• २८ फागुन २०८२, बिहिबार

पूर्वप्रहरी अधिकारीको संसद् यात्रा

blog

भैरहवा समाचारदाता

भैरहवा, फागुन २६ गते । प्रहरी सेवामा लामो समय बिताएका दुई जना पूर्वप्रहरी अधिकृतले प्रतिनिधि सभामा प्रवेश पाएका छन् । प्रहरी सेवामा अपराध अनुसन्धान, भिड नियन्त्रण र सुरक्षा व्यवस्थापनको कमान्ड समालेका दुई पूर्वप्रहरी अधिकृतलाई फागुन २१ को निर्वाचनले सङ्घीय संसद्मा पु¥याएको छ । 

यस पटकको चुनावबाट लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा कपिलवस्तु–२ बाट विक्रमसिंह थापा र गुल्मी–२ बाट गोविन्द पन्थी विजयी हुँदै संसदीय यात्रामा प्रवेश गर्नुभएको छ । दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी हुनुभएको हो ।

प्रहरी सेवाबाट अवकाश लिएपछि राजनीतिमा होमिएका यी दुई जनाले अनुभवी र स्थापित राजनीतिक नेतालाई पराजित गर्दै संसद् पुग्नुभएको छ । कपिलवस्तु–२ बाट निर्वाचित विक्रमसिंह थापा पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हुनुहुन्छ । उहाँले पाँचौँ जितको खोजीमा रहेका पूर्वमन्त्री बृजेशकुमार गुप्ता र तेस्रो जितको प्रयासमा रहेका कांग्रेस नेता तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्यलाई पराजित गर्नुभएको हो ।

यसअघि २०७९ को प्रदेश सभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका थापा पराजित हुनुभएको थियो तर यस पटक रास्वपाबाट प्रतिनिधि सभामा उम्मेदवार बनेर २७ हजार ६३५ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी आचार्यले २१ हजार ५२७ मत प्राप्त गर्नुभयो ।

प्रहरी सेवामा रहँदा थापा अपराध अनुसन्धान, गुन्डागर्दी नियन्त्रण र तराई क्षेत्रमा सक्रिय भूमिगत समूहविरुद्धको कारबाहीका लागि चर्चित हुनुहुन्थ्यो । उहाँले बहुचर्चित युनिटी ठगी प्रकरण, पेट्रोलियम पदार्थ चोरी काण्ड र भूमिगत शैलीमा आतङ्क मच्चाउँदै आएका भगत सिंहको पक्राउ जस्ता घटनाको अनुसन्धान तथा कारबाहीमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

गुल्मी–२ मा भने पूर्वडिएसपी गोविन्द पन्थीले एमाले उपाध्यक्ष तथा पूर्वमन्त्री गोकर्णराज विष्टको लगातार जितमा ‘ब्रेक’ लगाउनुभएको छ । छैटौँ पटक उम्मेदवार बनेका विष्ट पाँचौँ जितको खोजीमा हुनुहुन्थ्यो । यसअघि २०६४ सालको पहिलो संविधान सभा निर्वाचनबाहेक विष्ट कहिल्यै पराजित हुनुभएको थिएन तर पहिलो पटक प्रतिनिधि सभाको उम्मेदवार बनेका पन्थीले १६ हजार ९६७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो । विष्टले १६ हजार ४०६ मत ल्याउनुभएको थियो । २०३१ फागुन १६ गते गुल्मीको मदाने गाउँपालिका–७, भनभनेमा जन्मिएका पन्थी प्रहरी नायब उपरीक्षक (डिएसपी) पदबाट अवकाशपछि सामाजिक र कानुनी क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँ अधिवक्तासमेत हुनुहुन्छ ।

मानव बेचबिखन तथा लागुऔषध नियन्त्रणसम्बन्धी विषयमा उहाँले देशका विभिन्न स्थानमा प्रशिक्षण र सचेतना कार्यक्रम सञ्चालन गर्नुभएको छ साथै विपन्न वर्गलाई निःशुल्क कानुनी सहायता प्रदान गर्दै सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको छ । उहाँले प्रहरी सेवामा हासिल गरेको अनुभवलाई अब नीति निर्माण र संसदीय काममा प्रयोग गर्ने बताउनुभयो ।