शंकर केसी
सल्यान, फागुन २६ गते । कर्णाली प्रदेशको सल्यान जिल्ला कृषि अर्थतन्त्रका दृष्टिले महत्वपूर्ण जिल्ला मानिन्छ । यहाँका फाँटहरूमा फैलिएका गहुँका हरिया तथा सुनौला खेतहरूले प्राकृतिक सौन्दर्य थप्नुका साथै किसानहरूको मेहनत र स्थानीय जीवनशैलीलाई समेत प्रतिबिम्बित गरेका छन् ।
त्रिवेणी गाउँपालिकाको बार्नेखोला, शारदा नदी आसपासका सिकनार र गरिज्युलालगायत क्षेत्रका सुन्दर फाँटहरूमा फैलिएका गहुँका खेतहरूले यतिबेला मनमोहक दृश्य प्रस्तुत गरेका छन् । किसानहरूले गहुँबालीको बीच–बीचमा उन्नत जातको तोरी खेतीसमेत गरेका छन्, जसले खेतबारीको सौन्दर्य झन् बढाएको छ ।
सल्यान जिल्लाका विभिन्न स्थानमा यतिबेला गहुँबालीले खेतबारीहरू हराभरा बनेका छन् । जिल्लामा करिब १४ हजार हेक्टर क्षेत्रमा गहुँ खेती हुने गरेको तथ्यांक छ । विशेष गरी खोला आसपासका खेत तथा सिँचाइ सुविधा भएका बारीहरूमा गहुँ उत्पादन राम्रो हुने गरेको छ ।
तर अधिकांश पाखोबारी क्षेत्रमा सिँचाइ सुविधा नहुँदा किसानहरूले आकासे पानीको भरमा खेती गर्दै आएका छन् । पाखो क्षेत्रका आंशिक जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध रहेको छ ।