गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २७ गते । उपत्यकाको बजारमा अहिले पनि खाना पकाउने ग्यासको अभाव छ । गएको दुई महिनादेखि बजारमा उपभोक्ताले सधैँ ल्याउने बिक्री केन्द्रबाट ग्यास पाएका छैनन् ।
यही समस्यालाई ध्यानमा राखेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग उपत्यकाको बजारमा ग्यासको माग र आपूर्ति विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । विभाग र आयल निगमबिच मङ्गलबार भएको संयुक्त बैठकमा विभागका महानिर्देशक रोशन ज्ञवालीले आयल निगमलाई खान पकाउने ग्यासको माग र आपूर्तिको यथार्थ विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टसहितका पदाधिकारीसँग भएको बैठकमा बजारमा देखिएको ग्यास र पेट्रोलको अभावका कारण र दैनिक मागको विवरण उपलब्ध गराउन निर्देशन दिएको विभागका निर्देशक नरहरि तिवारीले दिनुभयो । उहाँका अनुसार छलफलमा ग्यासको अनुगमन बढाउनुपर्ने, आपूर्ति र वितरण तल पुगे वा नपुगेको बारे स्पष्ट हुनुपर्ने, काठमाडौँ उपत्यकामा बोटलिङ उद्योगको सङ्ख्या, उत्पादनको अवस्थासमेत उपलब्ध गराउन भनेका छौँ । साथै बैठकमा हाल उपत्यकामा दैनिक ग्यासको र आपूर्ति कति भएको छ । वर्तमान अवस्था र पछिल्लो नौ/१० महिनाको विवरण आयल निगमसँग मागेको निर्देशक तिवारीले जानकारी दिनुभयो । उहाँले अमेरिका र इरानबिच विकसित घटना क्रमले ग्यास र पेट्रोल आपूर्तिमा समस्या हुन सक्ने सङ्केत देखिएकाले यसको विकल्पसहितको विवरण उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिनुभयो ।
टाढा टाढाबाट खाली सिलिन्डर बोकेर कालीमाटीस्थित साल्ट टे«डिङ कर्पोरेसनमा आउने क्रम रोकिएको छैन । बल्खुबाट खाली सिलिन्डर बोकेर कालीमाटीस्थित कर्पोरेसनमा एसटिसी ग्यास लिन आउनुभएका भीम आचार्यले सधैँ ग्यास ल्याउने ठाउँमा एक महिनादेखि ग्यास नपाएपछि कार्यालयसम्मै धाउन बाध्य भएको बताउनुभयो ।
बसुन्धारा बस्ने विष्णुबहादुर थापाले घरमा ग्यास खाँचो भइसक्दा पनि डिपोबाट नपाउँदा कम्पनी धाउनु परेको दुःखेसो सुनाउनुभयो । दस दिन कुर्दा पनि डिपोबाट ग्यास नपाएको बताउँदै उहाँले भन्नुभयो, “यहाँ त पक्का पाइन्छ भनेर आएको धन्न पाइयो पनि ।”
नेपाल आयल निगमले भने केही समयपहिला केही समस्या भए पनि अहिले ग्यास आपूर्तिमा कुनै समस्या नभएको दाबी गरेको छ । निगम उपभोक्ताले बढी ग्यास होल्ड गरेका कारण केही अभाव देखिएको र केही दिनमा सामान्य हुने तर्क गर्दै आएको छ ।
यता ग्यास विक्रेता महासङ्घ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र तोकेकोभन्दा बढी मूल्य लिने विक्रेतालाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
महासङ्घले मङ्गलबार विज्ञप्तिमार्फत विभिन्न सञ्चार माध्यममा आएका ग्यास अभाव र बढी मूल्य लिइएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ मध्यपूर्वमा देखिएको अशान्तिका कारण सर्वसाधारण उपभोक्तामा ग्यास नपाइने हो कि भन्ने चिन्ता हुनु स्वाभाविक भएको ठहर गरेको छ । महासङ्घले यस्तो विषम
परिस्थितिमा सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्रीवितरण गर्नुलाई गम्भीर अपराध मानेको छ । महासङ्घले आफ्ना सदस्य तथा आमविक्रेतालाई कुनै पनि गैरकानुनी कार्य नगर्न आग्रह गरेको छ । साथै नियमविपरीत कार्य गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्दै महासङ्घले आफ्ना सबै जिल्ला सङ्घमार्फत देशभरका विक्रेतालाई यसबारे जानकारी गराउन र सचेत रहन निर्देशनसमेत दिएको छ ।