• १३ वैशाख २०८१, बिहिबार

मङ्कीपक्स : विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा, विश्वभर १६ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि

blog

तस्बिर : बीबीसी

काठमाडौं, साउन ७ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ७५ देशमा फैलिएपछि मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ । 

यस भाइरसबारे डब्ल्यूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको सार्वजनिक भएको हो । 

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससका अनुसार,  विश्वभर १६ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि भएका छन् । मङ्कीपक्सका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भएको छ । 

डा. टेड्रोसका अनुसार आपत्कालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन ।

तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै उहाँले त्यो निश्चय नै अन्तर्राष्ट्रिय सरोकार बनेको कुरा निर्णय गरेको बताउनु भयो ।  

“डब्ल्यूएचओको समीक्षाले मङ्कीपक्सको जोखिम विश्वभर सबै क्षेत्रमा मध्यमखाले रहेको र युरोपेली क्षेत्र उच्च जोखिमयुक्त देखिएको छ, “डा. टेड्रोसले भन्नुभयो ।  बीबीसी