टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), असोज २५ गते । गुल्मीको गुल्मीदरबार–२, जुभुङ्गका उमेश क्षेत्री दसैं बिदामा काठमाडौँबाट घर आउनुभएको थियो । उहाँले बर्सेनि दसैँतिहारमा छोराछोरीको पनि बिदा हुनेभएकाले घुम्ने र आफन्त भेट्ने गर्नुहुन्छ । लामो समयपछि रेसुङ्गा गर्जुरा घुम्न आउनुभएका क्षेत्रीलाई रेसुङ्गाको कालोपत्रे सडक, पर्यटकीय संरचनाको विकास देखेर निकै खुसी लाग्यो ।
गाउँ छाडेर लामो समयदेखि काठमाडौँ बस्दै आउनुभएका क्षेत्रीले लगभग १० वर्षमा रेसुङ्गा घुम्ने समय मिलेको बताउनुभयो । रेसुङ्गा गर्जुरा पार्क, गौशाला, पोखरी, सानो रेसुङ्गा, सीताराम मन्दिर र यज्ञशाला रेसुङ्गाका गन्तव्य हुन् । सडक कालोपत्रे भएपछि तम्घासबाट केही समयमै रेसुङ्गा पुग्ने भएकाले धेरैले घुम्न, वनभोज खान तथा धार्मिक अनुरागीहरूले यज्ञशाला दर्शन गर्न आउने गरेका छन् ।
मालिका गाउँपालिका–१ का सरोज थापाको परिवार पहिलो पटक रेसुङ्गा आएको छ । धेरै पटक साउने मेलामा रेसुङ्गा आउने चाहाना बनाए पनि वर्षाका कारण अनुकुल नहुँदा अहिले सबै परिवार घुम्न निस्किएको थापाले बताउनुभयो । उहाँले खुलेको आकाशका कारण रेसुङ्गा धार्मिकस्थलको दर्शनसहित उत्तरका मनमोहन हिमशृङखला देख्न पाएको बताउनुभयो ।
पछिल्लो समय रेसुङ्गा क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाई बन्न थालेको छ । साउनभर रेसुङ्गामा साउने मेला लाग्छ । नयाँ वर्ष, दसैं तिहार र विभिन्न समयमा हुने यज्ञ तथा एकादशी बाहेक पनि बिदामा धेरैले रेसुङ्गा घुम्ने योजना बनाउने गरेका छन् । तम्घासबाट गाडी चढेपछि १५ मिनेटमा रेसुङ्गा गर्जुरा पार्कमा पुगिन्छ । अहिले गर्जुरा पार्क मनोरञ्जनका लागि उपयुक्त स्थान बनेको छ । खेल्ने, फोटा खिच्ने र बस्ने आनन्दको ठाउँ भएकाले रेसुङ्गा गर्जुरा पार्कमा धेरैले समय बिताउँछन् । रेसुङ्गा गर्जुरा पार्क रेसुङ्गा नगरपालिकाले सञ्चालन गरिरहेको छ ।
पार्कको काउन्टरमा कार्यरत नविन कुँवरका अनुसार दसैँ सुरु भएदेखी दैनिक १५० बढी रेसुङ्गा गर्जुरा पार्क पुग्ने गरेका छन् । गत नयाँ वर्षको एकै दिन एक हजार ७०० बढीले टिकट खरिद गरेका थिए। अहिले दसैको भोलिपल्ट १७ गते ४०० बढिले एकैदिन टिकट लिएको कुँवरले जानकारी दिनुभयो । गत बर्ष १० हजार विद्यार्थीसहित ३४ हजार व्यक्तिले रेसुङ्गा गर्जुरा क्षेत्रको भ्रमण गरेका थिए । पार्कमा बालबालिकालाई २५ रुपियाँ र ठुलालाई ५० रुपियाँ शुल्क लाग्ने गरेको छ ।
पार्क पाँच करोड ५९ लाख ५३ हजारको लागतमा धुलिखेल–अर्जुन–न्यू लिजा जेभीले निर्माण गरेको पार्क डेढ वर्षदेखि सञ्चालनमा रहेको छ । रेसुङ्गा गर्जुरा पार्क तीन दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पार्क क्षेत्रभित्र भ्युटावर, पाँच वटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्लेजोन, पिकनिक स्पोर्ट, दुई शौचालय, प्रशासकीय भवन, टिकट काउन्टर र पुलसहितको पोखरी छन् । त्यस्तै भीर पिङ्ग र दुरबिन लगायतका पर्यटकीय संरचनाको कारण निकै रमाइलो हुनेगरेको इस्मा गाउँपालिका–१ का महेन्द्र कुँवरले बताउनुभयो ।
रेसुङ्गा धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिकोणले आफैमा महत्त्वपूर्ण छ । पछिल्ला वर्षमा बनेका आधुनिक संरचनाले रेसुङ्गाको सौन्दर्यतामा झनै आर्कषण थपेको छ । गर्जुरा पार्क र कालोपत्रे सडकले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ ।
रेसुङ्गा क्षेत्रमा पर्यटक घुम्ने, खानपीन र बाससहित मनोरञ्जन गर्ने थुपै विकल्पहरू निर्माण भएका छन् । गर्जुरा पार्क, कालोपत्रे सडक, सानो रेसुङ्गामा निर्माण भएको आकर्षण मन्दिर, पोखरीदेखि यज्ञशाला हुँदै भ्युटावरसम्म निर्माण भएका आधुनिक र आकर्षक सिँढी निर्माण भएपछि रेसुङ्गा पुग्नेहरूको सङ्ख्या दोब्बर हुँदैगएको यज्ञशाला मन्दिरमा लामो समयदेखि पूजा गर्दै आउनुभएका पण्डित कृष्ण पन्थीले बताउनुभयो ।
त्यस्तै रेसुङ्गा नगरपालिकाले गर्जुरा क्षेत्रमा खनाल एन्फ्रा प्रालिले एक करोड २५ लाख रुपियाँको लागतमा जीपलाइन र स्काई साइक्लिङको काम सुरु गरेको छ । करोड २५ लाख रुपियाँको लागतमा निर्माण हुने जिपलाइन ४२५ र स्काई साइक्लिङ १८० मिटर लामो हुने नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिनुभयो ।
धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गालाई पर्यटकीय दृष्टिकोणले थप विकास गर्न जीपलाइन र स्काई साइक्लिङ निर्माणको काम अघि बढेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँले गर्जुरा पार्क, रेसुङ्गामा निर्माण भएका संरचना, पक्की सडक तथा ‘जाउँ हिड रेसुङ्गा’ अभियानले पर्यटकहरूको सङ्ख्या ह्वात्तै बढेको दाबी गर्नुभयो । रुरुक्षेत्र गाउँपालिकाले स्याङजाको कालीगण्डकी गाउँपालिकासँग साझेदारीमा रिडीको देवदक्तपार्कबाट स्याङजाको हनुमानबाटिका जोड्ने गरेर जिपलाइन निर्माणका लागि डिपिआर तयार गरिएको छ ।