संयुक्त राष्ट्र, चैत १४ गते । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो द्वन्द्वका बिच होर्मुज जलडमरु क्षेत्रमा मानवीय आवश्यकता पूरा गर्न प्राविधिक संयन्त्र विकास गर्न एक कार्यदल गठन गर्नुभएको छ ।
उहाँका प्रवक्ताले जानकारी दिए अनुसार, मध्यपूर्वमा जारी द्वन्द्वका कारण होर्मुज जलडमरु हुँदै हुने समुद्री व्यापारमा अवरोध आउँदा आगामी महिनामा मानवीय सहायता र कृषि उत्पादनमा गम्भीर असर पर्न सक्ने जोखिम बढेको छ । महासचिव गुटेरेसले द्वन्द्वको दिगो समाधानका लागि प्रयास जारी राख्ने प्रतिबद्धता जनाउँदै तत्काल समुद्री चुनौती समाधान गर्न आवश्यक देखेर कार्यदल गठन गरिएको बताउनुभएको छ ।
यस कार्यदलले जलडमरु क्षेत्रमा जहाजको सुरक्षाका उपाय खोज्ने छ । नयाँ संयन्त्रमार्फत मल तथा त्यससँग सम्बन्धित कच्चा पदार्थको व्यापार सहज बनाउने लक्ष्य राखिएको छ । यो संयन्त्र सम्बन्धित सदस्य राष्ट्रसँग समन्वय गरी राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनी मापदण्डको पूर्ण सम्मानका साथ सञ्चालन गरिने छ ।
यसैबिच, स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय निकायका अनुसार दुबईबाट पठाइने राहत सामग्री पुनः नियमित बन्दै गएको छ । मध्यपूर्वमा इजरायल र लेबनानस्थित हिजबुल्लाहबिचको लडाइँ तीव्र बन्दै जाँदा चिन्ता बढेको छ । लेबनानमा करिब १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्, जुन त्यहाँको कुल जनसङ्ख्याको करिब पाँचौं हिस्सा हो ।
बालबालिका विशेष रूपमा प्रभावित भएका छन्, दैनिक करिब १९ हजार बालबालिका विस्थापित भइरहेका छन् । शान्ति स्थापनामा खटिएका संयुक्त राष्ट्रका सैनिकको सुरक्षा अवस्था पनि कमजोर बन्दै गएको छ । हालै सीमावर्ती क्षेत्रमा ठुलो सङ्ख्यामा आक्रमणका गतिविधि देखिएका छन् । प्रवक्ताले हिजबुल्लाहलाई इजरायलमाथि आक्रमण रोक्न र इजरायललाई लेबनानमा हुने सैन्य कारबाही रोक्न आग्रह गर्नुभयो, किनभने यसले सर्वसाधारणलाई सबैभन्दा बढी असर पारिरहेको छ ।
पश्चिम किनार क्षेत्रमा पनि हिंसा जारी छ । केही स्थानमा नागरिकको ज्यान गएको छ भने बसोवास क्षेत्रमा आक्रमण र क्षति बढेको छ । हालैका महिनामा यस्ता घटनाका कारण हजारौँ मानिस विस्थापित भएका छन् । गाजा क्षेत्रमा राहत वितरण जारी रहे पनि पहुँचमा अवरोध, आपूर्ति श्रृङ्खलामा समस्या र निरन्तर आक्रमणका कारण चुनौती कायम छन् । रासस/सिन्ह्वा