• ६ जेठ २०८१, आइतबार

सिंहदरबारका काम एकीकृत प्रणालीबाट

blog

काठमाडौँ, साउन ६ गते । सरकारले साउनदेखि सिंहदबारभित्रका कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । कार्यालयको कामलाई छिटो, छरितो र पारदर्शी बनाउने गरी एकै प्रकृतिका कार्य एउटै सूचना प्रविधि प्रणालीमार्फत सञ्चालन गर्न लागिएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मन्त्रालयअन्तर्गतका सूचना प्रविधि विभाग, मुद्रण विभाग, सूचना विभाग र प्रमाणीकरण नियन्त्रणको कार्यालय तथा हुलाक सेवा विभागमा भने यस अगाडि नै एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा आइसकेको छ । 

सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले साउनदेखि सिंहदरबारभित्रका सबै कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा साउनभित्र सिंहदरबारभित्रका सबै कार्यालयबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा आउने र दोस्रो चरणमा सिंहदरबार बाहिरका कार्यालयमा पनि सेवा विस्तार गर्दै जाने योजना छ । 

उहाँले भन्नुभयो, “एकीकृत कार्यालय व्यवस्थापन प्रणालीअन्तर्गत पहिलो चरणमा दर्ता, चलानी, टिप्पणी र ई–हाजिरी कार्यलाई पूर्ण रूपमा विद्युतीय माध्यममा सञ्चालन गरिनेछ । सो कार्य साउन महिनाभित्र सञ्चालन भइसक्नेछ ।” यो प्रणाली कार्यान्वयन भएपछि विद्युतीय माध्यमबाट तत्काल चिठीपत्र पुग्ने, चिठीपत्र पु-याउन जनशक्तिको आवश्यकता नपर्ने र कार्यालयको आर्थिक भार कम हुने विश्वास गरिएको छ । यस प्रणालीमार्फत क्रमिक रूपमा सरकारी कार्यालयमा सञ्चालनमा रहेको तोक आदेश दिने, व्यवस्थित अभिलेख राख्ने, बिदा र काजसम्बन्धी कार्य, जिन्सी व्यवस्थापनसम्बन्धी कार्य, सम्पत्ति विवरण भर्ने र सोको व्यवस्थापन गर्ने कार्य गर्दै जाने योजना रहेको छ । 

त्यस्तै कार्यसम्पादन मूल्याङ्कन, पत्र तयार गर्ने, नियुक्ति, काज सरुवा, रमाना र पदस्थापन गर्ने, कार्यान्वयन योजना तयार गर्ने, प्रगति भर्ने, प्रगति प्रतिवेदन तयार गर्ने, समिति गठन र बैठक व्यवस्थापन गर्ने, कार्यसम्पादन करारसम्बन्धी कार्य एउटै प्रकृतिको गर्न विभागले नेपाल सरकारको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका तयार गरेको छ । उक्त सबै कार्य गर्न सरकारी कार्यालयका अधिकारीले विद्युतीय हस्ताक्षरको प्रयोग गर्र्नुपर्ने नेपाल सरकारको एकीकृत कार्य व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापनमा उल्लेख गरिएको छ ।  

एकीकृत कार्यालय व्यवस्थापन प्रणालीका लागि विभागले सम्बन्धित कार्यालयका कर्मचारीलाई आवश्यक तालिम प्रदान गरिसकेको छ । विभागले सबै सरकारी कार्यालयलाई एडमिन युजर र पासवर्ड प्रदान गरिएको छ ।  एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयन गराउने कार्यमा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काम गरिरहेको उहाँले बताउनुभयो । 

सरकारी कार्यालयको कामलाई कागजातरहित विद्युतीय सेवामार्फत सुशासन अभिवृद्धि गर्नका लागि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन गरिएको हो । अन्तर्राष्ट्रियस्तरमा पनि सबै कार्यालयमा एउटै विधिमा चल्ने गरिएको र नेपालमा पनि सोही प्रणाली पूर्ण रूपमा सञ्चालन गर्न लागिएको हो ।