेखी सुरु भएको यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । भुवनेश्वर स्थित कालिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हरायो । नेपालको जितमा दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गर्नुभयो । 

दीपशले ४२औं मिनेटमा गोल गर्दै नेपालको उत्साह जगाउनुभयो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको नेपालका लागि सुगमले ५८औं मिनेटमा दोस्रो गोल गर्नुभयो । उहाँले क्रितिशको पासमा अनमार्क गोल गर्नुभएको थियो । क्रितिसले ६२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेपालको अग्रता थप बिलयो बनाउनुभयो ।

डिबक्सभित्र माल्दिभ्सका रक्षकले आयुष घलानलाई फल हानेर लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई सजिलै जिताउनुभयो । जितसँगै नेपालले तीन अंक बनाएको छ । 

नेपाल पहिलो पटक आयोजित यू–२० साफ फुटबलको उपाधि चुम्ने लक्ष्यका साथ भारत गएको छ । यसअघि यू–१९ र यू–१८ उमेर समूहमा प्रतिस्पर्धा हुँदै आएको यस प्रतियोगिता पहिलो पटक यू–२० उमेर समूहको आयोजना गरिएको हो । नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग जुलाई २७ मा खेल्नेछ ।

त्यस्तै, भारतसँग जुलाई ३१ र अन्तिम खेल बङ्गलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । राउन्ड रोबिन लिगका आधारमा खेलिने प्रतियोगिताको शीर्ष दुई टोलीबीच अगस्ट ५ तारिख फाइनल प्रतिस्पर्धा हुनेछ ।