• २५ चैत २०८२, बुधबार

प्याकेज सकिएपछि स्वतः ब्यालेन्स नकाटिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २५ गते । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्ताको डेटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य गरेको छ । यसअघि खरिद गरेको प्याकेज समाप्त भए पनि त्यसको जानकारी नहुँदा प्रयोगकर्ताले मुख्य ब्यालेन्स काटिने समस्या थियो । थाहै नभई ब्यालेन्स काटिने यस्तो व्यवस्थाप्रति सेवाग्राहीको गुनासो रहँदै आएको थियो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने व्यवस्था अन्त्य गर्न निर्देशन दिएपछि टेलिकमले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो । जस अनुसार प्रयोगकर्ताले लिएको डेटा प्याकेज ९० प्रतिशत खपत भएपछि सूचना प्राप्त गर्ने छन् ।  यससँगै प्राप्त हुने ‘पे–एज–यु–गोज विकल्पका आधारमा ग्राहकले डेटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याकेज खरिद गर्नेबारे छनोटको सुविधा पाउने छन् । 

प्राधिकरणका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो प्रणाली अहिले परीक्षणको रहे पनि छिट्टै कार्यान्वयनमा आउने छ । उहाँका अनुसार युएसएसडीमार्फत खरिद गरिने डेटा प्याकमा तीनदेखि पाँच दिनभित्र यो सुविधा लागु हुने छ भने नेपाल टेलिकमको मोबाइल एपमार्फत सेवा प्रयोग गर्ने ग्राहकले एक सातादेखि १० दिनभित्र यसलाई अनुभव गर्न पाउने छन् ।

टेलिकमले ‘वान टाइम केवाइसी’ प्रणाली पनि लागु गर्ने तयारी गरेको छ । यस प्रणाली अन्तर्गत ग्राहकले एक पटक पेस गरेको विवरण पुनः उपलब्ध गराउनुपर्ने झन्झट हट्ने छ । यो व्यवस्था आगामी ३० दिनभित्र लागु गर्ने कम्पनीको लक्ष्य  छ ।

इसिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनः प्राप्ति तथा स्वामित्व हस्तान्तरण जस्ता सेवा पनि पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने योजना पनि टेलिकमले अघि बढाएको छ । त्यस्तै कम्पनीका कार्यालयमा ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गर्ने र यसमार्फत ग्राहकलाई एउटै स्थानबाट सबै सेवा प्रदान गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।