• १३ साउन २०८१, आइतबार

‘कोरोनाको चौथो लहर होइन’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ८ गते ।  नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै गएको छ । केही दिन अघिसम्म दैनिक चार जनासम्म सङ्क्रमित व्यक्ति देखिने गरेको भए पनि पछिल्ला दिनमा दैनिक चार सयभन्दा बढी सङ्क्रमितको सङ्ख्या नाघ्न थालेको छ । यसरी कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि कतिपयले यसलाई नेपालमा कोरोनाको चौथो लहरका रूपमा लिन थालेका छन् । यद्यपि सरकारले चौथो चरणमा कोरोना पुगेको पुष्टि भने गरेको छैन । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना बढ्न थालेपछि सतर्कता अपनाउन सुझाव दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोनाको सङ्ख्या दैनिक बढे पनि  चौथो चरणको लहर आइसक्योे भन्न नहुने बताउनुभयो । सहप्रवक्ता अधिकारीले भन्नुभयो, ‘‘सङ्ख्या बढेको हो । यस्तो बेला जनस्वास्थ्यका सामान्य नियमका पालना सबैले आआफ्नो ठाउँबाट गर्नैपर्ने हुन्छ ।” तर इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले चौथो लहरकै रूपमा कोरोना सङ्क्रमण भएको दाबी गर्नुभयो  । 

मानिसलाई जति लक्षण देखिए पनि कोरोना परीक्षण गर्ने प्रवृत्ति नभएको उहाँको भनाइ छ । मरासिनीले भन्नुभयो, “अहिले कोरोनाको लक्षण देखिँदा पनि मानिसले सामान्य रूपमा लिएका छन् ।  कोरोना भएपछि पनि मानिस गम्भीर समस्या नपरुञ्जेलसम्म अस्पताल नै जाँदैन, परीक्षणको दायरालाई बढाउने हो भने कोरोना सङ्क्रमितको सङ्ख्या धेरै हुन्छ ।” 

डा. मरासिनीले भन्नुभयो, ‘‘एक हजार पाँच सय परीक्षणमा चार सय जनालाई कोरोना देखिने गरेको छ । यो सामान्य कुरा होइन । अझै परीक्षण बढाउनुुपर्छ ।” उहाँले पहिलेको जस्तो अवस्था आउन नदिन सरकारले जनस्वास्थ्य मापदण्डमा कडाइ गर्नुपर्ने बताउनुभयो । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पछिल्लो पटक कोरोनाले गर्दा अस्पताल भर्ना हुने क्रम बढेको बताउनुभयो ।