टीकापुर समाचारदाता
टीकापुर, फागुन २६ गते । कैलाली क्षेत्र नम्बर १ मा रास्वपालाई प्रत्यक्षभन्दा समानुपातिकतर्फ चार हजार ३७८ मत बढी प्राप्त गरेको छ । समानुपातिकतर्फको अन्तिम मत परिणाम अनुसार रास्वपाको २२ हजार २०४ मत प्राप्त गरेको छ । यहाँ रास्वपाका उम्मेदवार कोमल ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी विजयी हुनुभएको छ । कांग्रेसले १० हजार ६४५, नेकपाले छ हजार ८०७, नागरिक उन्मुक्ति पार्टी नेपालले चार हजार ७१५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार हजार १० मत, नेकपा (एमाले) ले तीन हजार ७९० प्राप्त गरेको छ ।
श्रम संस्कृति पार्टीले एक हजार ५४ मत, राष्ट्रिय परिवर्तन पार्टीले ९२० मत, नेपाल जनता संरक्षण पार्टीले २०५, प्रगतिशील लोकतान्त्रिक पार्टीले १५६ मत, सार्वभौम नागरिक पार्टीले १५५ मत, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १४१ मत, नेपाल कम्युनिस्ट पार्टी माओवादीले १२८ मत, जनमत पार्टीले १२३ मत प्राप्त गरेको छ । कुल ५७ पार्टीलाई मत प्राप्त भएकोमा अन्य दलले एक सय मत कटाउन सकेका छैनन् । यहाँ समानुपातिकमा ५९ हजार ३११ मत खसेकोमा तीन हजार २५८ मत बदर भएको निर्वाचन अधिकृत देवराज भारतीले जानकारी दिनुभयो ।
बेलौरी समाचारदाताका अनुसार कञ्चनपुरमा समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदा रास्वपा पहिलो भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा समानुपातिकतर्फ रास्वपाले पहिलो स्थान हासिल गरेको हो । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यहाँ समानुपातिकतर्फ एक लाख ८५ हजार ९६४ मत खसेको थियो । जसमध्ये रास्वपाले समानुपातिकतर्फ ८७ हजार ९४५ मत प्राप्त गर्दै पहिलो भएको हो । प्रत्यक्ष निर्वाचनतर्फ पनि रास्वपाका उम्मेदवार भारी मतका साथ विजयी भएका थिए । समानुपातिकतर्फ सबै दललाई पछि पार्दै रास्वपा पहिलो बनेको छ । समानुपातिकतर्फ कांग्रेसले दोस्रो स्थान हासिल गरेको छ । कांग्रेसले समानुपातिकतर्फ २६ हजार ३९६ मत प्राप्त गरेको हो । एमालेले समानुपातिकतर्फ जिल्लामा २० हजार ७६५ मत प्राप्त गरेको छ भने नेकपाले १८ हजार ७४५ मत प्राप्त गरेको छ । राष्टिय प्रजातन्त्र पार्टीले १२ हजार ३९२ मत, जनता समाजवादी पार्टीले २२६ मत प्राप्त गरेको छ ।
अमरगढी समाचारदाताका अनुसार डडेलधुरामा समानुपातिकतर्फ रास्वपा पहिलो दल बनेको छ । रास्वपाले प्रत्यक्षभन्दा केही बढी मत ल्याएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बनेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार रास्वपाले १९ हजार २६८ मत प्राप्त गर्दै जिल्लामा सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
समानुपातिकतर्फ कांग्रेसले ११ हजार ८५१ मत पाउँदा नेकपाले पाँच हजार ७७२, एमालेले तीन हजार २७५ र राप्रपाले दुई हजार ३९२ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार जिल्लामा समानुपातिकतर्फ कुल ४६ हजार २११ मत खसेको थियो । त्यसमध्ये ४४ हजार १८६ मत सदर थियो भने दुई हजार २५ मत बदर भएको छ । प्रत्यक्षतर्फ पनि डडेलधुराबाट रास्वपाका उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी हुनुभएको थियो । उहाँले १९ हजार १३१ मत पाउनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गर्नुभएको थियो ।
दार्चुलामा एमाले पहिलो
दार्चुला समाचारदाताका अनुसार समानुपातिकतर्फको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिक प्रणाली अन्तर्गतको मतगणना सम्पन्न हुँदा दार्चुलामा नेकपा (एमाले) पहिलो दल बनेको छ । एमालेले १६ हजार ९०९ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो । प्रत्यक्षतर्फ पनि एमालेकै उम्मेदवार गणेशसिंह ठगुन्ना १८ हजार ८९१ मतसहित विजयी हुनुभएको थियो । समानुपातिकतर्फ दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १३ हजार ८८१ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२ हजार २०७ मतसहित तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले तीन हजार ५९२ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक हजार १२८ मत प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेको उहाँले बताउनुभयो । उहाँका अन्य राजनीतिक दलहरूले भने एक हजारभन्दा कम मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुलाबाट ११ दलका ११ जनाले उम्मेदवारी दिएका थिए ।
बदर मत ५.४३ प्रतिशत
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत डडेलधुरामा यस पटक ५.४३ प्रतिशत मत बदर भएको छ । डडेलधुरामा ४५ हजार ५४३ मत खसेकोमा ४३ हजार ६७ मत सदर भएको छ भने दुई हजार ४७६ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय डडेलधुराले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
यसअघि २०७९ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्लामा ६.२२ प्रतिशत मत बदर भएको थियो । उक्त निर्वाचनमा ५१ हजार २०३ मत खसेकोमा ४८ हजार १६ मत सदर र तीन हजार १८७ मत बदर भएको थियो ।
एउटै मतपत्रमा तीन ठाउँमा औँठाछाप
मतगणनाका क्रममा एउटै मतपत्रमा तीन ठाउँमा औँठाछाप लगाइएको भेटिएको सहायक निर्वाचन अधिकृत गणेशबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार केही मतपत्रमा दुई वा सोभन्दा बढी चुनाव चिह्नमा मत सङ्केत गरेको पाइएको थियो । कतिपय मतपत्रमा कुनै पनि चिह्नमा मत सङ्केत नगरी खाली नै छाडिएका मतपत्रसमेत भेटिएको उहाँले बताउनुभयो ।