राधा लुइटेल
फिदिम, चैत १४ गते । रामनवमी पर्वको अवसरमा पाँचथरको हिलिहाङ गाउँपालिकामा आयोजित कोशी प्रदेशस्तरीय कविता प्रतियोगितामा फिदिमका कवि प्रेम नेपाल प्रथम हुनुभएको छ ।
हिलिहाङ गाउँपालिका–१, अमरपुरस्थित नवमी बजारमा राम नवमी पर्वका अवसरमा आयोजित उक्त प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट आएका ७८ जना कविलाई उछिन्दै नेपालले प्रथम स्थान हासिल गर्नुभएको हो ।
उहाँले ‘गाउँ फर्की कान्छा’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेसँगै नेपालले नगद २० हजार पुरस्कार प्राप्त गर्नुभएको छ । यसैगरी, मचिन्द्र लोवा लिम्बू दोस्रो भएर ११ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगितामा पवित्रा प्रयत्न र चेवन बस्नेतले तृतीय स्थान हासिल गर्दै ७ हजार सहित पुरस्कृत हुनुभयो ।
स्रष्टाहरूका प्रतिभा उजागर गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हिलिहाङ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सन्तोष लिङदेनले बताउनुभयो ।
प्रतियोगिताको निर्णायक भूमिका साहित्यकार डा. रमेश शुभेच्छु, प्रेम ओझा र सुमित्रा वाङदेलले निर्वाह गर्नुभएको थियो ।