• ३ साउन २०८१, बिहिबार

नागरिकता वितरण खुकुलो बनाउन विधेयक ल्याइएको होइन : गृहमन्त्री खाण

blog

फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ९ गते । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता वितरण खुकुलो बनाउनेगरी नागरिकता विधेयक नल्याएको बताउनुभएको छ । सोमवार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । 

संविधान अनुकुल नै नागरिकता संशोधन विधेयक ल्याएकाले आशङ्का नगर्न सांसदहरुलाई उहाँले आग्रह गर्नुभयो । गृहमन्त्री खाणले नागरिकता ऐन पनि आवश्यक्ताअनुसार परिष्कृत हुँदै नेपाली नागरिकलाई व्यवस्थित गरेर नागरिकता दिन संशोधित ऐन ल्याइएको बताउनुभयो । कसैको पनि दबाब, परामर्श र सल्लाहमा नागरिकता संशोधित ऐन नल्याएको दाबी गर्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर नागरिकता वितरण गर्न ल्याइएको उहाँको भनाइ छ । 

गृहमन्त्री खाणले भन्नुभयो, ‘संविधान अनुकूल नै विधेयक ल्याइएको छ । नागरिकता ऐन पनि आवश्यक्ता अनुसार परिष्कृत हुँदै जानेछ । नागरिकता विधेयकले नागरिकता प्राप्त गर्न खुकुलो बनाउन खाजेको होइन ।  नेपाली नागरिकलाई व्यवस्थित गरेर दिन खोजेको हो । त्यसको समुचित कानुनी प्रबन्ध गर्न खोजेको हो ।’ अरु कसैको परामर्श, सरसल्लाह, कुनै कारणले विधेयक नआएको उहाँले प्रष्ट पार्नुभयो ।

“गैर आवासीय नेपालीलाई संविधानले नै सांस्कृतिक आर्थिक, अधिकार प्रदान गर्नेगरी प्रमाणपत्र दिने संविधानको प्रावधान छ, त्यसलाई ऐनमा जस्ताको त्यस्तै राख्ने, गैर आवासी नेपालीहरु नेपालमै जन्मिएका, बुबा, आमा, बाजे, बज्यैकै सन्तान हुन् । उहाँहरु अहिलेको दुनियाँको परिवर्तित माहोलमा संसारको विभिन्न कुनामा बसेका छन्” गृहमन्त्री खाणले भन्नुभयो, “उहाँहरुलाई एकत्रित गरेर लगानी गर्ने वातावरणका लागि दिन लागिएको हो ।” मन्त्री खाणले करिब ६ लाखभन्दा धेरै नागरिकले नागरिकता नलिएका कारण विभिन्न सेवाबाट वञ्चित हुनुपरेको चर्चा गर्नुभयो ।