• २५ चैत २०८२, बुधबार

अझै चुनेन कांग्रेसले संसदीय दलको नेता

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, चैत २५ गते । नेपाली कांग्रेस संसदीय दलको नेता चयन वैशाख पहिलो साता मात्रै हुने भएको छ । प्रतिनिधि सभाको दोस्रो ठुलो दल कांग्रेसले फागुन २१ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनको देशव्यापी समीक्षा कार्यक्रम गरिरहेकाले संसदीय दलको नेता चयनमा ढिलाइ भएको हो । 

कांग्रेस सहमहामन्त्री एवं संसदीय दलको नेता चयन गर्न गठित समितिका संयोजक प्रकाश रसाइली स्नेहीले वैशाख पहिलो सातामा मात्रै दलको नेता चयन गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको समीक्षा भइरहेको छ । सातै प्रदेशमा कार्यक्रम राखिएको छ । शीर्ष नेता त्यहाँ खटिनुभएको छ । समीक्षा बैठक सकिएपछि दलको नेता चयन गरिने छ ।” प्रतिनिधि सभामा कांग्रेसका प्रत्यक्षतर्फ १८ र समानुपातिकका २० जना गरी ३८ सांसद् छन् । कांग्रेस प्रवक्ता देवराज चालिसेले सर्वसम्मतिमै पार्टीको संसदीय दलको नेता चयन हुने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको परिणामले पार्टीको रूपान्तरण र आन्तरिक एकताको पक्षमा सन्देश दिएको छ । त्यसैले सर्वसम्मतिमै दलको नेता चयन गर्ने प्रयास भइरहेको छ ।”