एक जना व्यङ्ग्यकारको कविता
पत्रिकामा पढेपछि
नेताजीको एक्कासि पारा चढ्यो
उनले उत्निखेरै फोन गरेर
व्यङ्ग्यकारको सातो खाए–
“कोही नपाएर मलाईं तपाईंले
कुन बेलाको शत्रु साधन गर्नु भयो ?
मैले तपाईंको के विगारेको थिएँ र
यसरी पत्रिकामा उच्छितो काढेनु भयो ??”
व्यङ्ग्यकारले विनित भावमा अनुरोध गरे–
“हजुरलाई किन त्यस्तो लागेको ?
मैले त हजुरको नाम कतै लिएको छैन
समाजमा देखिएका विकृति, विसङ्गति उपर
मैले त सामान्य व्यङ्ग्य मात्र गरेको
हजुरले किन त्यस्तो सोच्नुभयो ?
हजुरको विरुद्ध लेख्ने त के कुरा
म अन्यथा सोच्न पनि सक्तिनँ...”
भन्दाभन्दै नेताजी बीचमै कड्किए–
भ्रष्टचार गरेर कमिसन खाएर
रातारात अकुत सम्पत्ति कमाएको
गाउँको मान्छे काठमाडौँ आएर
दुईवर्षमै तीनवटा
आलिसान महल ठड्याएको
राजनीतिमा जता मल्कु उतै ढल्कु गरेर
आफूलाई सदाबहार चल्तापुर्जा बनाएको
छोराछोरी, सालासालीले नपुगेर
फर्जी नाममा समेत सम्पत्ति लुकाएको
विदेशीको दलाली गरेर
मस्तैसित माल कुम्ल्याएको
घरकी स्वास्नीलाई रक्सीको सुरमा
एसिड खन्याएर कुरूप बनाएको
बाहिर केटीहरू राखेर
फेरी फेरी रासलिला रचाएको...
यसरी रिट्ठो नविराई
ममाथि लागेका एक एक
आरोपहरूको फेहरिस्तसहित
कविता छपाएपछि
नाम नै भनिराख्नुपर्छ ?
यो कसलाई भनेको
कसमाथि प्रहार गरेको ? भन्ने कुरा त
ए बाबा ! लाटाले पनि बुझ्छ
तपाईंले मलाई त्यति बेकुप सम्झिनुभयो
आफैँ उच्छितो काडेर लेखेको
कवितासम्म पनि
नबुझ्ने भन्ठान्नुभयो ??
व्यङ्ग्यकारले कम्पित स्वरमा
होइन ! होइन !! भन्न नपाउँदै
नेताजी फेरि औँलो ठड्याएर गर्जन थाले
‘अब गर्नु नगर्नु गरिसकेपछि
क्षमा मागेर केही हुँदैन
पहरोसित कुम जुदाउन खोजेपछि के हुन्छ?
मैले भनिरहनुपर्दैन ।’
व्यङ्ग्यकारले हात जोरेर केही भन्न नपाउँदै
नेताजी क्रोधले रन्थनिदै मुट्ठी कस्तै
तँ तँ म म मा उत्रिएर
झन् ठूलो स्वरमा भन्न थाले
अब एक शब्द बोल्ने होइन !
सुनिस् चुप लाग
नरपिसाच, कुलङ्घार चुपलाग
बोलिस् भने खान्छस... ।
यति भनेर नेताजी रिसको झ्वाँकमा मुर्मुरिँदै
फन्को लगाउन थाले
र बर्बराउन थाले
“कस्ता दुर्जन असति मोराहरू फेला पर्छन् ?
यस्ता पनि कवि ? यस्ता पनि व्यङ्ग्यकार ?
थुइक्क ! थुइक्क !!
धिक्कार होस् धिक्कार !!
हरे शिव ! हे भगवान !!
कस्तो काल समय कस्तो जमाना आयो ?
आफू केही गर्न नसक्ने
यी हुतिहारा मोराहरूले त !
अरूले गरेर खाएको पनि
देख्न नसक्ने भए !!”